स्याङ्जा,४ माघ
स्याङ्जाको फेदीखोला गाउँपालिकाले गाउँघरमा वर्षौंदेखि बाँझै रहेका कृषियोग्य जमिनलाई पुनः उत्पादनसँग जोड्ने उद्देश्यले नयाँ कृषि प्रोत्साहन कार्यक्रम सुरु गरेको छ।
विभिन्न कारणले लामो समयदेखि प्रयोगविहीन रहेका बाँझो जमिनको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले ती जमिनको सदुपयोगमार्फत कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, खाद्य तथा पोषण सुरक्षामा सुधार ल्याउने र स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम ल्याएको जनाएको छ।
कार्यक्रमअन्तर्गत लामो समयदेखि खेती नभएको जमिनमा पुनः उत्पादन विस्तार गर्ने कृषकलाई प्रतिरोपनी तीन हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराइनेछ। पहिलो चरणमा करिब पाँच सय रोपनी क्षेत्रफललाई खेतीयोग्य बनाउने लक्ष्य लिइएको गाउँपालिकाले जानकारी दिएको छ।
बाँझो जमिनलाई उत्पादनसँग जोडेर स्थानीय रोजगारी सिर्जना गर्नुका साथै किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो। उहाँले भन्नुभयो, “जग्गा खाली राखेर रोजगारीको खोजीमा बाहिरिनुपर्ने अवस्थालाई न्यूनीकरण गर्दै गाउँमै कृषि उद्यमशीलता प्रवर्द्धन गर्न यो योजना ल्याएका हौं । यसले दीर्घकालीन रूपमा सकारात्मक प्रभाव पार्ने विश्वास लिएका छौं।”
गाउँपालिकाले तोकेको मापदण्डअनुसार खेती गर्न इच्छुक कृषक, समूह तथा कृषि फर्महरूले आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन्। आवेदनका क्रममा निवेदन, नागरिकताको प्रतिलिपि, जग्गाको लालपुर्जा, सम्बन्धित वडा कार्यालयको सिफारिस, बाँझो जमिनको फोटो, लागत साझेदारीको प्रतिबद्धता पत्र लगायतका कागजात अनिवार्य रूपमा पेश गर्नुपर्नेछ। भाडामा लिएको जग्गाको हकमा कम्तीमा तीन वर्षका लागि उपयोग गर्ने सम्झौता समेत आवश्यक पर्ने जनाइएको छ।
आवेदन प्राप्त भएपछि स्थलगत निरीक्षण गरिने, विगतमा अनुदान प्राप्त गरिसकेको जमिनमा पुनः अनुदान नदिइने र बढी क्षेत्रफलमा खेती प्रस्ताव गर्ने कृषकलाई प्राथमिकता दिइने गाउँपालिकाले स्पष्ट पारेको छ। साथै, कफी र अलैंची खेती गर्ने कृषक तथा समूहलाई विशेष प्राथमिकता दिइने जनाइएको छ।
यस कार्यक्रमसम्बन्धी थप जानकारीका लागि फेदीखोला गाउँपालिकाको कृषि विकास उपशाखामा सम्पर्क गर्न गाउँपालिकाले आग्रह गरेको छ।