काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आगामी सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको लाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री शाह नेतृत्वको नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डल सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गर्ने र सेप्टेम्बर २६ मा नेपाल फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्यूयोर्कमा हुँदैछ। यस वर्षको महासभाको मूल विषय “Restoring Trust, Managing Transformation: A United Nations that Delivers for All” रहेको छ।
जलवायु परिवर्तन र जलवायु न्याय मुख्य प्राथमिकता
प्रधानमन्त्री शाहले महासभामा नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको मानवीय तथा आर्थिक क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने तयारी गरिएको छ। विशेषगरी गत अगस्ट २६ मा रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिलाई नेपालको जलवायु जोखिमको उदाहरणका रूपमा प्रस्तुत गरिनेछ।
परराष्ट्र मन्त्रालयका अनुसार विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु परिवर्तनका असरबाट नेपालजस्ता हिमाली तथा विकासशील मुलुकहरू प्रभावित भइरहेका छन्। त्यसैले नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्याय, क्षति तथा नोक्सानी (Loss and Damage) का लागि सहयोग र उचित वित्तीय स्रोतको माग राख्नेछ।
क्षति तथा नोक्सानी कोषबाट सहयोगको माग
नेपालले Fund for Responding to Loss and Damage (FRLD) लगायतका संयन्त्रबाट विपद्का कारण भएको क्षतिका लागि तत्काल र उचित सहयोग उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने तयारी गरेको छ।
त्यसैगरी जलवायु जोखिम कम गर्न जलवायु–लचिलो पूर्वाधार, वातावरणमैत्री तथा जलवायु–स्मार्ट कृषि र स्थानीय तह तथा सम्बन्धित निकायको क्षमता विकासका लागि प्रविधि हस्तान्तरण र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन विकसित राष्ट्रहरूसँग आग्रह गरिनेछ।
नेपालको वातावरणीय योगदान पनि प्रस्तुत गरिने
महासभामा नेपालले आफ्नो वातावरणीय योगदानबारे पनि जानकारी गराउनेछ। नेपालले ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, हिमालय, नदी प्रणाली तथा प्रकृतिमैत्री जीवनशैलीमार्फत विश्व वातावरण संरक्षणमा योगदान पुर्याउँदै आएको विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने सरकारको तयारी छ।
नेपालले महासभाका क्रममा “Sagarmatha to the Sea: A Call to Action for a Climate-Resilient Future” नामक साइड इभेन्टमार्फत हिमालय क्षेत्रमा जलवायु परिवर्तनका प्रभाव र जलवायु–लचिलो भविष्यका विषयमा समेत छलफल गर्ने कार्यक्रम राखेको छ।
संयुक्त राष्ट्रसंघका महासचिवसँग भेटवार्ता
न्यूयर्क भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव António Guterres सँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राईलगायतका अधिकारी प्रतिनिधिमण्डलमा रहनेछन्।
परराष्ट्रमन्त्री खनालले भने अतिकम विकसित मुलुक (LDCs), भूपरिवेष्ठित विकासशील मुलुक (LLDCs), असंलग्न राष्ट्र आन्दोलन तथा G-77 र चीनसँग सम्बन्धित विभिन्न मन्त्रीस्तरीय बैठकमा सहभागिता जनाउने कार्यक्रम छ।
प्रधानमन्त्री शाहको यो भ्रमण प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण पनि हो। महासभामा नेपालको प्राथमिकता, जलवायु संकटबाट परेको क्षति तथा अन्तर्राष्ट्रिय सहयोगको आवश्यकता उच्च राजनीतिक तहबाट प्रस्तुत गर्ने अवसरका रूपमा भ्रमणलाई सरकारले अघि बढाएको छ।