झापा, १५ मंसिर
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले निर्माणाधीन पूर्व–पश्चिम एशियन राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ।
नेपाल सरकारको लगानी तथा एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लविपुरसम्म ९५ किलोमिटर सडक एशियन राजमार्ग मापदण्डअनुसार स्तरोन्नति भइरहेको छ। हाल आयोजनाको समग्र प्रगति २५ प्रतिशत पुगेको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले इटहरी–बिर्तामोड खण्डका कार्यप्रगति, निर्माणमा देखिएका समस्या तथा समाधानका उपायबारे सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गर्नुभएको थियो। उहाँले स्तरोन्नतिको काम सुरु भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको उल्लेख गर्दै, हिउँदे मौसमलाई उपयुक्त अवसर मान्दै जनशक्ति वृद्धि गरी काम तीव्र बनाउन निर्देशन दिनुभयो।
सडक किनारमा रहेका विद्युत् पोलका कारण केही अवरोध देखिए नेपाल विद्युत प्राधिकरणसँग आवश्यक समन्वय गरी गरी निर्माण प्रभावित हुन नदिने उहाँले बताउनुभयो।
सडक स्तरोन्नति दुई खण्डमा भइरहेको छ। काँकडभिट्टादेखि झापाको केरखा–सितापुरीसम्म ४५ किलोमिटर खण्डमा २९ प्रतिशत प्रगति भएको छ। यो खण्ड कात्तिक २०८० मा तीन वर्षभित्र सक्ने गरी ठेक्का सम्झौता गरिएको थियो। त्यसैगरी, सितापुरीदेखि सुनसरीको लविपुरसम्म ५० किलोमिटर खण्डको प्रगति हाल १३ प्रतिशत मात्र छ।
आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुललगायतका सडक संरचना निर्माण हुनेछन् ।