काठमाडौँ, ३ असोज
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन आगामी पुसभित्रै सम्पन्न गर्न निर्देशन दिनुभएको छ। उहाँले सर्वसाधारणका लागि ढिलाइ नगरी कार्यसम्पन्न गर्न सबै पक्षलाई गम्भीरतापूर्वक परिचालित हुन आग्रह गर्नुभयो।
मन्त्री घिसिङले मन्त्रालयका सचिव, आयोजना समन्वय कार्यालय, परामर्शदाता र निर्माण व्यवसायीसँगको छलफलमा जेन–जी आन्दोलनका क्रममा संसद् भवनमा पुर्याइएको क्षतिको स्मरण गर्दै अब कुनै बहाना नस्वीकार्ने उल्लेख गर्नुभयो। उहाँले संसद् भवनका प्रमुख हलमा फल्स सिलिङ, ट्रस निर्माण, इलेक्ट्रिकल प्यानल जडान र फायर फाइटिङ प्रणालीजस्ता बाँकी प्राविधिक काम छिट्टै सम्पन्न गर्न निर्देशन दिनुभयो।
साथै, मन्त्री घिसिङले अनियमितता रोक्न कडा चेतावनी दिनुभयो। “एक रुपैयाँको अनियमितता पनि सह्य छैन, फेला परे तुरुन्त कारबाही हुनेछ,” उहाँले भन्नुभयो। भ्रष्टाचार नियन्त्रण र सेवा प्रवाह सुधार गर्ने जिम्मेवारी सबै जिम्मेवार निकायमा रहने उहाँको भनाइ छ।
“विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप लाग्ने गरेको छ। यस्तो प्रवृत्ति अब सह्य हुँदैन। भ्रष्टाचार नियन्त्रण नभए ठूलो निराशा फैलिन्छ। त्यसैले छिद्र पहिचान गरी तुरुन्त बन्द गर्नुपर्छ,” मन्त्री घिसिङले भन्नुभयो। उहाँले सेवा प्रवाहमा समेत सुधार ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो।