काठमाडौं, १३ भदौ
सुदूरपश्चिम प्रदेशमा गौरा पर्व उल्लासपूर्वक मनाइँदैछ। पर्वको दोस्रो दिन आज ‘नानी गौरा’ मनाइँदैछ।
बर्तालु महिलाले बिहीबार अर्थात् बिरुडापञ्चमीका दिन भिजाएका बिरुडालाई आज धारा, तलाउ वा पानीका मुहानमा लगेर धोएर पूजा गर्ने परम्परा छ। यस दिनलाई स्थानीय भाषामा ‘नानी गौरा’ भनिन्छ।
साउँ, तिल, अपामार्गजस्ता वनस्पति प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई पानीका स्रोतमा लैजाई पूजाआजा गरिन्छ। बिरुडासहित बारीमा फलेका फलफूल चढाउने प्रचलन पनि छ।
पौराणिक मान्यताअनुसार पार्वती (गौरादेवी) ले भगवान् महेश्वरको प्राप्तिका लागि निराहार आराधना गरेपछि भगवान् शिवलाई पतिको रूपमा पाएको विश्वास छ। यही प्रसंगको सम्झनामा गौरा पर्व मनाउने परम्परा रहेको बताइन्छ।
यस पर्वको मुख्य दिन दुर्वाष्टमी (अठ्यावली) हो, जुन शनिबार पर्दछ। सो दिन महिलाहरूले गौरादेवीमा समर्पण गरिएको विशेष धागो ‘दुबधागो’ धारण गर्ने प्रचलन छ। पुरुषहरूले जस्तै जनेउ धारण गर्ने महिलाहरूको संस्कार यस पर्वसँग जोडिएको छ।
गौरालाई शुक्लपक्षमा परे ‘उजेली गौरा’ र कृष्णपक्षमा परे ‘अँधेरी गौरा’ भनिन्छ। यो वर्ष उजेली गौरा परेको छ।
गौराको अवसरमा सुदूरपश्चिमका विभिन्न ठाउँमा देउडा, ठाडो खेल, ढुस्को, धमारी, चैतलगायत परम्परागत खेल र गीतगान गरेर रमाइलो गर्ने चलन रहिआएको छ।