काठमाडौँ । नइ प्रकाशनले पच्चीस जनालाई नइ पुरस्कार प्रदान गरेको छ । प्रकाशनले विभिन्न क्षेत्रका गरी पच्चीस जनालाई नइ पुरस्कार र सम्मान प्रदान गरेको हो ।
यसका साथै सोही अवसरमा नेपालभित्र र नेपालबाहिरका चौबीस देशका नेपाली र विदेशी प्रतिभालाई पनि नइ रजत महोत्सव पदक प्रदान गरिएको थियो ।
गतवर्ष र यसवर्ष गरी ४१० जनालाई प्रकाशनले नइ रजत महोत्सव पदकबाट सम्मनित समेत गरेको छ। प्रकाशनले कोरोना महामारीका कारण गतवर्ष पूर्ण रूपमा सो पदक समर्पण गर्न सकेको थिएन ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र सङ्गठनमार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारमा महत्त्वपूर्ण योगदान पुर्याउने अमेरिका निवासी प्रा.मोहन सिटौलालाई महासमालोचक प्राडा वासुदेव त्रिपाठीले ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरेका हुन् । ताम्रपत्र सहित सो पुरस्कारको राशि दुई लाख रुपियाँ रहेको छ ।
यस्तै, महासमालोचक प्राडा त्रिपाठीले देशविदेशका दस जनालाई ताम्रपत्र सहित जनही एक लाख रुपियाँ राशिका २०७८ सालका नइ पुरस्कार प्रदान गरे ।
समारोहमा शिक्षाविद् प्राडासुरेशराज शर्मालाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’, देशभक्त चिन्तक भैरव रिसाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’, प्रथम टेष्टट्युव चिकित्सक डा।भोला रिजाललाई ‘नइ भावि पुरस्कार’, समालोचक प्रा।डा।दयाराम श्रेष्ठलाई ‘नइ ईश्वर बराल पुरस्कार’, अभिनयका लागि सन्तोष पन्तलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ प्रदान गरिएको हो ।
त्यसैगरी साहित्यकार डा.रामदयाल राकेशलाई ‘नइ भाजप पुरस्कार’, धर्म तथा संस्कृतिमा योगदान पुर्याउने प्राडा माधव भट्टराईलाई ‘नइ चन्द्रधन पुरस्कार’, भारतीय साहित्यकार छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’, गीतकार प्रेमविनोद नन्दनलाई ‘नइ कोइलीदेवी पुरस्कार’ प्रदान गरे ।
समारोहमा ताम्रपत्रसहित साठी हजार रुपियाँ राशिका ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ सुनगाभा विशेषज्ञ प्राडा विजया पन्त र ‘नइ रेखा पुरस्कार’ साहित्यकार श्रीमती गङ्गा लिगललाई समर्पण गरियो ।
साथै जनही पचास हजार रुपियाँ राशिको ‘नइ बुलु शर्मा पुरस्कार’ कञ्चनपुरका श्रीमती नारा जोशीलाई, ‘नइ देरुनीख गौरव पुरस्कार’ साहित्यकार, पत्रकार तथा सामाजिक अभियन्ता श्री ठाकुर वेलबासेलाई र ‘नइ रामलक्ष्मी पुरस्कार’ तेस्रो लिङ्गी भक्ति शाहलाई प्रदान गरियो। यसका साथै मिस नेवा सुश्री कृषा महर्जनलाई पच्चीस हजार रुपियाँ राशिसहित ‘नइ देरुनीख पौरख पुरस्कार’ प्रदान गरिएको थियो ।
महासमालोचक प्राडा त्रिपाठीले छ जना बाल बालिकालाई दस हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू बाल पुरस्कार’ प्रदान गरे । पुरस्कृत हुनेहरूमा बहुआयामिकतर्फसम्पदा दुलाल, साहित्यतर्फ विभूति अधिकारी, चित्रकलातर्फ रिकिस्ना डङ्गोल, सङ्गीततर्फ सन्देश पौडेल, नृत्यतर्फ राशु पन्त र खेलकुदतर्फ नयना शाक्य थिए ।
साथै जनही सात हजार रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीखपू कोपिला पुरस्कार’ गायनमा सिचु मानन्धर, नृत्यमा नासिका ठकुरी र ताम्रपत्रसहित पाँच हजार रुपियाँ राशिको ‘नइ देरुनीखपू चिचिला पुरस्कार’ पाँच वर्षीय श्रीना महर्जनलाई प्रदान गरियो ।
श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा महासमालोचक प्राडावासुदेव त्रिपाठी, पुरस्कृतहरूका तर्फबाट प्रा मोहन सिटौला, प्राडासुरेशराज शर्मा, प्राडादयाराम श्रेष्ठ र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट मन्तव्य प्रकट भएको थियो ।
समारोहमा पुरस्कृत बालबालिकाद्वारा गायन तथा नृत्य प्रदर्शन भएको थियो ।