काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको जीवनी प्रकाशित भएको छ। पत्रकार गिरिश गिरीले करीब एक दशक शताब्दी पुरुष जोशीसँग गरेको कुराकानीमा आधारित रहेर पुस्तक प्रकाशन भएको हो ।
पत्रकार एवम् लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो ।
निरन्तर नेपाली लोकसंस्कृति, साहित्य, परातत्व र समाज निर्माणका लागि लागि परेका जोशीको कालखण्डलाई वर्णन गर्ने उद्देश्यले पुस्तक लेखिएको हो। पुस्तकमा जोशीको राणाकालिन अनुवभदेखि लिएर कोरोनाकालसम्मको अनुभव समेटिएको छ।
विमोचन कार्यक्रममा सत्यमोहनले किताबका बारेमा धेरै लामो त बोलेनन तर उनले आफ्नो जीवनका विविध कालखण्ड पुस्तकाकार रुपमा सार्वजनिक हुनुको हर्ष साटे । उनले बुद्धले चार आर्य सत्यको कुरा गरेजस्तै आफूले पनि पुस्तकमा नयाँ दर्शनको कुरा गरेको बताए । लोकगीतको ईतिहास कहिलेबाट सुरु भयो र कसरी भयो भन्नेबारेको खोजलाई आफूले 'जुरेली दर्शन'को नाम दिएको बताए ।
उक्त पुस्तकमा लेखक गिरीले हलुवावेदमा बसेको जुरेली चरोले पुर्ख्यौली लोकगीतलाई आफ्नै भाका र ताल सुरुमा गुञ्जयमान गरेर गाईरहेको, उफ्रि उफ्रि नाचिरहेको देखेको पुस्तकमा लेखेका छन् ।
वि.सं. २०२६ सालमा प्रज्ञा प्रतिष्ठानमै रहेका बेला जोशीकै अगुवाईमा भएको कर्णालीको लोकसंस्कृतिको अध्ययनपछि प्रकाशित कर्णाली लोकसंस्कृति पुस्तकका लागि संयुक्त रुपमा मदनपुरस्कार पाए । यसअघि नै जोशीले हाम्रो लोकसंस्कृति पुस्तकका लागि वि.सं. २०१३ सालमा र नेपाली राष्ट्रिय मुद्राग्रन्थका लागि २०१७ सालमा गरी दुईपटक मदनपुरस्कार पाईसकेका थिए ।
जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पंचायत देखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण ईतिहासका साक्षी जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुन् ।