काठमाडौँ, १० कात्तिक
देशका ७५ जिल्लामध्ये दुई जिल्लाबाहेक सबैमा डेङ्गु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का तथ्यांकअनुसार हालसम्म ६ हजार ६६८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ भने पाँच जनाको मृत्यु भएको कीटजन्य शाखा प्रमुख डा। गोकर्ण दाहालले जानकारी दिनुभयो।
डोल्पा र मनाङमा भने अहिलेसम्म संक्रमण देखिएको छैन। सबैभन्दा बढी बागमती प्रदेशमा एक हजार ६४९ संक्रमित पत्ता लागेका छन्। त्यस्तै गण्डकीमा एक हजार ६३१, लुम्बिनीमा एक हजार ११७, कोशीमा ८९६, सुदूरपश्चिममा ७६२, कर्णालीमा ४७४ र मधेश प्रदेशमा १३९ जनामा डेङ्गु पुष्टि भएको छ।
चिकित्सकका अनुसार डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्दछ। एडिज जातका लामखुट्टे सफा पानी जम्मा भएको जुनसुकै भाँडोमा हुर्कन सक्छ। सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुनका अनुसार असाध्य शरीर दुख्ने, खाना खान मन नलाग्ने, पखाला लाग्ने डेङ्गुका प्रमुख लक्षण हुन्।
त्योबाहेक, उच्च ज्वरो आउने, जोर्नी र मांसपेशी, आँखाको गेडी, टाउको दुख्नु, शरीरमा राता बिमिरा आउनु, वाकवाकी लाग्नु वा वान्ता हुनेजस्ता लक्षण देखिन्छ। डेङ्गु भएको बेलामा चिकित्सकको सुझावमा मात्र औषधी सेवन गर्न डा। पुनले आग्रह गर्नुभयो। ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर चिकित्सकसँग परामर्श गर्न उहाँले अनुरोध गर्नुभयो।
चिकित्सकहरूले डेङ्गुको जोखिम कात्तिकसम्म रहने भएकाले सतर्कता अपनाउन, पानी जम्न नदिई घर–टोल सफा राख्न र चिकित्सकको सल्लाहबिना औषधि नखान आग्रह गरेका छन्।