काठमाडौँ,१८ भदौ
यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत जनस्वास्थ्यकर्मी विधामा उत्कृष्ट जनस्वास्थ्यकर्मीको अवार्ड पर्वतको विहादी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद भुसालले प्राप्त गर्नुभएको छ।
स्वास्थ्य सेवा वितरणसँगै नवीनता र स्थायी समाधानमा केन्द्रित उहाँका कार्यले पालिकाको स्वास्थ्य सूचकाङ्कमा उल्लेखनीय सुधार ल्याएको छ। अन्य पालिका र निकायले समेत उहाँको कामलाई अनुकरणीय बताएका छन्।
जनस्वास्थ्य अधिकृत भुसाल हाल विहादी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारी सम्हालिरहनुभएको छ।
भुसालले विहादी गाउँपालिकामा स्वास्थ्य संस्थाको डिजिटलीकरण, नमुना पोषण कार्यक्रम, एक घर–एक धारा अभियान, विद्यालय स्तरको बाल पोषण कार्यक्रम लगायतका प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुभइको छ। सबै स्वास्थ्य चौकीमा दक्ष स्वास्थ्यकर्मी र आवश्यक उपकरण सुनिश्चित गर्दै २४ घण्टा सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनुभएको छ।
त्यसैगरी गाउँकै स्वास्थ्य चौकीमा आँखा उपचार केन्द्र, गर्भवती र सुत्केरी आमा लक्षित पोषण सामग्री वितरण, जेष्ठ नागरिक स्वास्थ्य परीक्षण, विषादी रहित कृषि प्रवर्द्धन जस्ता कार्यक्रमले समुदायमा प्रत्यक्ष परिवर्तन ल्याएको छ। अहिले गाउँघरमा घरमै प्रसूति शून्यमा झरेको छ भने सुरक्षित प्रसूति गर्नेहरूको संख्या उल्लेख्य बढेको छ।
२०३२ साल असार २६ गते पर्वत, विहादी गाउँपालिका–४, वहाकीठाँटीमा जन्मिनुभ्एको भुसाल शिक्षा, नेतृत्व र सामाजिक सेवामा बाल्यकालदेखि सक्रिय भएको देखिन्छ। गाउँको विद्यालयमा सधैं कक्षामा प्रथम, स्थानीय क्लब र कार्यक्रममा सक्रिय सहभागिता र नेतृत्वले उहाँभित्र नेतृत्व र सेवा भावनाको बीजारोपण गरेको थियो।
मध्यमवर्गीय परिवारमा जन्मिएका उहाँका बुबा स्थानीय विद्यालयका शिक्षक हुनुहुन्थो भने आमा साक्षर गृहिणी। २०५३ सालमा लोकसेवा आयोगमार्फत अहेव पदमा नियुक्त भएका भुसालले बाग्लुङ जिल्ला स्वास्थ्य कार्यालयमार्फत स्वास्थ्य सेवामा प्रवेश गर्नुभएको थियो। संघीयता कार्यान्वयनपछि २०७४ सालदेखि विहादी गाउँपालिकामा स्वास्थ्य शाखा प्रमुख बन्नुभएको हो।
२०८० सालमा करिब दुई वर्ष प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी समेत बोकेर पनि स्वास्थ्य क्षेत्रमा ध्यान केन्द्रित थियो।
उहाँका अनुसार नेपालमा हाल सरुवा र नसर्ने दुवै रोग चुनौतीपूर्ण बनेका छन्। क्यान्सर, मुटु, मृगौला, पक्षघात, मादकपदार्थ, सुर्तीजन्य पदार्थ र विषादीयुक्त खाद्यपदार्थसँगै अस्वस्थ जीवनशैलीकै कारण जनस्वास्थ्य जोखिममा परेको उहाँको अनुभव छ।
भविष्यमा उहाँले पोषणमैत्री स्थानीय शासन प्रवर्द्धन, दीर्घ रोगहरूको नियमित स्क्रिनिङ, विद्यालयस्तरमा स्थानीय उत्पादनबाट बनेको दिवा खाजा कार्यक्रम निरन्तरता, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि र सामुदायिक चेतना विकासलाई प्राथमिकता दिने योजना अघि सार्नुभएको छ।