काठमाडौँ, २२ असार
साझा यातायातमा कार्यरत चालक, सहचालक र कर्मचारीका लागि निःशुल्क आँखा परीक्षण कार्यक्रम सम्पन्न गरिएको छ। नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखा र साझा यातायातको संयुक्त आयोजनामा शनिबार कीर्तिपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा साझा यातायातको कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो।
नेपाल नेत्रज्योति सङ्घ काठमाडौँ शाखाका सभापति हुकुमप्रसाद पोखरेलका अनुसार शिविरमा १७९ जनाको आँखा परीक्षण गरिएको थियो। परीक्षण गरिएकामध्ये १५ जनामा दृष्टिदोषको समस्या फेला परेको र उनीहरूलाई निःशुल्क औषधि, नजिकको चश्मा र कालो चश्मा वितरण गरिएको जानकारी दिनुभयो।
“एउटा चालकको आँखाले सयौँ यात्रुको जीवनसँग सम्बन्ध राख्छ, चालकको आँखा परीक्षणले दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुग्दछ,” सभापति पोखरेलले भन्नुभयो।
शिविरमा कीर्तिपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डा। मनिषा श्रेष्ठ र दीपा खड्काको नेतृत्वमा स्वास्थ्यकर्मीको टोलीले सेवा प्रदान गरेका थिए।
नेपाल नेत्रज्योति सङ्घका अनुसार सङ्घले स्थापना देखि सन् २०२४ को अन्त्यसम्ममा २८ वटा आँखा अस्पताल, २२४ उपचार केन्द्र र ४५ जिल्ला शाखामार्फत देशभरका नागरिक र अन्य विदेशी नागरिकहरूलाई गरी ४ करोड ६८ लाख ६८ हजार ६० जनालाई आँखा उपचार सेवा प्रदान गरिसकेको छ। साथै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको सफल शल्यक्रिया समेत सम्पन्न भइसकेको जनाइएको छ।