झापा, १७ असार
झापामा कोभिड–१९ सङ्क्रमण पुनः देखिन थालेका छन्। पछिल्लो तथ्यांक अनुसार जिल्लामा आठजना कोभिड सङ्क्रमित फेला परेका छन्। तीमध्ये पाँचजना झापा जिल्लाका रहेका छन् भने मोरङ, इलाम र दोलखाका एक/एक जना रहेका छन्।
कोभिड सङ्क्रमणको जोखिम बढ्न थालेसँगै मेचीनगर नगरपालिकास्थित काँकरभिट्टा नाकामा शङ्कास्पद व्यक्तिहरुको परीक्षण सुरु गरिएको छ। परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो। “जटिल अवस्थामा पुग्ने बिरामीलाई कुन अस्पतालमा राख्ने भन्ने स्पष्ट निर्देशिका नआएकाले अलमल छ,” उहाँले भन्नुभयो।
यसैबीच, झापामा कोभिडविरुद्धको १५ हजार मात्रा फाइजर खोप आइपुगेको छ। “झापाका सबै पालिकासँग समन्वय गरेर खोप वितरण गरिनेछ,” प्रमुख बाराकोटीले बताउनुभयो, “नयाँ खोप तालिकाअनुसार खोप अभियान अगाडि बढ्छ।”
नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसङ्ख्यालाई प्राथमिकतामा राखिएको छ। तीमध्ये रोगप्रतिरोध क्षमता कम भएका पाँच वर्षमाथिका बालबालिका, वयस्क, ज्येष्ठ नागरिक, स्वास्थ्यकर्मी, बिरामीको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्षमाथिका व्यक्ति र पाँचदेखि ११ वर्षसम्मका अन्य बालबालिकालाई खोप दिइनेछ।
स्वास्थ्य कार्यालय झापाले जिल्लामा कोभिड नियन्त्रण तथा रोकथामका लागि परीक्षण र खोप वितरण कार्यलाई थप तीव्र बनाउने जनाएको छ।