राष्ट्रिय समाचार समिति
कञ्चनपुर, ७ वैशाख
कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर घरमै पुगेर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेका छन्।
राष्ट्रिय अभियानअन्तर्गत छ महिनादेखि पाँच वर्ष उमेरका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरिएको हो। अभियानअन्तर्गत यही वैशाख ६ गतेदेखि ७ गतेसम्म भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम छ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार भिटामिन ‘ए’ ३७ हजार पाँच सय ५४ र जुकाको औषधि ३३ हजार ४६ बालबालिकालाई खुवाउने लक्ष्य राखिएको छ।
“अभियानको पहिलो दिन खोप केन्द्र र तोकिएका स्थानमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइएको हो”, उहाँले भन्नुभयो, “आज महिला स्वास्थ्य स्वयंसेवीकाले केन्द्रमा नआएका बालबालिकाको घर–घरमै पुगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँछन्।”
शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि बिहानैदेखि बालबालिकाको घर घरमा जान थालेको बताउनुभयो। “केन्द्रमा थोरै मात्रै बालबालिका आएका छन्”, उहाँले भन्नुभयो, “नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ।”
भिटामिन ‘ए’ कार्यक्रम सरकारले विसं २०५० देखि अभियनका रुपमा सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने विसं २०५६ देखि बालबालिकालाई खुवाइदै आएको छ।