सूचना प्रविधिको विकास कुनै एक दिन वा एक व्यक्तिको आविष्कारबाट सुरु भएको यात्रा होइन। मानवले सूचना सुरक्षित राख्ने, गणना गर्ने, अर्को व्यक्तिसम्म पुर्याउने र ज्ञानलाई पुस्तान्तरण गर्ने प्रयाससँगै यसको आधार निर्माण भएको हो। मुद्रणयन्त्रदेखि इन्टरनेट र आजको कृत्रिम बुद्धिमत्तासम्म आइपुग्दा सूचना प्रविधिले मानव सभ्यताको सोच, अर्थतन्त्र, राजनीति, शिक्षा र सञ्चार प्रणालीलाई नै पुनर्परिभाषित गरिसकेको छ।
आज हामी केही दशकअघिको कल्पनाभन्दा निकै अगाडि पुगिसकेका छौँ। त्यसैले सूचना प्रविधिको विकासलाई मिति र घटनाक्रमसँग जोडेर हेर्नु केवल इतिहास बुझ्नु होइन, भविष्य कुन दिशामा जाँदैछ भन्ने बुझ्नु पनि हो।
सन् १४४० : मुद्रण क्रान्तिको सुरुवात
जर्मनीका योहानेस गुटेनबर्गले करिब सन् १४४० मा चलायमान धातु अक्षरमा आधारित मुद्रण प्रविधिलाई व्यावहारिक रूप दिए। यसले ज्ञानलाई सीमित समूहबाट व्यापक जनसमुदायसम्म पुर्याउने बाटो खोल्यो।
मुद्रण प्रविधिले पुस्तक, समाचारपत्र र शैक्षिक सामग्रीको विस्तार गर्यो। आधुनिक पत्रकारिताको जग बसाल्ने प्रमुख प्राविधिक आधार पनि यही क्रान्तिलाई मानिन्छ।
सन् १६४२ : यान्त्रिक गणनाको युग
फ्रान्सेली गणितज्ञ ब्लेज पास्कलले सन् १६४२ मा ‘पास्कलाइन’ नामक यान्त्रिक गणक निर्माण गरे। यसले जटिल गणनालाई यान्त्रिक रूपमा गर्न सम्भव बनायो।
आजको कम्प्युटरको तुलनामा यो अत्यन्तै सामान्य उपकरण थियो, तर स्वचालित गणनाको अवधारणातर्फको महत्वपूर्ण कदम थियो।
सन् १८०१ : प्रोग्रामयोग्य मेसिनको अवधारणा
जोसेफ मारी ज्याकार्डले सन् १८०१ मा पंचकार्ड प्रयोग गरेर बुन्ने मेसिनको सञ्चालनलाई नियन्त्रण गर्ने प्रणाली विकास गरे। एउटै निर्देशनअनुसार मेसिनले दोहोरिने काम गर्न सक्ने यो प्रविधिले पछि कम्प्युटर प्रोग्रामिङको अवधारणालाई प्रभावित गर्यो।
सन् १८३७ : चार्ल्स ब्याबेज र आधुनिक कम्प्युटरको बीउ
चार्ल्स ब्याबेजले ‘Analytical Engine’ को अवधारणा अघि सारे। पूर्ण रूपमा निर्माण हुन नसके पनि यसमा मेमोरी, गणना गर्ने एकाइ र निर्देशनअनुसार सञ्चालन हुने अवधारणा थियो।
उनकी सहयोगी एडा लभलेसले मेसिनका लागि एल्गोरिदम लेखिन्। त्यसैले उनलाई विश्वकै पहिलो कम्प्युटर प्रोग्रामरका रूपमा सम्झिन्छ।
सन् १८४४ : टेलिग्राफ र तत्काल सूचना
स्यामुएल मोर्सले विकास गरेको टेलिग्राफ प्रणालीले लामो दूरीमा विद्युतीय संकेतमार्फत सन्देश पठाउन सम्भव बनायो। यसअघि दिन वा हप्ता लाग्ने सूचना केही मिनेटमै पुग्न थाल्यो।
यसले समाचार संकलन, युद्ध, व्यापार र सरकारी प्रशासनमा ठूलो परिवर्तन ल्यायो।
सन् १८७६ : टेलिफोनको आगमन
अलेक्जेन्डर ग्राहम बेलसँग जोडिएको टेलिफोन आविष्कारले आवाजलाई विद्युतीय संकेतका रूपमा टाढासम्म पुर्याउने सम्भावना खोल्यो। मानव सञ्चारमा यो अर्को ऐतिहासिक मोड थियो।
पत्र वा टेलिग्राफमा निर्भर सञ्चार विस्तारै प्रत्यक्ष आवाजमा आधारित हुन थाल्यो।
सन् १८९५ : रेडियो सञ्चारको बाटो
विद्युतीय तरंगमार्फत तारविहीन सञ्चारको विकासले रेडियोको युगलाई जन्म दियो। पछि रेडियो आमसञ्चारको शक्तिशाली माध्यम बन्यो।
समाचार, शिक्षा, मनोरञ्जन र जनचेतनाका लागि रेडियोले विश्वभर प्रभाव पार्यो।
सन् १९२०–१९३० : प्रसारण सञ्चारको विस्तार
रेडियो प्रसारण व्यवस्थित हुँदै गएपछि आम नागरिकले घरमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाबारे जानकारी पाउन थाले। यसले सञ्चारलाई पहिलोपटक व्यापक रूपमा तत्कालीन जनजीवनसँग जोड्यो।
त्यसपछि टेलिभिजनको विकासले दृश्यसहितको प्रसारणलाई सम्भव बनायो।
सन् १९४० : इलेक्ट्रोनिक कम्प्युटरको सुरुवात
दोस्रो विश्वयुद्धको समय आसपास इलेक्ट्रोनिक कम्प्युटरको विकास तीव्र भयो। विशाल आकारका प्रारम्भिक कम्प्युटरले आजका स्मार्टफोनको तुलनामा अत्यन्त सीमित काम गर्न सक्थे, तर तिनले आधुनिक डिजिटल युगको आधार निर्माण गरे।
सन् १९५८ : इन्ग्रेटेड सर्किट
इन्ग्रेटेड सर्किटको विकासले धेरै इलेक्ट्रोनिक अवयवलाई एउटै सानो चिपमा राख्न सम्भव बनायो। यही प्रविधिले कम्प्युटरलाई क्रमशः सानो, छिटो र सस्तो बनाउने बाटो खोल्यो।
सन् १९७१ : माइक्रोप्रोसेसर
Intel 4004 को आगमनले कम्प्युटिङ इतिहासमा अर्को ठूलो परिवर्तन ल्यायो। गणना र नियन्त्रण गर्ने मुख्य क्षमतालाई सानो चिपमा समेट्न सम्भव भएपछि व्यक्तिगत कम्प्युटर र अन्य डिजिटल उपकरणको विकास तीव्र भयो।
सन् १९७०–१९८० : व्यक्तिगत कम्प्युटरको युग
कम्प्युटर अनुसन्धान केन्द्र र ठूला संस्थाबाट बाहिर निस्केर घर, विद्यालय र कार्यालयमा पुग्न थाले। व्यक्तिगत कम्प्युटरले लेखन, हिसाब, अभिलेख र कार्यालय व्यवस्थापनमा क्रान्ति ल्यायो।
सन् १९८३ : इन्टरनेटको महत्वपूर्ण आधार
सन् १९८३ मा ARPANET ले TCP/IP प्रोटोकल अपनाएपछि आधुनिक इन्टरनेटको विकासका लागि महत्वपूर्ण आधार तयार भयो। विभिन्न कम्प्युटर नेटवर्कलाई एउटै सञ्चार प्रणालीमा जोड्ने बाटो अझ व्यवस्थित बन्यो।
सन् १९८९–१९९१ : वर्ल्ड वाइड वेब
ब्रिटिश वैज्ञानिक टिम बर्नर्स–लीले वर्ल्ड वाइड वेबको अवधारणा विकास गरे। सन् १९९१ मा पहिलो वेबसाइट सार्वजनिक भएपछि इन्टरनेट सर्वसाधारणका लागि प्रयोग गर्न सहज हुँदै गयो।
वेबले सूचनालाई वेबसाइट, लिंक र ब्राउजरमार्फत विश्वव्यापी रूपमा पहुँचयोग्य बनायो।
सन् १९९० को दशक : डिजिटल क्रान्ति
इमेल, वेबसाइट, सर्च इन्जिन र अनलाइन सेवाको विकासले सूचना आदान–प्रदानको गति अभूतपूर्व रूपमा बढायो। परम्परागत पत्रपत्रिका र सञ्चार संस्थाले समेत डिजिटल माध्यम अपनाउन थाले।
सन् २०००–२०१० : मोबाइल र सामाजिक सञ्जाल
मोबाइल फोनको तीव्र विस्तार र स्मार्टफोनको आगमनले कम्प्युटरलाई मानिसको हातमा पुर्यायो। फेसबुक, युट्युब र अन्य सामाजिक सञ्जालले सूचना उत्पादन र वितरणको शक्ति आम नागरिकसम्म पुर्याए।
पत्रकारितामा पनि ठूलो परिवर्तन आयो। समाचार अब निश्चित समयको पत्रिका वा टेलिभिजन प्रसारणमा मात्र सीमित रहेन; घटनास्थलबाटै विश्वभर सूचना पठाउन सकिने भयो।
सन् २०१०–२०२० : क्लाउड, बिग डाटा र डिजिटल अर्थतन्त्र
क्लाउड कम्प्युटिङ, बिग डाटा, ई–कमर्स, डिजिटल बैंकिङ र मोबाइल भुक्तानीले अर्थतन्त्रको संरचनामै परिवर्तन ल्याए। कार्यालय, बैंक, विद्यालय र सरकारी सेवा डिजिटल प्रणालीतर्फ अघि बढे।
नेपालमा पनि डिजिटल भुक्तानी, अनलाइन समाचार, सामाजिक सञ्जाल र ई–कमर्सको प्रयोग उल्लेख्य रूपमा विस्तार भयो।
सन् २०२०–२०२४ : एआईको तीव्र विस्तार
कृत्रिम बुद्धिमत्ताको प्रयोग अनुसन्धान र ठूला प्रविधि कम्पनीबाट बाहिर निस्केर आम प्रयोगकर्तासम्म पुग्यो। जेनेरेटिभ एआईले लेखन, चित्र निर्माण, अनुवाद, कोडिङ, अनुसन्धान र सामग्री उत्पादनका क्षेत्रमा नयाँ सम्भावना देखायो।
पत्रकारिताका लागि भने यो अवसरसँगै चुनौती पनि हो। एआईले समाचार उत्पादनमा सहयोग गर्न सक्छ, तर तथ्य प्रमाणीकरण, सम्पादकीय जिम्मेवारी, गोपनीयता र विश्वसनीयता मानव पत्रकारकै जिम्मेवारी रहन्छ।
सन् २०२५–२०२६ : एआईपछि नयाँ डिजिटल युग
हाल सूचना प्रविधि एआईमा मात्र सीमित छैन। एज कम्प्युटिङ, रोबोटिक्स, साइबर सुरक्षा, इन्टरनेट अफ थिङ्स, क्वान्टम कम्प्युटिङ र स्वचालित प्रणालीमा अनुसन्धान तीव्र छ।
अब प्रश्न ‘प्रविधि कहाँ पुग्यो?’ भन्दा पनि ‘प्रविधिले समाजलाई कहाँ लैजाँदैछ?’ भन्ने बनेको छ।
नेपालको चुनौती र अवसर
नेपालका लागि सूचना प्रविधि रोजगारी, शिक्षा, सञ्चार, सुशासन र आर्थिक विकासको महत्वपूर्ण आधार बन्न सक्छ। तर डिजिटल पहुँचमा असमानता, साइबर सुरक्षा, डिजिटल साक्षरता, गलत सूचना, डाटा गोपनीयता र दक्ष जनशक्तिको अभावजस्ता चुनौती समाधान गर्न आवश्यक छ।
विशेषतः पत्रकारितामा प्रविधिको प्रयोग गर्दा गति र पहुँचसँगै सत्य, सन्तुलन र विश्वसनीयतालाई प्राथमिकता दिनुपर्छ। प्रविधिले पत्रकारलाई विस्थापित गर्नेभन्दा पत्रकारको क्षमता बढाउने उपकरण बन्नुपर्छ।
मुद्रणयन्त्रदेखि कृत्रिम बुद्धिमत्तासम्मको यात्रा मानव ज्ञान र सिर्जनशीलताको यात्रा हो। हरेक नयाँ प्रविधिले पुरानो प्रणालीलाई चुनौती दिएको छ, तर अन्ततः समाजले त्यसलाई नयाँ आवश्यकता र व्यवहारअनुसार आत्मसात् गरेको छ।
अबको सूचना प्रविधिको युग अझ तीव्र, स्वचालित र बुद्धिमान हुने निश्चित छ। तर प्रविधि आफैं न राम्रो हो, न नराम्रो। त्यसको मूल्य निर्धारण गर्ने कुरा यसको प्रयोग हो।