१. श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित
श्रम ऐन लागू गर्न माग गर्दै प्रशिक्षार्थी चिकित्सकहरु आन्दोलित भएका छन् ।
शनिवार काठमाडौंको माईतीघर मण्डलामा हप्तामा एक दिन बिदा दिन र दैनिक १२ घण्टासम्म मात्रै काम गर्ने वातावरण मिलाउन माग गर्दै आन्दोलित भएका हुन् । उनीहरुले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्न माग गरेका छन् । प्रदर्शनरत एमबिबिएस उत्तिर्ण चिकित्सक डा. प्रज्ञान बस्नेतले नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ ।
एक वर्ष काम गरेर मात्र एमडिको अध्ययन गर्न पाइने तर आफूजस्ता चिकित्सकहरु राम्रो अंक ल्याएपनि नेपालको उच्च शिक्षामा रहेको शोषणका कारण एमडि अध्ययन गर्न नसकेको बताउनु भयो । चिकित्सकहरुले लगातार ३६ घण्टासम्म काम गर्नुपर्ने र अहिले देशमा दुई दिन बिदा दिइएको समयमा पनि एक दिन पनि आफूहरुलाई बिदा नदिइएको भन्दै आपत्ति जनाउनु भयो ।
मेडिकल माफिया र केही शिक्षण अस्पतालहरुको आम्दानीको श्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेको उहाँको जिकिर छ । देशमा सरकार, मन्त्रीहरु फेरिएर काँग्रेस, कम्युनिष्टबाट जेन–जी र बालेनको सरकार आएपनि चिकित्सकहरुको समस्या जहाँको त्यहीँ रहेको भन्दै दुःख व्यक्त गर्नुभयो । अधिकतम दिनमा १२ घण्टाको ड्युटि र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग आफूहरुको रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपालमा एमबिबिएस पास गरेपछि एक वर्ष इन्टर्नसिप गर्नुपर्छ । एक वर्ष काम गरेर मात्र एमडिको अध्ययन गर्न पाइन्छ । तर म यस्तो एक चिकित्सक हो । जसले बारम्बार नेपालको परीक्षामा राम्रो अंक ल्याए पनि नेपालमा एमडि पढ्न सकेको छैन । किनभने नेपालको उच्च शिक्षामा चरम श्रम शोषण छ । हामी डाक्टरको एकै पटठक ३६ घण्टा ड्युटि हुन्छ । आम जनसाधारणले सोच्न पनि सक्दैन, कसरी ३६ घण्टा काम हुन्छ ।
जबकी दिनमा २४ घण्टा हुन्छ । हामी आज बिहान ७ बजे गयौँ भने भोलि बेलुका सात बजेसम्म ड्युटि हुन्छ । अहिले देशमा दुई दिन बिदा दिने चलन छ, तर हाम्रो हप्तामा एक दिन पनि बिदा हुँदैन, हामी ३६५ दिन नै खटिनुपर्ने हुन्छ । यो सबै केही मेडिकल माफिया र केही शिक्षण अस्पतालहरुको आम्दानीको श्रोतको लागि देशको मेधावी पुस्ता श्रम शोषणमा परिरहेका छौँ । देशमा सरकार फेरियो, मन्त्रीहरु फेरिए, काँग्रेस, कम्युनिष्टबाट जेन–जी र बालेनको सरकार आयो । तर पनि हामी अझै ३६ घण्टाको ड्युटि गर्न बाध्य छौँ ।
हामी युवा तथा प्रशिक्षार्थी चिकित्सकहरु नेपालको श्रम ऐन हामीलाई पनि लागू होस्, अधिकतम दिनमा १२ घण्टाको ड्युटि होस् र हप्तामा एक दिन बिदा होस् भन्ने साधारण माग राखेर हामी आन्दोलन गर्न बाध्य छौँ । हाम्रो माग समयमै पूरा होस् । हामीलाई न्याय दे सरकार ।’
प्रदर्शनरत प्रशिक्षार्थी चिकित्सकहरुले युवा तथा प्रशिक्षार्थी चिकित्सकको श्रम शोषण बन्द गर्, मलाई बोल्न दे सरकार, स्वास्थ्यकर्मीको चमेली बोलिदिने कोही छैन, डाक्टरको ३६ घण्टे ड्युटि खारेज गर, प्रशिक्षार्थी चिकित्सकलाई श्रम ऐन लागू गर, सुत्केरीको उपचार गर्ने महिला डाक्टरलाई खोई सुत्केरी बिदा ? रातभर नसुतेको डाक्टर बिरामी छ, स्वास्थ्य सेवा बिरामी छ, देश बिरामी छ लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । –न्युज एजेन्सी नेपाल
२. वैकल्पिक भनिएका शक्तिहरू विचारशुन्य र विध्वंसात्मक बाटोमा लागेः
डा. सीके राउत
जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले मुलुकमा पछिल्लो समय स्थापित हुन खोजेका वैकल्पिक राजनीतिक शक्तिहरू विचारशुन्य र तर्कहीन बन्दै गएको बताउनुभएको छ । .
काठमाडौंमा शनिवार नयाँ शक्तिको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष राउतले नयाँ पुस्तामा विचार र सिद्धान्तभन्दा पनि ‘सेलेब्रिटी’ प्रवृत्ति र विध्वंशप्रति आकर्षण बढेको टिप्पणी गर्नुभयो । राजनीतिमा विचार र नैतिकताको प्रधानता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले हालको राजनीतिक अवस्थालाई ‘विचारशुन्य युग’को संज्ञा दिँदै सामाजिक सञ्जालमा हुने गालीगलौज र तर्कहीन बहसले लोकतन्त्रलाई कमजोर बनाइरहेको तर्क गर्नुभयो ।
संसदीय व्यवस्था र लोकतान्त्रिक मूल्यमान्यतामा ह्रास आएको उल्लेख गर्दै उहाँले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने अनिवार्य शर्त भएपनि सर्वसाधारणले त्यसलाई अनावश्यक ठान्ने परिस्थिति निर्माण हुनु दुःखद भएको बताउनु भयो । अध्यक्ष राउतले पछिल्लो समय राज्यले अवलम्बन गरेको डोजर संस्कृतिको पनि आलोचना गर्नुभयो ।
भौतिक संरचनाहरू भत्काउनुलाई विकास र शक्तिको प्रदर्शनका रूपमा बुझ्नु गलत भएको उहाँको भनाइ छ । पुरानो पुस्ताका नेताहरूले दशकौँ जेलनेल भोगेको र जनताको सेवामा समर्पित भएको भए पनि नयाँ पुस्ताले त्यसको मूल्याङ्कन गर्न छाडेको उहाँको विश्लेषण छ ।
डा. राउतले भन्नुभयो, ‘हामीले एउटा सचेत र विचारले लैस वैकल्पिक राजनीतिक शक्तिको परिकल्पना गरेका थियौँ, तर आज त्यसको ठिक उल्टो वैचारिक शून्यता भएको शक्ति जन्मिएको छ । जमिन वा संरचना अवैध भए त्यसलाई राज्यले राष्ट्रियकरण गर्नुपर्छ, तर अर्बौँको क्षति हुने गरी डोजर लगाएर भत्काउनु राष्ट्रिय सम्पत्तिको विनाश हो ।
हामी चौबीसै घण्टा जनताको सेवामा उपलब्ध हुन्छौँ, तर आजभोलि टाढैबाट हात हल्लाउने र जनतासँग नभेट्ने प्रवृत्तिप्रति आकर्षण बढेको छ ।
यो डार्क साइकोलोजी र एल्गोरिदमको खेल हो, जसमा हामीजस्ता भुईँतहमा काम गर्ने नेताहरू चुकेका छौँ ।’
आफूहरूले प्रविधि र नयाँ जमानाको सञ्चार शैलीलाई आत्मसात गर्न नसक्दा पछाडि परेको स्वीकार गर्दै उहाँले अब नयाँ पुस्ताको चाहनाअनुसार आफूलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । विचार र सिद्धान्तविहीन राजनीतिले मुलुकलाई कतै नपु¥याउने भन्दै उहाँले राजनीतिक दलहरूमा गम्भीर समीक्षाको खाँचो रहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
३. पुराना दलको विकल्पमा दुईवटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छः डा. बाबुराम भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताउनुभएको छ । रोल...
शनिबार काठमाडौंमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गर्नुभएको हो । भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताउनु भयो । यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गर्नुभयो । देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०–८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उहाँले जोड दिनुभयो । पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा कम्तीमा दुईवटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राख्नुभयो । उहाँकाअनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबीच प्रतिष्पर्धा हुनुपर्छ । यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा प्रतिष्पर्धा गर्दा मात्रै देशको हित हुने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, ‘उहाँहरूलाई अहिले शङ्काको सुविधा दिनुपर्छ । भर्खरै उदय भएको शक्तिलाई शुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ । नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न सकिँदैन । यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक छ ।’
आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि पटक–पटक नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफूहरूको कमजोरी रहेको उहाँले स्वीकार गर्नुभयो । डा. भट्टराईले पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दाबी गर्नुभयो । बहुमत वा दुई–तिहाइको सरकारले मात्रै निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
४. पशुपति क्षेत्रको संस्कृति र परम्परामा आँच पुग्ने निर्णय सच्याउन गगन थापाको माग
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल असर पर्ने गरी सरकारले गरेका निर्णयहरू तत्काल सच्याउन माग गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले स्थानीय संवेदनशीलता र मौलिकतालाई बेवास्ता गरी गरिएका निर्णयहरूले दीर्घकालीन संकट निम्त्याउन सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो । पशुपति क्षेत्रका जात्रा, पर्व र ऐतिहासिक बस्तीहरूको आफ्नै विशिष्ट महत्व रहेको उल्लेख गर्दै थापाले सिंहदरबारबाट गरिने निर्णयहरूले यहाँको संवेदनशीलतालाई सम्बोधन गर्न नसकेको बताउनु भयो ।
पशुपति क्षेत्रमा कार्यरत जनशक्तिलाई श्रेणीविहीन बनाउने सरकारी निर्णयप्रति लक्षित गर्दै उहाँले यसबाट ती परिवारले परम्परा धान्न नसक्ने र अन्ततः सांस्कृतिक विरासत नै समाप्त हुने चिन्ता व्यक्त गर्नुभयो । लोकतन्त्रमा सरकारले आफ्ना निर्णयहरूलाई प्रतिष्ठाको विषय बनाउन नहुने तर्क गर्नुभयो । सभापति थापाले सरकारले स्थानीय बासिन्दासँग गरेका पुराना बाचा र सम्झौताहरू कार्यान्वयन नगरी बस्ती खाली गराउनु न्यायसंगत नभएको टिप्पणी गर्नुभयो । साना ठानिएका यस्ता समस्याहरूले भविष्यमा समाजमा ‘भुसको आगो’ जस्तै द्वन्द्व फैलाउन सक्ने चेतावनी दिँदै उहाँले सम्बन्धित मन्त्रालयलाई आफ्ना निर्णयहरूमाथि पुनर्विचार गर्न आग्रह गर्नुभयो ।
सभापति थापाले भन्नुभयो, ‘पछिल्लो समय सरकारले गरेका केही निर्णयका कारण यहाँको धर्म, संस्कृति, परम्परा तथा जात्रा–पर्वहरू प्रभावित हुने हुन् कि भन्ने चिन्ता जनप्रतिनिधि तथा स्थानीय समुदायमा देखिएको छ ।
यस्ता विषयको संवेदनशीलता नबुझी गरिएका निर्णयले कुनै एक व्यक्ति वा परिवार मात्र होइन, सम्पूर्ण समुदाय र सांस्कृतिक सम्पदालाई असर पार्न सक्छ । यहाँका मठ–मन्दिर, बस्ती, जात्रा–पर्व र परम्परासँग जोडिएका हरेक स्थान र समुदायको आफ्नै इतिहास र महत्व छ । बाहिरबाट हेर्दा सामान्य देखिने निर्णयले पनि दीर्घकालीन रूपमा सांस्कृतिक पहिचान र परम्परामा गम्भीर असर पार्न सक्छ । विशेष गरी, परम्परागत जिम्मेवारी निर्वाह गर्दै आएका व्यक्तिहरू र समुदायहरूलाई कमजोर बनाइयो भने भविष्यमा ती परम्परा जोगाउन कठिन हुनसक्छ । यस विषयमा वडा तथा स्थानीय तहले सम्बन्धित निकायमा ध्यानाकर्षण गराइसकेको छ, र हामीले पनि निरन्तर उठाइरहनेछौँ ।
लोकतन्त्रमा सरकारले गरेका निर्णयहरू आवश्यक परे पुनर्विचार गर्न सक्नुपर्छ । नागरिकबाट प्रश्न उठेपछि निर्णय सच्याउनु वा परिवर्तन गर्नु कमजोरी होइन, जिम्मेवार शासनको उदाहरण हो । त्यसैले यहाँका बस्ती, परम्परा र सांस्कृतिक सम्पदासँग सम्बन्धित पछिल्ला निर्णयहरूको पुनरावलोकन गर्न सरकारका सम्बन्धित मन्त्रालयसँग आग्रह गर्दछु । यी विषयको संवेदनशीलता समयमै बुझिएन भने यसले भविष्यमा असन्तोष र द्वन्द्वको रूप लिनसक्छ । त्यसतर्फ सरकारको समयमै ध्यान जाओस् भन्ने अपेक्षा र आग्रह गर्दछु ।’
स्थानीय वडा र जनप्रतिनिधिहरूले यी विषयमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराउँदै थापाले आफूहरूले पनि सम्बन्धित निकायमा दबाब दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । सरकारले आफ्ना कमजोरीहरू सच्याउनेमा आफू अझै विश्वस्त रहेको भन्दै उहाँले तत्कालका लागि गम्भीर ध्यानाकर्षण मात्र गराउन चाहेको बताउनु भयो । –न्युज एजेन्सी नेपाल
५. जलवायु परिवर्तनको प्रभाव प्रजनन स्वास्थ्यमा,निःसन्तान समस्या २० प्रतिशतले बढाएको विज्ञको दाबी
जलवायु परिवर्तनका कारण मानव जीवन, जीविकोपार्जन र समग्र पर्यावरणीय सन्तुलनमा गम्भीर चुनौती खडा भएकोे छ । पछिल्ला अध्ययनहरुले जलवायु परिवर्तनले प्रकृति र जीवजन्तुमा मात्रै नभई प्रजनन स्वास्थ्यमा समेत गम्भीर असर पु¥याएको देखाएका छन् । प्रजनन तथा आईभीएफ विशेषज्ञ डा. रश्मी श्रीशले पछिल्लो समय विश्वभर निःसन्तानपनको दर बढ्दै गएको र यसको पछाडि जलवायु परिवर्तन तथा वातावरणीय असन्तुलन प्रमुख कारणका रूपमा देखा पर्न थालेको बताउनुभएको हो । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै डा. श्रीशले प्रजनन स्वास्थ्यसम्बन्धी समस्यामध्ये करिव २० प्रतिशतमा जलवायु परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव रहने गरेको अध्ययनले देखाएको बताउनु भयो ।
चीनमा गरिएको पछिल्लो अध्ययनले निःसन्तानपनको समस्यामा २० प्रतिशत जलवायु परिर्वतनको भुमिका रहेको देखाएको उहाँले बताउनु भयो । जलवायु परिवर्तनले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा बराबर असर पार्ने गरेको पनि अध्ययले देखाएको छ । डा. श्रीशले जलवायु परिवर्तनका कारण मौसमा आएको परिर्वतनले मानिसमा बढ्ने तनाव, थकान र जीवनशैलीमा आउने परिवर्तनले यौन स्वास्थ्य र प्रजनन क्षमतामा असर पारिरहेको बताउनु भयो । जलवायुजन्य विपद्को समयमा प्रभावितले समयमै स्वास्थ्य उपचार गराउन नपाउने व्यवहारिक कठिनाईका कारण समेत प्रजनन स्वास्थ्यमा गम्भीर समस्या देखिने गरेको उहाँको भनाइ छ । डा. श्रीशकाअनुसार वातावरणीय असन्तुलनको कारण बढ्दो तापक्रम, वायु प्रदुषण, रासायनिक पदार्थको प्रभाव तथा प्लास्टिकजन्य सामग्रीको प्रयोगले महिला र पुरुष दुवैको प्रजनन स्वास्थ्यमा गम्भीर असर पुरयाइरहेको छ । महिलामा महिनावारीमा अनियमितता र छिटो मेनोपज हुने समस्या देखिने गरेको तथा पुरुषमा शुक्राणुको गुणस्तर र संख्यामा कमी तथा डीएनए क्षति हुनसक्ने जोखिम बढाएको बताउनु भयो । विश्व तथ्यांकअनुसार, प्रत्येक ६ दम्पतीमध्ये १ दम्पती निःसन्तानपनको समस्याबाट प्रभावित हुने गरेका छन् । नेपालमा यसबारे अध्ययन नभएपनि सोही अनुपातमा समस्या रहेको डा. श्रीशले बताउनु भयो ।
डा. श्रीशले निःसन्तानको समस्याले दीर्घकालिन रुपमा सिंगो देश र विश्वलाई नै प्रभाव पार्ने भएकाले व्यक्तिको स्वास्थ्य समस्याको रुपमा नभई पब्लिक हेल्थको रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘निःसन्तानपनलाई खाली व्यक्तिको समस्या नभएर पब्लिक हेल्थको इस्यूको रुपमा लिनुपर्ने देखिइरहेको छ, लिनुपर्छ । निःसन्तानपनलाई पब्लिक हेल्थमा राख्नुपर्ने विषयमा अहिले संसारभरी बहस पनि भइरहेको छ । किनकी यसको प्रिभेलेन्स इन्सिडेन्स बढेर गइरहेको छ । अर्को, कुरा पर्यावरणीय परिवर्तन र जलवायु परिवर्तनको कारणले पनि धेरै प्रभाव परिरहेको छ । यसले महिला र पुरुषका साथै सबै उमेर समूहका नागरिकलाई समस्या गर्छ । भर्खरै यो विषयमा चाइनामा रिसर्च भएको छ ।
त्यो अध्ययनले प्रजनन स्वास्थ्य र निःसन्तानपनका जतिपनि केसहरु छन् त्यसमध्ये २० प्रतिशत मान्छेहरुमा जलवायु परिवर्तनको प्रभाव पारेको देखाएको छ । यसको विषयमा नेपालमा भने अहिलेसम्म अध्ययन भएको छैन । विश्वव्यापी रुपमा यस विषयमा अध्ययन अनुसन्धानहरु भइरहेका छन् ।
युरोपमा निःसन्तानसम्बन्धी एउटा ठूलो कन्फरेन्स हुन्छ त्यसमा ठूलो बहस पनि थियो ।
उक्त बहसमा पर्यावरणीय अवस्था जलवायु परिपवर्तको कारण निःसन्तानपनका घटनाहरु बढिरहेको छ । यसको समाधानका लागि के गर्ने, के नगर्ने भन्ने विषयमा हरेक वर्ष त्यहाँ बहस हुने गरेको छ ।
त्यसमा जलवायु परिवर्तनले मुख्य प्रभाव पारेको नै देखाइरहेको छ । जलवायु परिवर्तनले प्रजनन स्वास्थ्यमा कसरी प्रभाव पारिहरेको छ भन्दा पहिलो कुरा त मान्छेको व्यवहारमा भइरहेको छ । अर्को कुरा शारीरिक रुपमा पनि प्रभाव पारिहरको छ । व्यवहारिक प्रभावमा जलवायु परिवर्तनको कारण तापक्रममा वृद्धि हुँदा आलस्य हुने, अल्छी लाग्ने, तनाव धेरै हुने हुन्छ ।
यसले शरिरमा आवश्यक हर्मोनहरु र मान्छेको इच्छाशक्ति पनि कमजोर हुँदै जाने हुन्छ । बच्चाको लागि नियमित रुपमा सेक्सुअल इन्टरकोर्स गर्नु नै भन्छन् । मान्छेमा यौन इच्छाशक्ति घटेर जाँदा पनि निःसन्तापन समस्या देखिने गरेको छ । अर्को कुरा, जलवायु परिवर्तनको कारणले बाढीपहिरो आउला, हिट वेभहरु होला । विपद्को समयमा आवश्यक स्वास्थ्य उपचारमा ढिलाई ढिलाई हुने गर्दछ । निःसन्तानपन बढ्नुको यो चाहीँ जलवायु परिवर्तनको व्यवहारिक असरहरु भए ।
त्यसैगरी शारीरिक रुपमा बढ्दो तापक्रम, केमिकलहरु, वायु प्रदुषण एअर क्वालिटीभन्दा माथि पुग्दा, खानेकुरामा, प्लापस्टिकका बोतलहरुको प्रयोगको कारणले समेत पुरुष र महिला दुवै जनाको प्रजनन स्वास्थ्यमा असर पुर्याइरहेको हुन्छ । यसले गर्दा महिलाहरुमा चाँडो मेनोपज हुने तथा अनियमित महिनावारी हुने समस्याहरु देखिन्छन् । जसले गर्दा निश्चय पनि प्रजनन् स्वास्थ्यमा असर पुरयाउँँछ नै । पुरुषहरुमा पनि समेत प्रजनन कोषहरु घट्दै जाने, डिएनएमा असर गर्ने गरेको कारण पुरुषहरुमा समेत निःसन्तानको समस्या हुनसक्छ । अहिले युरोप, अमेरिकाका साथै विश्वका विभिन्न क्षेत्रमा भइरहेका अनुसन्धानले देखाएको मुख्य कारण भनेको पर्यावरणीय असन्तुलन (जलवायु परिवर्तन) नै हो ।
इन्भाइरोमेन्टल फ्याक्टर भनेको वायु प्रदुषण पनि भइहाल्यो, जीवनशैली, दैनिक प्रयोग गर्ने समानको कारण नै हो । अर्को कुरा कारण नै थाहा नभईकन मान्छेमा निःसन्तानपन देखिने, भएपनि बारम्बार गर्व खेर जाने समस्याहरु पनि देखिइरहेको छ । विश्वव्यापी रुपमा नै निः सन्तापनको समस्या बढ्दै गइरहेको छ । नेपालको सन्दर्भमा पनि बढी नै रहेको छ । हरेक ६ जनामा १ जना निःसन्तानपनले ग्रसित हुनुहुन्छ । यो विश्वव्यापी अनुपात हो । नेपालमा पनि लगभग त्यही अनुपातमा यो समस्या देखिन थालेको छ ।’
जलवायु परिजवर्तनले महिला र पुरुषको प्रजनन स्वास्थ्यमा कस्तो असर पार्छ ?
डा. श्रीशले निःसन्तानको समस्या महिला र पुरुष दुवैमा बराबर हुने बताउनुहुन्छ । नेपाली समाजमा कुनै दम्पतीमा निःसन्तापन देखिएमा महिलालाई मात्र दोष दिने प्रवृत्ति रहेको भएपनि समस्या पुरुषमा पनि समान रहेको बताउनु भयो । महिलाहरूमा वातावरणीय जोखिमको कारण अण्डाणुको गुणस्तर कमजोर हुँदै जाने तथा प्रजनन क्षमतामा समेत ह्रास आउने गर्दछ ।
उहाँले वायु प्रदुषण र प्लास्टिकजन्य वस्तुको अधिकतम प्रयोगको कारण समेत दम्पतीहरूमा उपचारको नतिजामा प्रभाव पर्ने गरेको देखिएको बताउनु भयो । जलवायुजन्य प्रभावका कारण बदलिएको मौसमी चक्र, प्रदुषण, तापक्रम लगायतले शुक्रकीटको संख्या घटाउने तथा शुक्रकीटको गतिशीलतामा कमी ल्याउने समस्या देखिएको डा. श्रीशले बताउनु भयो ।
उहाँले विश्वभर पुरुषहरूमा शुक्रकीटको संख्या क्रमशः घटिरहेको र यसो हुनुको मुख्य कारणका रुपमा जलवायु परिवर्तनलाई हेरिएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।
हाम्रो समाजमा निःसन्तापन महिलाको कारण मात्र हुन्छ भन्ने भाष्य बनाएर ट्याग लगाइदिने भएर मात्र हो । तर विश्वव्यापी अनुसन्धान र अध्ययनले भने निःसन्तानपन हुनुमा महिला र पुरुष दुवैमा उत्तिकै समस्या भएको कारण हुने गरेको छ । अहिले महिला र पुरुषको कारणले भन्दा पनि अज्ञात कारणले पनि निःसन्तानपनको समस्या बढिरहेको हुन्छ ।’
‘जलवायु परिवर्तन र प्रजनन स्वास्थ्यको विषयमा एकीकृत अध्ययन आवश्यक’
डा. श्रीशले निःसन्तानपनको समस्यालाई व्यक्तिको समस्याको रुपमा मात्र सार्वजनिक स्वास्थ्यको रुपमा हेर्नुपर्नेमा जोड दिनुभयो । त्यसैले नेपाल सरकारले पनि पर्यावरणीय असन्तुलन र प्रजनन स्वास्थ्य बारे एकीकृत अध्ययन गर्न आवश्यक रहेको तर्क डा. श्रीशले गर्नुभयो । उहाँले सरकारले जलवायु परिवर्तनका कारण प्रजनन स्वास्थ्यमा परेको असर बारे अध्ययन गरी सरोकारवाला निकायसँगको समन्वय र सहकार्यमा आवश्यक नीति निर्माण गर्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जलवायु परिवर्तनको विषयलाई केबल वातावरण संरक्षण, सरसफाई र वृक्षारोपण गर्ने मात्रै नभई त्यसले प्रजनन स्वास्थ्यमा पार्ने असरका विषयलाई पनि एकीकृत रुपमा हेर्नुपर्ने देखिएको छ । किनभने महिला स्वस्थ भयो र प्रजनन क्षमता बलियो भने बच्चा स्वस्थ हुन्छ । स्वस्थ बच्चा जन्मेपछि हाम्रो भविष्य पनि राम्रो हुन्छ । हाम्रा हरेक क्रियाकलाप जलवायु परिवर्तनसँग सम्बन्धित छ र यसले कहीँ न कहीँ हाम्रो प्रजनन स्वास्थ्यमा असर गरिरहेको छ । स्वस्थ आमा, स्वस्थ बच्चा र स्वस्थ भविष्यमा हामी सबैले ध्यान दिन जरुरी रहेको छ ।
किनभने आमा स्वस्थ भयो भने मात्रै बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ हुन्छ र बच्चा स्वस्थ भयो भने मात्रै हाम्रो भविष्य पनि स्वस्थ हुन्छ । त्यसैले जलवायु परिवर्तनको कारण प्रजनन स्वास्थ्यमा देखिने समस्याको बारेमा सरकार र सम्बन्धित निकाय मिलेर अध्ययन–अनुसन्धान गर्न जरुरी छ ।’
उहाँले जलवायु परिवर्तनको असर मानिसको प्रजनन स्वास्थ्यमा पर्न नदिन पर्यावरणमैत्री जीवनशैलीको अभियानको थालनी गर्नुपर्नेमा जोड दिनुभयो ।
–न्युज एजेन्सी नेपाल
६. कोलकातामा नाट्टा गण्डकीको पर्यटन प्रवद्र्धनः पोखरा र पश्चिम बंगालबीच सहकार्यको नयाँ आधार
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकी प्रदेशको आयोजनामा भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रवद्र्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी (बिसनेस टु बिसनेस) नेटवर्किङ कार्यक्रम सम्पन्न भएको छ । रोल
कार्यक्रमले पर्यटकीय नगरी पोखरा र भारतको कोलकाताबीच पर्यटन सहकार्यको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ ।
हालैका वर्षहरूमा भारतीय पर्यटकको प्रमुख रोजाइमा पोखरा पर्न थालेपछि नाट्टा गण्डकीले ‘गर्मीमे चलो पोखरा’ भन्ने मूल नाराका साथ प्रवद्र्धनात्मक अभियान शुरु गरेको हो । कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पोखरालाई दक्षिण एशियाकै उत्कृष्ट गन्तव्यका रूपमा चित्रण गर्दै आगामी दिनमा थप पर्यटक पठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोलकातास्थित नेपाली महावाणिज्यदुत झक्कप्रसाद आचार्यले पर्यटन केवल भ्रमणको माध्यम मात्र नभई नेपाल र भारतबीचको मित्रता, संस्कृति र आर्थिक समृद्धिको बलियो सेतु भएको बताउनु भयो ।
नेपाल र पश्चिम बंगालबीचको भौगोलिक निकटता तथा सांस्कृतिक समानताले पर्यटन विस्तारमा सहजता थपेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमले जनस्तरको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । नाट्टा गण्डकीका अध्यक्ष किशोर दाहालले भारतीय व्यवसायीहरूमा पोखरा र गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यहरूप्रति उत्साहजनक चासो देखिएको बताउनु भयो । कार्यक्रम संयोजक संगीता पौडेलले कोलकाता र समग्र पश्चिम बंगाल नेपालका लागि उच्च सम्भावनायुक्त बजार रहेको औंल्याउँदै प्रत्यक्ष संवादले व्यावसायिक सहकार्यमा मद्दत पुग्ने धारणा राख्नुभयो ।
पोखरा पर्यटन परिषद्का निःवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा र कोलकाताबीच सिधा हवाई उडान सञ्चालन गर्नसके दुवै शहरले आर्थिक र पर्यटकीय लाभ लिन सक्ने बताउनु भयो । यस्तै, नाट्टा गण्डकीका द्वितीय उपाध्यक्ष राजेश पहारीले नेपाल–भारत सडक सञ्जालमा भएको सुधारका कारण भारतीय पर्यटकहरू निजी सवारीसाधन वा भाडाका गाडीमार्फत सहजै पोखरा पुग्नसक्ने अवस्था सिर्जना भएको जानकारी दिनुभयो ।
ईटीएए इस्टर्न च्याप्टरका अध्यक्ष कौशिक बनर्जीले नेपाल र भारतबीचको खुला सीमा र सांस्कृतिक समानता पर्यटन विकासका लागि ठूलो अवसर भएको बताउनुभयो । कार्यक्रममा टूर अपरेटर्स वेलफेयर एशोसिएशन, इण्डियन एशोसिएशन अफ टुर अपरेटर्स र ट्राभल एजेन्ट्स एशोसिएशन अफ बंगाल लगायतका विभिन्न संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागी व्यवसायीहरूले पोखरा, मुक्तिनाथ, लुम्बिनी, चितवन र अन्नपूर्ण क्षेत्रलाई समेटेर संयुक्त पर्यटन प्याकेज निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । पोखरा र कोलकाताबीच सिधा हवाई सम्पर्क स्थापित भएमा पश्चिम बंगाल, बिहार र झारखण्ड क्षेत्रबाट पर्यटक आगमनमा उल्लेख्य वृद्धि हुने नाट्टा गण्डकीका महासचिव चेतन कार्कीले जानकारी दिनुभयो ।
प्रत्यक्ष संवाद र व्यावसायिक साझेदारीका माध्यमबाट भारतीय पर्यटकलाई पोखरातर्फ आकर्षित गर्न यो कार्यक्रम कोशेढुङ्गा सावित हुने पर्यटन व्यवसायीहरूको निष्कर्ष छ –न्युज एजेन्सी नेपाल
७. कुलेश्वरका बाकसभित्र पाक्दै राजधानीको स्वाद
गर्मी मौसम बढेसँगै संघीय राजधानी काठमाडौंको मुख्य फलफूल थोक केन्द्र ‘कुलेश्वर बजार’ क्षेत्रमा मौसमी फलहरूको बजार निकै तातेको छ । विशेष गरी ग्रीष्मकालीन फलहरूको राजा मानिने आँप र रसिलो रातो लिची यतिबेला कुलेश्वरका सडक पेटी, भण्डारण गृह र थोक पसलहरूमा प्रचुर मात्रामा सजाइएको देख्न सकिन्छ । बिहानैदेखि देशका विभिन्न भाग र छिमेकी क्षेत्रबाट आइपुग्ने मालवाहक गाडीहरूले यहाँको बजारलाई थप चलायमान बनाएका छन् । सिराहा, सप्तरी, सर्लाही तथा मोरङका बगैँचाहरूबाट टिपिएका आँपलाई काठका बलिया बाकस (क्रेट्स) मा पत्रिकाको ओछ्यान लगाएर निकै जतनका साथ पकाउने र प्याकिङ गर्ने कार्यमा स्थानीय मजदुरहरू चौबीसै घण्टा व्यस्त छन् । कुलेश्वरको एक भण्डार गृहमा भेटिएका युवा कामदारहरू काठका बाकसभित्र अखबार बेरेर आँप मिलाउँदै फलामे तारले बाकस कस्न व्यस्त देखिन्थे । कामदारकाअनुसार कच्चा रूपमा टिपिने आँपहरू ढुवानीको समयमा बाकसकै ताप र अखबारको ओसले गर्दा काठमाडौं आइपुग्दासम्म प्राकृतिक रूपमा पाकेर खानयोग्य र पहेँलो बन्न थाल्छन् । थोक विक्रेताहरूले आँपसँगै ताजा लिची पनि आकर्षक क्रेटहरूमा सजाएर विक्री गरिरहेका छन् । उपभोक्ताहरू टाढा–टाढादेखि मोटरसाइकल तथा स्कुटर लिएर सिधै कुलेश्वर पुगी काँचो र पाकेका आँपका क्रेट तथा बाकसै खरिद गरेर घर लैजाने गरेका छन् । तातो हावासँगै आँप र शीतल प्रदान गर्ने लिचीको माग ह्वात्तै बढेकाले यस वर्ष कारोबार उल्लेख्य हुने व्यापारीहरूको विश्वास छ । यस मौसमी बजारले स्थानीय लाखौँ युवा र किशोरलाई छोटो अवधिको लागि उत्साहजनक रोजगारी समेत प्रदान गरेको छ । कुलेश्वरको गल्लीमा हाँस्दै र ठट्टा गर्दै आँप मिलाइरहेका किशोरहरूको अनुहारको मुस्कानले बजारको व्यस्तताभित्र एउटा सुन्दर मानवीय कथा थपेको छ ।
–न्युज एजेन्सी नेपाल
८. काँग्रेस युवा नेताको आरोपः ‘काँग्रेसको नेतृत्व नपाएको भए गगनले रास्वपाको नेतृत्व गर्ने थिए’
नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेताहरूले पार्टी नेतृत्वको कार्यशैली, नैतिकता र आन्तरिक लोकतन्त्रको अवस्थाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । र
उनीहरूले ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणाले पार्टीलाई कमजोर बनाएको र नयाँ राजनीतिक शक्तिहरूको उदयमा सहयोग पुगेको आरोप लगाएका छन् । विशेष महाधिवेशन र भ्रातृ संस्थाका नियुक्तिहरूलाई ‘अपारदर्शी र स्वेच्छाचारी’ भन्दै युवा नेताहरूले ती निर्णयहरू तत्काल सच्याउन माग गरेका छन् । पार्टीको ऐतिहासिक विरासत र अग्रजहरूको योगदानलाई उपेक्षा गरी वाह्य शक्तिको प्रभावमा नेतृत्व चलेको भन्दै उनीहरूले चरणवद्ध आन्दोलनको चेतावनी समेत दिएका छन् । डिजिटल सदस्यता वितरणमा देखिएको अपारदर्शिता र नेतृत्वको ‘नाटकीय’ राजीनामा प्रकरणले राजनीतिक संस्कारको उपहास गरेको उनीहरूको सामूहिक ठहर छ ।
नेपाली काँग्रेसका संस्थापन इतर पक्षधर युवा नेता धर्मराज शाहीले पार्टीको आन्तरिक कार्यशैली र नेतृत्वको नैतिकतामाथि प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गर्नुभयो । नेता शाहीले सभापति गगनकुमार थापाको सचिवालय र उहाँले अघि सारेका अवधारणाप्रति टिप्पणी गर्नुभएको हो । नेता शाहीले काँग्रेसभित्र लोकतान्त्रिक चरित्र र शुद्धीकरणलाई पाखा लगाएर ‘प्रोजेक्ट गभर्मेन्ट’का नाममा राजनीतिक नाटक मञ्चन गरिएको आरोप लगाउनु भयो । उहाँले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय हुनुमा काँग्रेसभित्रको यही ‘प्रोजेक्ट गभर्मेन्ट’ टोली जिम्मेवार रहेको दाबी गर्नुभयो । शाहीकाअनुसार यदि उक्त टोलीले काँग्रेसभित्र अवसर नपाएको भए उनीहरूले नै रास्वपाको नेतृत्व गर्ने निश्चित प्रायः थियो । नेतृत्वमाथि वैदेशिक हस्तक्षेपको आरोप लगाउँदै शाहीले खुफिया एजेन्सी र वाह्य शक्तिको डिजाइनमा काँग्रेसलाई कमजोर बनाउने खेल भइरहेको बताउनु भयो । विशेष महाधिवेशनका नाममा पार्टीलाई निश्चित समूहको खल्तीमा हाल्ने प्रयत्न गरिएको तर जनतालाई यसरी भ्रममा सधैँ पार्न सम्भव नरहेको उहाँको भनाइ छ । उहाँले पार्टीको इतिहासमै वर्तमान अवस्था निकै दयनीय बनेको टिप्पणी समेत गर्नुभयो ।
निर्वाचनपछि पार्टीभित्र सभापति थापाले दिनुभएको राजीनामा प्रकरणलाई शाहीले लज्जास्पद नाटकको संज्ञा दिनुभयो । सभापतिले राजीनामा दिएको अभिनय गर्ने र केन्द्रिय समितिबाट त्यसलाई नाटकीय रूपमा अस्वीकृत गराउने प्रक्रियाले राजनीतिक संस्कारको उपहास गरेको उहाँको तर्क छ । उहाँले नेतृत्वलाई राजनीतिक चेतना र नैतिकताको कसीमा उभिन आग्रह गर्दै पार्टीको साख जोगाउन गम्भीर हुन ध्यानाकर्षण गराउनु भयो ।
उहाँले भन्नुभयो, ‘आदरणीय सभापति ज्यू,नेपाली काँग्रेसभित्रको लोकतान्त्रिक अभ्यास र पार्टी सुदृढीकरणलाई प्राथमिकता दिनुपर्ने समयमा ‘प्रोजेक्ट गभर्मेन्ट’ जस्ता अवधारणालाई अघि बढाइयो । त्यसले पार्टीभित्र भ्रम सिर्जना गर्नुका साथै अन्ततः नयाँ राजनीतिक शक्तिहरू उदाउने वातावरण पनि बनायो । आजको राजनीतिक अवस्थालाई हेर्दा त्यसका केही परिणामहरू स्पष्ट रूपमा देखिएका छन् । काँग्रेसलाई वाह्य प्रभाव वा सीमित समूहको स्वार्थअनुसार सञ्चालन गर्ने प्रयास सफल हुन सक्दैन, किनकि कांग्रेस केवल एउटा संगठन होइन, जनतासँग जोडिएको ऐतिहासिक राजनीतिक आन्दोलन हो । काँग्रेसलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः जनविश्वास कमजोर बनाउने प्रयास पनि हो । सबैभन्दा चिन्ताको विषय भनेको राजनीतिक नैतिकता र जवाफदेहिताको प्रश्न हो। नेतृत्वले आफ्नो निर्णय र परिणामको नैतिक जिम्मेवारी लिन सक्नुपर्छ । राजीनामा दिने र फेरि नाटकीय रूपमा फिर्ता लिने अभ्यासले नेतृत्वको विश्वसनीयता बढाउँदैन, बरु प्रश्नहरू जन्माउँछ । म स्वयं पनि यही काँग्रेसको राजनीतिक विद्यालयबाट आएको व्यक्ति हुँ । राजनीतिक जीवनमा पद र अवसरभन्दा नैतिकता, इमानदारी र सिद्धान्त ठूलो कुरा हुन् भन्ने मेरो विश्वास छ । राजनीतिक रूपमा हार स्वीकार्न सकिन्छ, तर नैतिक रूपमा पतन स्वीकार्न सकिँदैन । त्यसैले नेतृत्वले आत्मसमीक्षा गर्दै कांग्रेसको गौरव, लोकतान्त्रिक चरित्र र नैतिक आधारलाई बलियो बनाउने दिशामा अघि बढ्नुपर्छ ।’
अर्का युवा नेता भूपेन्द्रजंग शाहीले हालै सम्पन्न विशेष महाधिवेशनलाई ‘फर्जी’ संज्ञा दिँदै त्यसबाट गठित केन्द्रिय समिति तत्काल खारेज गर्न माग गर्नुभयो । भृकुटीमण्डपमा मेला हेर्न आएका व्यक्तिहरूलाई सहभागी गराएर महाधिवेशनको नाटक गरिएको आरोप लगाउँदै उहाँले पार्टी एकताका लागि उक्त समिति विघटन हुनुपर्नेमा जोड दिनुभयो । नेता शाहीले पार्टीका विभिन्न भातृ संस्थाहरूमा गरिएका ‘टीके’ नियुक्तिप्रति पनि आपत्ति जनाउनु भयो । नेपाल विद्यार्थी संघ, तरुण दल र महिला संघ जस्ता महत्वपूर्ण संस्थाहरूमा पदाधिकारीहरूको राय सल्लाह नगरी नेतृत्वले एकलौटी ढंगले आफ्ना निकटस्थहरूलाई नियुक्ति गरेको उहाँको दाबी छ ।
उहाँले पार्टीलाई लोकतान्त्रिक पद्धतिअनुसार अगाडि बढाउन र नयाँ ढंगले सञ्चालन गर्न निर्वाचन समितिमार्फत खुला प्रतिष्पर्धा गराउनुपर्ने माग गर्नुभयो । विधानसम्मत निर्वाचन गराई चुनिएर आउने नेतृत्वलाई मात्र स्वीकार गर्न सकिने स्पष्ट पार्दै उहाँले नेतृत्वको स्वेच्छाचारी कदमको विरुद्धमा आफूहरू उभिने चेतावनी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हालै विशेष महाधिवेशनको नाममा आयोजित कार्यक्रमबाट गठन गरिएको केन्द्रिय समितिप्रति हाम्रो गम्भीर असहमति छ । पार्टी एकता र आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउन सबैभन्दा पहिले उक्त केन्द्रीय समितिको पुनरावलोकन वा विघटन आवश्यक छ भन्ने हाम्रो धारणा छ । त्यसैगरी, भ्रातृ संस्थाहरूमा गरिएको मनोनयन प्रक्रियाप्रति पनि प्रश्न उठेका छन् । विगतमा टिके प्रथा र मनोनित समितिको विरोध गर्ने नेतृत्वले आज त्यही अभ्यास दोहोरयाएको देखिन्छ । त्यसैले नेविसंघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाहरूमा गरिएको मनोनयनको पुनर्विचार हुनुपर्छ भन्ने हाम्रो माग छ । यदि पार्टीलाई साँच्चिकै लोकतान्त्रिक ढङ्गले अघि बढाउने हो भने नेतृत्व चयन र संगठन निर्माण खुला तथा प्रतिष्पर्धात्मक निर्वाचन प्रक्रियाबाट हुनुपर्छ। पार्टीले स्वतन्त्र निर्वाचन समिति गठन गरी निष्पक्ष निर्वाचन गराओस् र योग्य तथा सक्षम नेतृत्व लोकतान्त्रिक प्रक्रियामार्फत चयन होस् भन्ने हाम्रो आग्रह छ ।’
युवा नेता खगेन्द्र मल्लले पार्टी निर्माणमा योगदान पुरयाएका अग्रज नेताहरूको सम्मान हुनुपर्नेमा जोड दिँदै हालैका केही गतिविधिप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । संस्थापन इतर पक्षका नेता मल्लले नेपाली काँग्रेसको वर्तमान अस्तित्व र पहिचान पुराना नेताहरूकै त्याग, बलिदान र पसिनाको जगमा उभिएको बताउनु भयो । नेता मल्लले अहिलेका प्रभावशाली नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायतका युवा पुस्ताले पाएको राजनीतिक प्लेटफर्म अग्रजहरूकै देन भएको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस अनुभवी नेताहरूको मार्गदर्शन र युवाहरूको उत्साहको फ्युजनबाट नै एउटा गर्विलो इतिहास निर्माण गर्न सफल भएको मल्लको तर्क छ । पछिल्लो समय पार्टीमा देखिएको क्रियाशील सदस्यता वितरण र नवीकरणको प्रक्रियाप्रति उहाँले गम्भीर आपत्ति जनाउनु भयो । डिजिटलाइजेसनका नाममा वडा कार्यसमिति र स्थानीय तहले नचिनेका व्यक्तिहरूलाई सदस्यता वितरण गरिएको भन्दै उहाँले यसलाई ‘अपारदर्शी’ संज्ञा दिनुभयो ।
नेता मल्लले नेतृत्वलाई सचेत गराउँदै पार्टी केवल मञ्चमा दिइने भाषण र शब्दका भण्डारले मात्र नबनेको स्मरण गराउनु भयो ।
तल्लो तहका संरचना र निष्ठावान कार्यकर्ताको पहिचानलाई बेवास्ता गरिए पार्टीको भविष्य संकटमा पर्ने उहाँको दाबी छ ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताबाट समय–समयमा कमी–कमजोरी भएका होलान् । ती विषयको मूल्यांकन इतिहासले गर्नेछ । तर आजको नेपाली काँग्रेस निर्माणमा योगदान पुरयाएका अग्रज नेताहरूको भुमिका, बलिदान र समर्पणलाई कहिल्यै पनि सामान्य रूपमा लिन मिल्दैन । उहाँहरूको त्याग, संघर्ष र पसिनाले निर्माण गरेको राजनीतिक आधार नभएको भए आज हामीमध्ये धेरैजना काँग्रेसको नेतृत्व तहसम्म पुग्ने अवसर पाउने थिएनौँ । त्यसैले नयाँ पुस्ताको नाममा पुराना, अनुभवी र योगदान गरेका नेताहरूलाई अपमान गर्ने वा विस्थापित गर्ने सोच स्वीकार्य हुन सक्दैन। नेपाली काँग्रेसको शक्ति भनेको अनुभवी नेताहरूको अनुभव र युवाहरूको जोसको समन्वय हो । यही संयोजनले पार्टीलाई यहाँसम्म ल्याएको हो । त्यसैले पुस्तान्तरणको नाममा योगदान गरेका कार्यकर्तालाई पाखा लगाउने होइन, सम्मानपूर्वक समेट्ने संस्कार आवश्यक छ ।
क्रियाशील सदस्यता नवीकरण र डिजिटल प्रणालीको कार्यान्वयनका क्रममा पनि पार्टीको आधारभूत संरचनाको सम्मान हुनुपर्छ । वडा, पालिका, जिल्ला र प्रदेश तहका संगठनले नचिनेका व्यक्तिहरूलाई मात्र प्राथमिकता दिँदै वर्षौँदेखि योगदान गरेका कार्यकर्तालाई उपेक्षा गरियो भने त्यसले पार्टीलाई बलियो बनाउँदैन । हामी सचेत गराउन चाहन्छौँ कि नेपाली काँग्रेस केवल भाषण, नाराबाजी वा नयाँ अनुहारले मात्र बनेको पार्टी होइन । यो हजारौँ नेता–कार्यकर्ताको त्याग, संघर्ष र बलिदानले निर्माण भएको ऐतिहासिक संस्था हो। त्यसैले पार्टी रूपान्तरणको नाममा यसको मूल आधार र मूल्यलाई कमजोर पार्नु हुँदैन ।’
युवा नेतृ सिर्जना मल्लले पार्टी नेतृत्वको कार्यशैलीप्रति आपत्ति जनाउँदै आन्दोलनको चेतावनी दिनुभयो । संस्थापन इतर पक्षधर नेतृ मल्लले पार्टीभित्र स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हावी हुँदै गएको भन्दै यस्तो शैली नरोकिए युवा, विद्यार्थी र महिलाहरू चुप लागेर नबस्ने स्पष्ट पार्नुभयो । नेतृ मल्लले नेतृत्वले आफ्नो एकहोरोपन र एकाधिकारवादी चरित्र पार्टीमा लादिरहेको आरोप लगाउँदै त्यसका विरुद्ध युवा जमात चरणवद्ध आन्दोलनका लागि तयार भइसकेको उल्लेख गर्नुभयो ।
मल्लले नेपाली काँग्रेसमाथि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरू हावी भइरहेको दाबी समेत गर्नुभयो । उहाँले पार्टीका सभापति थापामाथि वाह्य शक्तिको ठूलो दबाब र थ्रेट रहेको उल्लेख गर्दै थापा यतिबेला कठिन परिस्थितिमा रहेको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यदि पार्टीभित्र एकपक्षीय निर्णय र तानाशाही प्रवृत्ति निरन्तर अघि बढाइयो भने त्यसको विरोध स्वाभाविक रूपमा बढ्नेछ । आजका युवा, विद्यार्थी र महिलाहरू अब चुप लागेर बस्ने अवस्थामा छैनन् । पार्टीभित्र लोकतन्त्र, पारदर्शिता र सहभागिताको पक्षमा आवाज उठाउन तथा आवश्यक परे चरणवद्ध आन्दोलन गर्न पनि नयाँ पुस्ता तयार छ । नेपाली काँग्रेस आज विभिन्न चुनौतीहरूको सामना गरिरहेको छ । यस्तो अवस्थामा नेतृत्वले विभाजन होइन, एकता र समन्वयको बाटो रोज्नुपर्छ । पार्टीलाई बलियो बनाउने जिम्मेवारी नेतृत्वकै काँधमा छ । म विश्वास गर्छु कि नेतृत्वले कुनै दबाब, प्रभाव वा स्वार्थभन्दा माथि उठेर पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र आम समर्थकलाई एकतावद्ध गर्नुपर्छ । नेपाली काँग्रेसको शक्ति यसको संगठन, इतिहास र कार्यकर्ताको विश्वासमा निहित छ । यदि नेतृत्वले सबैलाई आत्मसात गर्दै लोकतान्त्रिक र एकतावद्ध ढङ्गले अघि बढ्न सक्यो भने पार्टीले आफ्नो गन्तव्य अवश्य प्राप्त गर्नेछ ।’
सिर्जना मल्ल, युवा नेतृ, नेपाली काँग्रेस
सभापतिलाई लक्षित गर्दै उहाँले कुनैपनि शक्ति वा धम्कीको सामु नझुकी पार्टीलाई एकजुट बनाउन आग्रह गर्नुभयो । काँग्रेसलाई एकतावद्ध बनाउनु र राष्ट्रको हितमा बोल्नु नेतृत्वको मुख्य धर्म भएको भन्दै उहाँले कार्यकर्ताको भावनालाई आत्मसात गरेर अगाडि बढ्न सुझाव दिनुभयो । कसैको डर वा प्रभावमा नपरी सबै पक्षलाई मिलाएर अगाडि बढे मात्र पार्टी गन्तव्यमा पुग्नसक्ने उहाँको ठहर छ ।–न्युज एजेन्सी नेपाल
९.‘भारतीय पर्यटकको आगमनले पोखराको पर्यटन क्षेत्र उत्साहित, होटल र पर्यटकीय स्थलहरू भरिभराउ’
भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ ।
लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो । फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन् । तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् ।
त्यस्तै, अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ । पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन् ।
भारतिय पर्यटकको अत्याधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ ।
नेपालमा वर्षातको समय अर्थात ‘अफसिजन’ मानिने मा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा चित्रण गर्नभयो । छिमेकी मुलुक भारतमा बढ्दो गर्मी र त्यहाँ भइरहेको बिदाका कारण अहिले ठूलो संख्यामा भारतीयहरूले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाएका छन् । विशेषगरी धार्मिक आस्थाका कारण मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ ।
‘हिन्दु धर्ममा जन्मिएपछि एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने धार्मिक विश्वास र पछिल्लो समय मिडियाका कारण सिर्जित सकारात्मक सन्देशले पर्यटकको आगमन बढेको हो ।’ अध्यक्ष आचार्यले भन्नुभयो ।
अहिले नेपाल आउने भारतीय पर्यटकहरूमध्ये युवा पुस्ता विशेषगरी शाहसिक पर्यटनतर्फ आकर्षित देखिएका छन् । मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबिसी) र उपल्लो मुस्ताङ जस्ता क्षेत्रमा भारतीय युवाहरूको बाक्लो उपस्थिति रहेको आचार्यले जानकारी दिनुभयो । उहाँकाअनुसार पदमार्गहरूमा पर्यटकको चाप यति धेरै छ कि ‘अफसिजन’ मा पनि बास बस्नका लागि कोठा पाउन समेत कठिन भइरहेको छ । युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटकहरू भने धार्मिक स्थलहरूको भ्रमणमा केन्द्रित छन् ।
पर्यटकको संख्या बढ्नु उत्साहजनक भएपनि उनीहरूको व्यवस्थापनमा देखिएका केही चुनौतीहरूतर्फ पनि आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । विशेषगरी बसमा सामूहिक रूपमा यात्रा गर्ने पर्यटकहरूले सडक किनारमै खाना पकाउने र खानपान गर्ने गर्दा दृश्य छरपस्ट देखिने गरेको उहाँले बताउनु भयो ।
यस प्रकारका पर्यटकहरूलाई व्यवस्थित गर्न प्रमुख पर्यटकीय र धार्मिक मार्गहरूमा विश्राम केन्द्र (सेन्टर) हरू निर्माण गर्नुपर्ने उहाँको सुझाव छ । पर्यटकहरूलाई उचित स्वागत र व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले धार्मिक र साहसिक दुवै प्रकारका पर्यटकलाई आवश्यक न्यूनतम पूर्वाधार र सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुनेमा जोड दिनुभयो ।
‘धार्मिक पर्यटकहरूका लागि ठाउँ–ठाउँमा उचित व्यवस्थापन भएका केन्द्रहरू निर्माण गर्न सके उनीहरूले त्यहीँ खाना पकाउने, नुहाउने र कपडा धुने जस्ता कार्यहरू व्यवस्थित रूपमा गर्न सक्थे ।’ उहाँले भन्नुभयो ।
होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् । नेपाली नयाँ वर्षको आसपासदेखि शुरु भएको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको संघले जनाएको छ । पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ । अध्यक्ष सुवेदीकाअनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुमा प्रवद्र्धन र सामाजिक सञ्जालको प्रभाव रहेको छ । गत वर्षदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार भएकाले भारतीय पर्यटकहरूमा नेपाल भ्रमणको उत्साह बढेको पाइएको छ । भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकहरूले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।
उहाँले भन्नुभयो, ‘मेरो विचारमा मैले पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएँ । यस अवधिमा यति धेरै भारतीय पर्यटक र यति विविध प्रकारका पर्यटकहरू आएको अवस्था सायद पहिलो पटक देखिएको जस्तो लाग्छ । किनभने यस समयमा हाम्रा होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतभन्दा बढी, करिव ९० प्रतिशतको हाराहारीमा रहेको थियो । केही दिनयता केही कमी भए तापनि, बीचको समयमा एक महिनाभन्दा बढी अवधिसम्म भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन रह्यो । हामी नेपाली नयाँ वर्षको समयबाट अहिले जेठ महिनाको अन्तिम चरणसम्म आइपुग्दा, एक महिनाभन्दा बढी समय भारतीय पर्यटकहरू पोखरामा मात्र नभई गण्डकी प्रदेशका विभिन्न स्थानहरू, मुक्तिनाथ लगायतका गन्तव्यहरूमा पुगेका छन् । साथै, पदयात्रामा जाने भारतीय पर्यटकहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ । मैले धेरै भारतीय पर्यटकहरूसँग यो पटक यति धेरै पर्यटक किन आएका हुन् भन्ने विषयमा जिज्ञासा राखेँ । धेरैजसोले गत वर्ष मुक्तिनाथ लगायतका पर्यटकीय स्थलहरूको सामाजिक सञ्जाल–फेसबुक, टिकटक तथा अन्य माध्यमहरूबाट व्यापक प्रवद्र्धन भएको कारण आफूहरू ती स्थानहरू भ्रमण गर्न उत्साहित भएको बताए। साथै, गर्मी छल्न र बिदाको सदुपयोग गर्न नेपाल उपयुक्त गन्तव्य भएकाले यहाँ आएको प्रतिक्रिया पनि प्राप्त भयो ।’
भारत सरकारले विदेशी मुद्रा (डलर) सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुकहरूको भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेकाले पनि पर्यटकको संख्या बढेको विश्लेषण गरिएको छ । भारतको बिहार लगायतका सीमावर्ती राज्यहरूबाट एकै दिनमा नेपाल प्रवेश गर्न सकिने र छोटो अवधिमा धेरै ठाउँ घुम्न सकिने भएकाले भारतीय युवा पुस्ता नेपालप्रति आकर्षित भएको देखिन्छ । विशेषगरी बिहारमा मदिरा निषेध गरिएकाले पनि त्यहाँका युवाहरू मनोरञ्जनका लागि नेपाल आउने गरेको पाइएको छ । भारत सरकारले ज्येष्ठ नागरिकहरूलाई तीर्थाटनका लागि उपलब्ध गराउने विभिन्न सहुलियतका कारण पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको छ । समग्रमा, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सहज यातायातका कारण भारतीय पर्यटकहरूका लागि नेपाल एक पहिलो रोजाइको गन्तव्य बनेको होटल संघ पोखराले जनाएको छ ।
छिमेकी मुलुक भारतमा बढेको अत्यधिक गर्मी छल्न नेपाल आउने पर्यटकका कारण पर्यटकीय नगरी पोखरामा चहलपहल निकै बढेको हो । विशेषगरी फेवातालमा डुङ्गा सयर गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरूले राहत महशुस गरेका छन् । फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीकाअनुसार हाल पोखरामा भारतीय पर्यटकको चाप उच्च रहेको छ । भारतबाट आउने पर्यटकहरू पोखरा भ्रमण, फेवातालमा डुङ्गा सयर र मुक्तिनाथ दर्शनका लागि जाने क्रम बढेको उहाँले जानकारी दिनुभयो । अध्यक्ष गिरीकाअनुसार अहिले फेवातालका आठवटै स्टेशनहरूबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुङ्गा सयर गरिरहेका छन् ।
‘पर्यटकको यो बाक्लो उपस्थितिले डुङ्गा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको छ र यहाँको चहलपहल पनि निकै उत्साहजनक छ ।’ गिरीले भन्नुभयो ।
विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमनमा वृद्धि भएको व्यवसायीहरूको अनुभव छ । भारतका विभिन्न सहरहरूमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेका कारण त्यहाँका नागरिकहरू शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउने गरेका हुन् ।
पोखरा आइपुग्ने पर्यटकहरू यहाँको हिमालका श्रृङ्खला, पहाडी दृश्य र फेवातालको वातावरणबाट निकै प्रभावित हुने गरेको गिरीले बताउनु भयो । भारतको अत्यधिक गर्मीबाट उम्किएर पोखराको शीतल मौसममा रमाउन पाउँदा पर्यटकहरूले खुशी व्यक्त गर्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् । –न्युज एजेन्सी नेपाल
१०. ‘जीवन आफैँमा एक निरन्तर अभ्यास हो’– दयाहाङ राई
साहित्यकार शोभा अधिकारीको ‘सफलताका २७ स्वर्णिम सूत्रहरु’ विमोचन भएको छ
शनिवार अधिकारीद्वारा लिखित सफलताको २७ स्वर्णिम सूत्रहरु लाकार्पण गरिएको हो लोकार्पण समारोहमा बोल्दै अभिनेता दयाहाङ राईले सफलतालाई केवल भौतिक उपलब्धि वा उचाइ हासिल गर्नुसँग मात्र जोड्न नहुने तर्क गर्नुभयो ।
कुनै पुस्तक वा विचारधारामा उल्लेख गरिएका सफलताका सूत्रहरू सबैका लागि समान रूपमा फलदायी नहुने उहाँले उल्लेख गर्नुभयो । मानिस एक सामाजिक प्राणी भएकाले उसको सोच र चिन्तन प्रणालीमा समाजको गहिरो प्रभाव रहने राईको भनाइ छ । आफ्नो अभिनय यात्रा र चरित्र निर्माणको अनुभवलाई जोड्दै राईले स्थान र परिवेशले मानिसको अनुभूतिमा परिवर्तन ल्याउने बताउनु भयो । राईले जीवनलाई बुझ्नका लागि सामाजिक र व्यक्तिगत दुवै दृष्टिकोणको सन्तुलन आवश्यक रहेको कुरामा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अब सफलता के हो भन्ने प्रश्न आउँछ । खुशीलाई सफलता मान्ने कि नमान्ने ? सगरमाथा चढ्नुलाई सफलता मान्ने कि नमान्ने ? पदोन्नति पाउनुलाई सफलता मान्ने कि नमान्ने ? केवल उचाईमा पुग्नुलाई मात्र सफलता मान्ने कि फेरि जमिनमा फर्किएर सामान्य जीवन जिउन सक्नुलाई पनि सफलता मान्ने ?
यस्ता धेरै प्रश्नहरू छन्
त्यसैले मेरो बुझाइमा जीवन आफैँमा एउटा अभ्यास हो । यस पुस्तकमा उल्लेख गरिएका कतिपय सूत्रहरू आफूमाथि लागू हुन्छन् भने कतिपय सूत्रहरू लेखकको आफ्नै सोच र चिन्तनबाट आएका छन्, जुन सबै मानिसमा समान रूपमा लागू नहुन पनि सक्छन् । किनभने मानिस एक्लै हुँदैन, ऊ समाजसँग जोडिएको हुन्छ। समाजको आफ्नै चिन्तन, सोच र विश्वास प्रणाली हुन्छ । जब हामी समाजमा बस्छौँ, त्यसले हाम्रो जीवन हेर्ने दृष्टिकोणलाई पनि प्रभाव पारिरहेको हुन्छ । मैले जीवनलाई कसरी हेर्छु, घामलाई कसरी हेर्छु, पानीलाई कसरी बुझ्छु भन्ने कुरा पनि त्यसैबाट प्रभावित हुन्छ । तर कहिलेकाहीँ म त्यो सामाजिक घेराभन्दा अलि पर गएर, प्राकृतिक दृष्टिकोणबाट पनि संसारलाई हेर्ने प्रयास गर्छु । त्यही घामलाई म फरक तरिकाले अनुभूति गरिरहेको हुनसक्छु । मेरो हेर्ने र सोच्ने तरिका अरूको भन्दा केही फरक हुनसक्छ । अभिनेता भएको नाताले चरित्र निर्माणको प्रक्रियालाई नजिकबाट नियाल्दा मैले एउटा कुरा महसुस गरेको छु—मैले काठमाडौँमा बसेर हेरेको घाम र भोजपुरमा बसेर हेरेको घाम एउटै भए पनि त्यसको अनुभूति फरक हुन सक्छ। स्थान, परिवेश, अनुभव र दृष्टिकोणले हाम्रो अनुभूतिलाई फरक बनाइदिन्छ ।’
लेखिका शोभा अधिकारीले आफ्नो नवीनतम कृति ‘सफलताका २७ स्वर्णिम सूत्र’ मानव जीवनका लागि उपयोगी हुनुका साथै मानसिक एवं भावनात्मक सबलताका लागि महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले यस पुस्तकलाई शब्दहरूको औषधिको संज्ञा दिँदै यसले मानिसलाई चुनौतीहरूको सामना गर्ने शक्ति प्रदान गर्ने बताउनु भयो । अधिकारीकाअनुसार शारीरिक पीडामा औषधिको सेवनले राहत मिलेजस्तै यो पुस्तकले मानसिक तनावबाट मुक्ति र शान्ति प्राप्त गर्न मद्दत पुरयाउँछ ।
सफलता कसरी प्राप्त गर्ने, तनावमुक्त जीवन कसरी बिताउने र उपलब्ध अवसरहरूको उचित सदुपयोग कसरी गर्ने भन्ने विषयमा पुस्तक केन्द्रित रहेको उहाँले स्पष्ट पार्नुभयो । वर्तमान समाजमा बढ्दै गएको विवाहोत्तर सम्बन्ध र त्यसले निम्त्याएको दाम्पत्य जीवनको विखण्डनप्रति चिन्ता व्यक्त गर्दै अधिकारीले यस पुस्तकले सम्बन्धहरूलाई दिगो र सुमधुर बनाउन मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो उहाँले भन्नुभयो, ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ एउटा औषधि हो, शब्दहरूको औषधि हो, र भिटामिन पनि हो । जसरी हामीले शारीरिक पीडा हुँदा औषधि सेवन गर्दा राहत प्राप्त गर्छौं, त्यसरी नै ‘सफलताका २७ स्वर्णिम सूत्रहरू’ ले मानसिक र भावनात्मक रूपमा बल प्रदान गर्नुका साथै जीवनका चुनौतीहरूको सामना गर्न सक्ने शक्ति पनि दिन्छ ।
त्यसैले यो पुस्तक मानव जीवनका लागि अत्यन्त उपयोगी छ । यो पुस्तक पढ्नुभयो भने हामी कसरी सफल हुने, तनावमुक्त जीवन कसरी बिताउने, खुसी, सुखी र शान्तिमय जीवन कसरी प्राप्त गर्ने, अवसरहरूको सदुपयोग कसरी गर्ने तथा सम्बन्धहरूलाई कसरी दिगो बनाउने भन्ने विषयमा महत्वपूर्ण ज्ञान प्राप्त गर्न सकिन्छ
आफ्ना अनुभव, अनुभूति र साधनाको प्रतिफलका रूपमा तयार पारिएको यस कृतिमा आफ्नो क्षमता चिन्न, सकारात्मक सोचको विकास गर्न, आत्मविश्वास बढाउन र दृढ संकल्पका साथ अगाडि बढ्नका लागि विभिन्न सूत्रहरू प्रश्तुत गरिएको छ । अधिकारीले असल समाज निर्माणका लागि व्यक्ति आफैँ असल हुनुपर्नेमा जोड दिँदै यो पुस्तकले पाठकको जीवनमा नयाँ आयाम थप्ने दाबी गर्नुभयो । पुस्तकले निरन्तर परिश्रम र दृढ इच्छाशक्तिमार्फत जीवनलाई कसरी सफल बनाउन सकिन्छ भन्ने कुरालाई मुख्य विषयवस्तु बनाएको छ । –न्युज एजेन्सी नेपाल
११. अफगानिस्तानमा चरम गरिबीका कारण बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य
जुन १२ मा विश्व बालश्रम विरुद्धको दिवस मनाइरहँदा अफगानिस्तानमा भने लाखौँ बालबालिकाहरू चरम गरिबीका कारण विद्यालय छोडेर श्रम बजारमा होमिन बाध्य भएका छन् । देशव्यापी रूपमा व्याप्त आर्थिक संकटले परिवारहरू विस्थापित भएसँगै बालबालिकाहरू इँटाभट्टा, बजार, निर्माण क्षेत्र र विभिन्न कार्यशालाहरूमा कठिन श्रम गरिरहेका छन् । दश वर्षका सुलेमानको कथा पनि अफगानिस्तानका लाखौँ बालबालिकाको जस्तै छ । सफा लुगा लगाएर विद्यालय जाने सपना देख्ने उनी प्रत्येक बिहान इँटाभट्टातर्फ लाग्छन् । आफ्नो अवस्थाबारे सुलेमान भन्छन्, ‘म दैनिक इँटा मिलाउने काम गर्छु र मेरा बिरामी बुबालाई श्रममा सघाउँछु । मलाई विद्यालय गएर पढ्ने ठूलो इच्छा छ, तर परिवारको अवस्थाले गर्दा काम गर्न बाध्य छु ।’
अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध र अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिवन्धका कारण देशको अर्थतन्त्र धराशायी बनेको छ । चरम गरिबी र बेरोजगारीले उग्र रूप लिँदा लाखौँ मानिसहरू घर छोड्न र शिक्षा त्याग्न बाध्य भएका छन् । परिवारको गुजारा चलाउनकै लागि बालबालिकाहरू सडकमा सामान बेच्नेदेखि इँटाभट्टामा पसिना बगाउनेसम्मका जोखिमपूर्ण काममा संलग्न छन् ।
यो निराशाजनक वास्तविकताका बीच पनि कतिपय अभिभावकहरूमा आफ्ना सन्तानले कुनै दिन श्रमको साटो शिक्षा रोज्न पाउने झिनो आशा बाँकी नै छ । एक बालकका पिता जाहिदुल्लाह भन्छन्, ‘मेरो सपना छ कि मेरा छोराछोरी पढेर डाक्टर वा इन्जिनियर बनून् र देशको सेवा गरुन् ।’
यसैबीच, तालिवान प्रशासनको श्रम तथा सामाजिक मामिला मन्त्रालयले जोखिममा रहेका र अनाथ बालबालिकाहरूका लागि देशका ३४ वटै प्रान्तमा तालिम केन्द्रहरू स्थापना गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता समीउल्लाह इब्राहिमीका अनुसार यी केन्द्रहरूमा बालबालिकाको शिक्षाका साथै स्वास्थ्य, खाना, लत्ताकपडा र आवासको समेत व्यवस्था गरिएको छ ।
इब्राहिमीले गत एक वर्षमा मन्त्रालयले करिब १३ हजार ५०० अनाथ र बेसहारा बालबालिकासँग सम्बन्धित समस्याहरूको सम्बोधन गरेको दाबी गरे । यद्यपि, सरकारी प्रयासका बाबजुद अझै पनि ठूलो संख्यामा बालबालिकाहरू यस्तो सहयोगबाट वञ्चित छन् र उनीहरूको जीवन कठिन श्रममै बितिरहेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१२. अमेरिका–इरान शान्ति सम्झौताको अन्तिम मस्यौदामा सहमति जुटेको पाकिस्तानी प्रधानमन्त्रीको दाबी
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच शान्ति सम्झौताको अन्तिम र पारस्परिक रूपमा सहमत मस्यौदा तयार भएको जानकारी दिनुभएको छ । सघन मध्यस्थताका प्रयासहरूपछि दुवै राष्ट्र सम्झौताको अन्तिम बिन्दुमा पुगेको उहाँले बताउनुभएको हो । शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै प्रधानमन्त्री सरिफले अब पाकिस्तानले सम्झौताका आगामी प्रक्रियाहरूलाई पूर्णता दिन दुवै पक्षसँग निकट रहेर काम गरिरहेको उल्लेख गर्नुभयो । अमेरिका र इरानबीचको दीर्घकालीन तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्दै आएको छ । यस पछिल्लो विकासक्रमलाई क्षेत्रीय तथा विश्व शान्तिका लागि एक महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सम्झौताका विस्तृत विवरण र कार्यान्वयनका आगामी चरणहरूबारे थप जानकारी आउन भने बाँकी छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१३. नाइजेरियामा सुरक्षा कारबाही तिब्रः एक वर्षमा १३ हजारभन्दा बढी आतंककारी मारिए
नाइजेरियामा पछिल्लो एक वर्षको अवधिमा सुरक्षा फौजले सञ्चालन गरेको विभिन्न कारबाहीमा परी १३ हजारभन्दा बढी आतंककारी मारिएका छन् । नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले शुक्रवार लोकतन्त्र दिवसको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै विद्रोही र आपराधिक समूहहरू विरुद्धको कारबाहीलाई तिब्रता दिइएको जानकारी दिनुभएको हो । राष्ट्रपति टिनुबुका अनुसार नाइजेरियाली सुरक्षा फौजले प्रतिआतंकवाद अभियानलाई थप प्रभावकारी बनाउनुका साथै अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई समेत विस्तार गरेको छ । यसै क्रममा उत्तरपूर्वी राज्य बोर्नोमा गरिएको पछिल्लो सैन्य कारबाहीमा इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्सको कमाण्ड सेन्टर पूर्ण रूपमा ध्वस्त पारिएको उहाँले बताउनु भयो ।
आतंकवाद विरुद्धको सरकारी प्रयासमा ठूलो सफलता मिलेको दाबी गर्दै राष्ट्रपति टिनुबुले सन् २०१५ यता आतंकवादसँग सम्बन्धित मृत्युको दरमा ८१ प्रतिशतले कमी आएको उल्लेख गर्नुभयो । उहाँकाअनुसार सन् २०२३ यता सरकारद्वारा सञ्चालित ’अपरेशन सेफ करिडोर’ कार्यक्रम अन्तर्गत १२४,००० भन्दा बढी सशस्त्र विद्रोही र उनीहरूका परिवारले आत्मसमर्पण गरिसकेका छन् ।
सरकारले सुरक्षा चुनौती समाधानका लागि सैन्य कारबाहीका अतिरिक्त गैर–सैन्य उपायहरू समेत अवलम्बन गर्ने प्रतिवद्धता दोहोरयाएको छ । मुलुकमा बढ्दै गएको आतंकवादी आक्रमण र अपहरणका घटनालाई मध्यनजर गर्दै राष्ट्रपति टिनुबुले राष्ट्रिय सुरक्षा संकट घोषणा गरी थप सुरक्षाकर्मी भर्ना गर्ने र सुरक्षा अभियानलाई सुदृढ बनाउने कार्यलाई प्राथमिकतामा राखेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१४. मध्यपूर्वमा जारी तनावका बीच टर्कीको केन्द्रिय बैंकद्वारा नीतिगत ब्याजदर ३७ प्रतिशतमा यथावत
मध्यपूर्वमा जारी तनावका कारण मुद्रास्फीतिमा चाप परेपछि टर्कीको केन्द्रिय बैंकले आफ्नो प्रमुख नीतिगत ब्याजदरलाई ३७ प्रतिशतमा यथावत राखेको छ । बैंकले सावधानी अपनाउँदै लगातार तेस्रो महिना ब्याजदरमा कुनै परिवर्तन नगर्ने निर्णय गरेको हो । मौद्रिक नीति समितिको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘भू–राजनीतिक विकासक्रम र त्यसबाट सिर्जित अनिश्चितताका कारण ऊर्जाको मूल्य अस्थिर र उच्च रहेको छ ।’
टर्कीमा वार्षिक मुद्रास्फीति दर मे महिनामा ३२.६ प्रतिशत पुगेको छ, जुन अघिल्लो महिना ३२.४ प्रतिशत थियो । मुख्यतया ऊर्जाको मूल्यमा भएको भारी वृद्धिका कारण यो सात महिनायताकै उच्च विन्दु हो ।
यसअघि मार्च महिनामा केन्द्रीय बैंकले ब्याजदर घटाउने प्रक्रियालाई स्थगन गरेको थियो । इरानसँग सम्बन्धित तनावका कारण बजारमा आउन सक्ने उतारचढावले मुद्रास्फीति अझै बढाउन सक्ने बैंकको चेतावनी थियो ।
बाह्य जोखिम र मूल्य वृद्धिको निरन्तर दबाबलाई मध्यनजर गर्दै बैंकले सन् २०२६ का लागि मुद्रास्फीति प्रक्षेपण समेत परिमार्जन गरेको छ। यसअघि १६ प्रतिशत रहने अनुमान गरिएकोमा अहिले यसलाई बढाएर २४ प्रतिशत पुरयाइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१५. राज्यद्रोहको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई ३० वर्षको जेल सजाय
दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक–योललाई राज्यद्रोहको अभियोगमा ३० वर्षको जेल सजाय सुनाएको छ । उत्तर कोरिया (डीपीआरके) मा ड्रोन घुसपैठ गराएर देशको सैन्य हितविपरीत कार्य गरेको ठहर गर्दै सियोल केन्द्रीय जिल्ला अदालतले शुक्रबार उक्त फैसला सुनाएको हो । अदालतले युनलाई साधारण राज्यद्रोहको कसुरमा दोषी ठहर गरेको छ, जुन दक्षिण कोरियाको सैन्य स्वार्थमा हानि पु¥याउने वा शत्रु पक्षलाई फाइदा पुरÞ्याउने अपराधसँग सम्बन्धित छ । फैसलामा भनिएको छ कि उक्त ड्रोन घुसपैठ राष्ट्रिय सुरक्षा वा प्रतिरक्षाका लागि नभई निजी स्वार्थका लागि गरिएको थियो, जसले देशको सैन्य हितमा ठूलो क्षति पु¥याएको छ ।
स्वतन्त्र काउन्सिलको अनुसन्धान टोलीले युन विरुद्ध ३० वर्षको कारागार सजाय माग गरेको थियो । सन् २०२४ अक्टोबरमा प्योङयाङमा ड्रोन घुसपैठ गराउन आदेश दिएको र सोही वर्षको डिसेम्बरमा मार्सल ल (सैन्य शासन) घोषणा गर्न आधार तयार पार्ने उद्देश्यले उत्तर कोरियालाई सैन्य उत्तेजना फैलाउन उकासेको अभियोग उनीमाथि लगाइएको थियो । विशेष अभियोजक टोलीकाअनुसार उक्त ड्रोन अपरेसनले दुई कोरियाबीच सैन्य तनाव बढाउनुका साथै ड्रोन दुर्घटनाका कारण सैन्य सञ्चालन र सम्पत्तिसम्बन्धी अति गोप्य सूचनाहरू चुहावट हुन पुगेको थियो । सोही मुद्दामा अदालतले पूर्वरक्षामन्त्री किम योङ–ह्युनलाई ३० वर्षको जेल सजाय सुनाएको छ, जुन अभियोजन पक्षले माग गरेको २५ वर्षको सजाय भन्दा बढी हो । त्यस्तै, डिफेन्स काउन्टर इन्टेलिजेन्स कमान्डका पूर्व प्रमुख यो इन–ह्युङलाई १५ वर्षको जेल सजाय तोकिएको छ । युन, किम र यो विरुद्ध सन् २०२५ नोभेम्बरमा राज्यद्रोहको मुद्दा दायर गरिएको थियो ।
यसअघि, सन् २०२४ डिसेम्बर ३ मा संकटकाल घोषणा गरी राज्य विद्रोह गरेको अभियोगमा पूर्वराष्ट्रपति युनलाई गत फेब्रुअरीमा जन्मकैदको सजाय सुनाइएको थियो। सन् २०२५ जनवरीमा विद्रोहको मुख्य योजनाकारको रूपमा हिरासतमा लिइएका युन, पदमा बहाल रहँदा पक्राउ परी अभियोग लाग्ने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१६. विश्वकप २०२६ः दमासकसमा फुटबल महोत्सवको रौनक, द्वन्द्वपछिको सिरियामा खुशीको सञ्चार
सिरियाको राजधानी दमासकसमा विश्वकप २०२६ को अवसर पारेर विश्वकप महोत्सव शुरु भएको छ । वर्षौंदेखिको द्वन्द्वबाट तङ्ग्रिँदै गरेको यस मुलुकका नागरिकहरूका लागि यो महोत्सव उत्साह, एकता र राहतको माध्यम बनेको छ । राजधानीको पुरानो दमासकस प्रदर्शनी स्थललाई सार्वजनिक फ्यान जोनमा परिणत गरी आयोजना गरिएको यस महोत्सवमा ठूला डिजिटल पर्दाहरूमा फुटबल खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ । फुटबल खेलका अतिरिक्त महोत्सवमा विभिन्न उमेर समूहका दर्शकहरूलाई लक्षित गरी खाद्य स्टलहरू, खेलकुदसँग सम्बन्धित गतिविधि र मनोरञ्जनात्मक कार्यक्रमहरू समावेश गरिएका छन् । यो महोत्सव जुन ११ देखि जुलाई १९ सम्म विश्वकपको समानान्तर रूपमा सञ्चालन हुने आयोजकले जनाएका छन् । दैनिक जीवनका दबाब र युद्धपछिको पुनरुत्थानको कठिन प्रक्रियामा रहेका सिरियालीहरूका लागि यस कार्यक्रमले विशेष महत्व राखेको छ । महोत्सवमा सहभागी स्थानीय अनस सोमिएले यस्तो वातावरण सिरियाका लागि नयाँ र सुखद् रहेको बताए ।
विश्वकपको यो रौनकले सिरियालीहरूलाई एकै स्थानमा भेला भई आपसी भ्रातृत्व र खुशी साटासाट गर्ने अवसर प्रदान गरेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१७. हिन्द महासागरमा ५३ लाख वर्ष पुरानो ह्वेलको अवशेष फेला
वैज्ञानिकहरूले हिन्द महासागरमन ह्वेलका अवशेषहरूको विश्वकै सबैभन्दा गहिरो र विशाल सङ्कलन फेला पारेका छन् । दक्षिण–पूर्वी हिन्द महासागरको डायमान्टिना क्षेत्रमा करिव ७,००० मिटरको गहिराइमा यो स्थल फेला परेको हो । अनुसन्धानकाअनुसार यस क्षेत्रमा ५३ लाख वर्षदेखि निर्माण हुँदै आएका प्राचीन जीवावशेषका साथै सक्रिय ह्वेल–फल पारिस्थितिक प्रणालीहरू रहेका छन् । विशेषगरी ६,७८९ मिटरको गहिराइमा भेटिएका तीनवटा बिग्ड ह्वेलका मेरुदण्डका हड्डीहरूले हालसम्मकै सबैभन्दा गहिरो सक्रिय ह्वेल–फल इकोसिस्टमको कीर्तिमान कायम गरेका छन् । ह्वेल–फल भन्नाले मृत ह्वेलको शरीर समुन्द्रको पिँधमा थुप्रिएपछि त्यहाँ विकसित हुने विशेष पारिस्थितिक प्रणालीलाई बुझिन्छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।
१८. ‘एक व्यक्ति, एक पद’ लागू गर्न हुँदैन, यसले नेतृत्व विकास गर्दैनः नेता लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद एवं रास्वपा वागमती प्रदेश सभापतिका उम्मेदवार डा. अच्युतम लामीछानेले पार्टीभित्र ‘एक व्यक्ति, एक पद’ व्यवस्था लागू गर्न नहुने बताउनुभएको छ ।
शनिवार पार्टीको वाग्मति प्रदेशको अधिवेशनको क्रममा पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी र निर्वाचित प्रतिनिधिहरूको राजनीतिक भविष्य नै सीमित हुने बताउनु भयो । ‘एक व्यक्ति, एक पद’ नीतिले पार्टीका सक्रिय नेता–कार्यकर्तालाई निक्रिय बनाउने उहाँको भनाई छ । उक्त व्यवस्था लागू भएमा वर्तमान पदाधिकारी तथा निर्वाचित प्रतिनिधिहरूको राजनीतिक अवसर सीमित हुन सक्ने उहाँको तर्क छ । उहाँले पार्टीलाई विद्यालय तथा विश्वविद्यालयसँग तुलना गर्दै जनप्रतिनिधित्वको यात्रा पार्टी संगठनबाटै तय हुने पनि बताउनु भयो । पार्टीभित्र विचार, बहस र राजनीतिक विमर्शमार्फत नेतृत्व विकास हुने र त्यही प्रक्रियाबाट तयार भएका व्यक्तिहरू जनप्रतिनिधिका रूपमा चुनावी मैदानमा जाने उहाँको भनाई छ । उहाँले आफू पाँच वर्षका लागि सांसद मात्रै बन्न नआएको बताउनुभयो । पार्टीका पदहरूलाई राजनीतिक यात्राका ‘स्टेप’ वा ‘भ¥याङ’ का रूपमा लिनुपर्ने उहाँको भनाई छ । उहाँले पार्टीका महामन्त्री सांसद र मुख्य सचेतकसमेत रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तपाईंले अहिले हाम्रो महामन्त्रीलाई हेर्नुभयो भने महामन्त्री सांसद हुनुहुन्छ, महामन्त्री मुख्य सचेतक हुनुहुन्छ । यसलाई हामीले कहिल्यै पनि के लिनु मिल्दैन भने यो पद होइन, त्यो स्टेप हो । त्यसैमा टेकेर भरयाङमा टेकेर जाने हो । उहाँ अहिले सांसद नहुनुभएको भए, उहाँ महामन्त्री मात्रै हुनुभएको भएपनि अथवा बीचमा सचेतक हुन गाह्रो हुन्थ्यो । सांसद नभएको भए उहाँ सचेतक हुन सक्नुहुन्थेन । तपाईं हाम्रो कर्मले गर्ने हो, मेरो खटाईले गर्ने हो । स्थानीय निर्वाचन र प्रदेश निर्वाचनमा साथीहरूलाई नेता बनाउनको लागि मैले यहाँ आउने इच्छा गरेको हुँ । म हैन कि कसैलाई एक पद एक व्यक्ति अहिले भइराखेका सभापतिहरूलाई कहिँ पनि उठ्न नदिनको लागि काम भईरहेको छ, अहिले बागमती प्रदेशकै सदस्यमा आउने व्यक्तिहरूले पनि भोलि कहिँ उठ्न नदिनको लागि होइन । एक पद एक व्यक्तिले निस्तेज गर्छ । अहिले जति पनि प्रतिनिधि आउनुभएको छ, तपाईंहरू कुनै पनि पदमा हुनुहुन्छ भने तपाईं भोलि उठ्न नपाउने व्यवस्था हो यो । अहिले जति पनि प्रतिनिधिहरू हुनुहुन्छ, तपाईंहरू कोही पनि कहिँ पनि उठ्न पाउनुहुन्न ।
एक पद एक व्यक्ति भयो भने यहाँ सबै पदीय दायित्वमा आउनुभएको छ, के तपाईंहरू नउठ्ने हो
रास्वपामा सांसदहरुलाई प्रदेश सभापति हुन रोक्न खोजेपछि नेता लामिछानेले असन्तुष्टी जनाउनुभएको हो । एक व्यक्ति, एक पदको अवधारणा लागू गर्ने विषयमा विवाद हुँदा यसअघि रास्वपा वागमती प्रदेश अधिवेशन रोकिएको थियो । उक्त रोकिएको अधिवेशन शनिवार काठमाडौंमा जारी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनको लागि हाल मतदान कार्य भईरहेको छ । पहिलो चरणमा प्रदेश सभापति र प्रदेश समिति सदस्यको निर्वाचन गरेर दोश्रो चरणमा पदाधिकारीको निर्वाचन हुने जनाईएको छ ।
बागमती प्रदेश सभापतिका लागि डा. लामिछाने, उत्सव अर्याल, कृष्णमान श्रेष्ठ र हरिबहादुर खत्री प्रतिष्पर्धामा छन् । लामिछाने हाल प्रदेश सभापति समेत हुन् ।
–न्युज एजेन्सी नेपाल
१९. ‘सुकुम्बासी बस्तीका ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा, बाँकीको विषयमा सरकार नै अनविज्ञ’
सरकारले काठमाडौं उपत्यकाबाट हटाएका करिव ६ प्रतिशत सुकम्बासी मात्रै होल्डिङ सेन्टरमा बसोवास गर्ने गरेको एक प्रतिवेदनले देखाएको छ । रोल...
बस्तीबाट विस्थापित भएका अधिकांश नागरिक सरकारको पहुँच भन्दा बाहिर रहेको अध्ययनले देखाएको हो । नेपाल बसोवास बस्ती समाज, नेपाल महिला एकता समाज र जेन–जी एलायन्सले संयुक्त रुपमा आयोजना गरेको ‘जबरजस्ती उठिवास पश्चात भूमिहीन सुकुम्वासी र अव्यवस्थितको अवस्था विश्लेषण प्रतिवेदन’ सार्वजानिक कार्यक्रममा कार्यपत्र प्रश्तुत गर्दै स्मिता आचार्यले सरकारद्वारा विस्थापितमध्ये ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा बसेको बताउनु भयो । बाँकी परिवार कहाँ छन् भन्ने विषयमा सरकार अनविज्ञ रहेको उहाँको आरोप छ । उहाँकाअनुसार काठमाडौं उपत्यकाका २७ वटा सुकुम्बासी बस्तीमा डोजर लगाइएको थियो । ती बस्तीमा डोजर लगाउँदा २ हजार ८ सय ६९ घरधुरी भत्किएका छन् । सुकुम्बासी बस्तीमा रहेका ५ हजार ७ सय ६ परिवारका १६ हजार ८ सय ४३ जनालाई सरकारले विस्थापित गरेको उहाँको भनाई छ । तर उक्त तथ्याङ्क सरकारसँग नभएको उहाँको दाबी छ । सरकारको अभिलेखमा भत्काइएको धेरै बस्ती समावेश नभएकाले आफूहरुले समुदायस्तरमा गएर अध्ययन गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार मनोहरा लगायतका केही ठूला बस्तीहरूको तथ्याङ्क सरकारले टिपोट नै गरेको छैन ।
उहाँले भन्नुभयो, ‘सरकारले अहिलेसम्म २७ वटा बस्ती निष्कासन गरेको छ तर पनि सरकारको डोजर कहाँ–कहाँ गयो र सरकारको डोजरले कहाँ–कहाँ चाहीँ भत्कायो भन्ने कुरा सरकार आफैँ अनविज्ञ छ । हामीले २७ वटा वस्ती भत्काइएको छ, सरकारको डाटामा यो वस्ती भत्काइएको लिस्टिङ कम छ तर यो प्रत्यक्ष रूपमा हामी समग्र भएर पुगेको ठाउँहरूमा २७ वटा वस्ती भत्काइएको देखिन्छ । बस्तीमा २ हजार ८६९ घरधुरी भत्किएको अवस्था छ, परिवारको सङ्ख्या ५ हजार ७०६ हुनुहुन्छ । यो परिवारभित्र जनसंख्या १६ हजार ८४३ जना रहेको हुनुहुन्छ । यो डाटामा नेपाल सरकार चुकेको छ । सरकारको लिस्टमा मनोहरा वस्ती हरायो, मनोहरा बस्ती भत्काइएको छ, त्यत्रो आर्मी लगाएर भत्काइएको छ, तर सरकारको लिस्टमा त्यो बस्तीलाई राखिएको अवस्था छैन । विभिन्न वस्तीहरूको लिस्ट सरकारसँग छैन, जसको कारणले गर्दा सरकारको लिस्टसँग हाम्रो लिस्ट चाहिँ म्याच हुँदैन, डिफरेन्ट देखिन्छ ।’
उहाँकाअनुसार बस्तीबाट हटाइएका परिवारमध्ये २ हजार ६ सय ६ परिवारलाई सरकारले विभिन्न होल्डिङ सेन्टर तथा अस्थायी आश्रयस्थलमा राखेको छ । सरकारले इचङ्गु, बनेपा, खरीपाटी, बोडे, कीर्तिपुरलगायत स्थानमा राखेको र ती होल्डिङ सेन्टरहरु प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष निर्देशन र निगरानीमा सञ्चालन भइरहेको उहाँले बताउनु भयो । उहाँले सरकारले सुकुम्बासी भनेर २ हजार ६ सय ६ जना परिवारलाई मात्रै दर्ता गरेको उल्लेख गर्नुभयो । उहाँकाअनुसार ३ हजार एक सय परिवार अझै दर्ता प्रक्रियाबाट बाहिर छन् । सरकारले सुकम्बासी दर्ता प्रक्रिया बन्द गरेकाले पनि धेरै परिवारहरु दर्ता प्रक्रियाबाट छुट्न बाध्य भएको उहाँको भनाई छ । सबै सुकुम्वासी दर्ता गर्न आएनन् भन्ने सरकारी दाबी गलत रहेको उहाँले बताउनुभयो । सरकारले नै दर्ता प्रक्रिया समयअगावै बन्द गरेको उहाँको आरोप छ । उहाँकाअनुसार र भत्किएकै दिन दर्ता खोलिनु, पूर्वसूचनाको अभाव, सामान सुरक्षित राख्ने व्यवस्था नहुनु, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई दर्ता केन्द्रसम्म पुग्न कठिन हुनु, सरकारी प्रक्रियाप्रति अविश्वास तथा डोजर अभियानअघि सिर्जना गरिएको त्रासदीपूर्ण वातावरण लगायतका कारण दर्ता हुन सबै परिवार दर्ता हुन नसकेका हुन् ।
उहाँले भन्नुभयो, ‘सरकारले नाम दर्ता गराउनुभएको २ हजार ६०६ जना परिवारहरूलाई होल्डिङ सेन्टर लानुभएको छ । दर्ता नभएको परिवार ३ हजार १०० हुनुहुन्छ । गोपीकृष्ण हलको साइडमा रहेको समुदायलाई भत्काइरहँदाखेरि त्यो बस्तीहरू दर्ता गर्न ढिलो पुग्नुभएको छ । जेठ २१ गतेसम्म दर्ता बन्द गरिएको छ, नेपाल सरकारलाई पनि यति धेरै दर्ता गर्न आउला भन्ने सायद लागेको थिएन होला, त्यसैले उहाँहरूले नाम टिप्नै बन्द गर्नुभयो । नाम टिप्न बन्द गर्दा २२ गते धेरै साथीहरू पुग्नुभएको थियो, उहाँहरूलाई ‘नाम दर्ता हुँदैन, बन्द भइसकेको’ भन्ने अवस्था छ । त्यसमा चाहीँ मनोहराहरू पनि पर्नुहुन्छ । धेरै वस्तीहरू अलि टाढा–टाढा पुगिसकेको बिस्तारै नाम टिप्न आउने क्रममा यी कुराहरू छुटपुट भएका छन् । जसको कारणले गर्दा नेपाल सरकारले छाती फुलाएर सबै हुकुम्वासी हुन्, उहाँहरू दर्ता गर्न आउनुभएन भन्ने कुरा गलत हो, किनकि दर्ता नै बन्द गरिएको थियो । यसमा दर्ता भएको व्यक्तिहरू १० हजार ४२४ जना हुनुहुन्छ, तर एकदमै न्युन रूपमा ६ प्रतिशत मात्रै होल्डिङ सेन्टरमा हुनुहुन्छ । होल्डिङ सेन्टरमा ७ सय १८ जना मात्रै हुनुहुन्छ । अब सोच्नुस् न, सरकार आफैँले दर्ता गरेको २ हजार ६०६ जना परिवार कहाँ गए ? त्यो टोकन बोकेर कहाँ पुगे ? सरकारले कतै यसलाई खोजेको छ त ? छैन नि । किनभने सरकारले होल्डिङ सेन्टरमा लगेर बन्धक बनाएको परिवारहरू ७१८ जना हुनुहुन्छ, उहाँहरूसँग प्रत्यक्ष सम्पर्कमा हामी पनि छौँ, सरकार पनि छ । जब सरकार आफ्नो निगाहमा राखेको, निगरानीमा राखेको एउटा बन्धक परिवारको कुराहरूलाई हामी सबैले उठाउनुपर्छ, उठाउन जरुरी पनि छ ।’
उहाले सरकारले जबरजस्ती सुकुम्बासी बस्तीमा डोजर लगाउँदा ६ जनाले ज्यान गुमाउनुपरेको बताउनु भयो । उहाँले सरकारले आफ्ना नाकगरिकलाई बाँच्न पाउने मौलिक हक उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । राज्य आफैले नागरिकलाई जबरजस्ती उठिवास लगाउन लाग्न नहुने उहाँको भनाई छ ।
कार्यक्रममा कार्यक्रममा जेन–जी एलायन्सकी अन्सुदा पौडेलले जबरजस्ती विस्थापनका कारण पीडितहरुमा गम्भीर स्वास्थ्य तथा मनोसामाजिक संकट सिर्जना भएको बताउनु भयो । विस्थापित परिवारहरूले आफ्नो सुरक्षा, गोपनीयता र आत्मसम्मानमा गम्भीर चोट पुगेको महसुस गरिरहेको उहाँको भनाई छ । कतिपय विरामीहरुले औषधि उपचार समेत राम्रोसंग पाउन नसकेको उहाँले बताउनु भयो । उहाँकाअनुसार ‘सुकुम्बासी’ भन्ने नकारात्मक भाष्यका कारण पनि कतिपयले सामाजिक अपमान, विभेद र बहिष्करण भोग्नुपरेको छ । विद्यालयमा बालबालिकाले साथीहरू र शिक्षकहरूबाट समेत दुव्र्यवहार झेल्नुपरेको छ भने धेरैले रोजगारी गुमाएको र समाजमा थप उपेक्षित बन्नुपरेको छ । होल्डिङ सेन्टरमा धेरै परिवारलाई एउटै कोठा वा टेन्टमा राख्दा गोपनीयता हनन भएको, सुरक्षित व्यक्तिगत स्थान नपाउँदा मानसिक तनाव बढेको र आत्महत्याको सोचाइसमेत व्यापक रूपमा देखिएको उहाँले बताउनु भयो । यसले बालबालिकाको वृद्धि विकास र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हामीले एकदमै ठूलो राज्यद्वारा सिर्जित पब्लिक हेल्थ र साइको–सोसल क्राइसिस देखिरहेको छौँ । होल्डिङ सेन्टरमा हुनुहुन्छ, होल्डिङ सेन्टरमा नभएकोहरुले पनि आफ्नो सुरक्षा र आत्मसम्मानमा ठूलो ठेस भोगिरहनुभएको छ । जुन हिसाबको भाष्य निर्माण भएको छ, हुकम्वासी भन्ने त्यसले उहाँहरुले आत्मसम्मानमा एकदमै ठूलो ठेस भोग्नुपरेको छ । त्यसैगरी विद्यालयमा जाँदाखेरी पनि बच्चाहरुले चाहिँ सुकुम्बासी रहेछ भनेर इभन टिचरहरु टिचरहरुबाटै पनि त्यो दुव्र्यवहार भोग्नुपरेको छ । धेरैजनाले आफ्नो जागिर नै गुमाउनुपरेको छ । सुकुम्बासी बस्तीको रहेछ, तिमी त हुकुम्बासी रहेछौँ, तिमीलाई जागिर दिँदैनौ, यस्तो बस्तीमा बसेको मान्छेलाई हामी जागिर दिँदैनौ भन्ने खालको समस्या उत्पन्न भईरहेको छ । यो घटनाले उहाँहरुलाई थप उपेक्षित बनाइदिएको छ । साथै उहाँहरुको सुरक्षामा पनि ठूलो समस्या देखिएको छ । होल्डिङ सेन्टरमा एउटै फ्ल्याटमा या एउटै टेन्टमा धेरै परिवारहरुलाई राख्ने र एउटै परिवारको सबैजनालाई एउटै फ्ल्याटमा राख्दाखेरि उहाँहरुको प्राइभेसीमा हनन भएको छ । मनो–सामाजिक र मानसिक स्वास्थ्यमा एकदम क्राइसिस नै लिएर आएको छ । शत प्रतिशत नै डिस्ट्रेस नभएको कोही पनि छैन, सानो उमेरदेखि एकदमै ठूलो बुढो उमेरसम्मका मानिसहरुमा आत्महत्या गर्ने सोच आउने गरेको पाईन्छ । यसले लामो समयसम्म एकदम नराम्रो इम्प्याक्ट पार्छ ।’
नेपाल महिला एकता समाजकी भगवती अधिकारीले विस्थापित बालबालिकाको शिक्षामा गम्भीर असर परेको बताउनु भयो । उहाँकाअनुसार होल्डिङ सेन्टर नजिकका विद्यालयमा केही बालबालिका नियमित कक्षामा सहभागी भएपनि उनीहरूलाई औपचारिक रूपमा भर्ना गरिएको छैन । धेरै विद्यार्थी विद्यालय पोशाक र पाठ्यपुस्तक बिनै कक्षामा सहभागी हुन बाध्य छन् । अधिकारीकाअनुसार विस्थापनका कारण जीविकोपार्जनमा समेत गम्भीर असर परेको छ । ९२ प्रतिशत व्यक्तिले आफ्नो नियमित काम गुमाउनुपरेको छ । अधिकांश प्रभावितहरू अनौपचारिक क्षेत्रमा कार्यरत रहेकोले टाढा रहेका होल्डिङ सेन्टरबाट काममा जान कठिन हुने गरेको छ । उहाँकाअनुसार करिव ४४ प्रतिशत सुकम्बासी बस्तीका नागरिक अनौपचारिक क्षेत्रमा कार्यरत थिए भने १६–१७ प्रतिशतले बस्तीभित्र साना पसल सञ्चालन गर्थे । दैनिक ज्यालादारी मजदुर गर्ने १२ प्रतिशत र औपचारिक रोजगारीमा रहेका व्यक्तिहरू करिब १० प्रतिशत मात्र रहेको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार करिब ७० प्रतिशत परिवारले ऋण लिएर सुकुम्बासी बस्तीमा घर बनाएका थिए । घर भत्किएपछि उनीहरू घरविहीन मात्रै नभई ऋणको भारी पनि बोकेर बस्न बाध्य भएको छन् । शिक्षा, व्यवसाय, वैदेशिक रोजगारी तथा पारिवारिक प्रयोजनका लागि समेत ऋण लिएकाहरु अहिले समस्या परेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘बालबालिकालाई विद्यालयमा जान कठिन छ, बालबालिकाहरुले पढिरहनुभएको छ, त्यहाँ भर्ना गरिएर पढाइएको होइन । रेगुलर क्लास जानलाई मात्रै पढाइएको छ । यसले बालबालिकाहरू विद्यालयमा पढ्ने भन्ने खालको निक्र्योल पनि देखिएको छैन । पढ्न गइरहँदाखेरि पनि आउटड्रेस लगाएर जाने गरेका छन्, किताव छैन । अहिले टेम्पोररी रुपमा विद्यालयमा जोडिएको मात्रै हो । एउटा आत्मसम्मानका साथ जीवन बिताइरहेको सुकुम्बासी समुदाय अब दान गरेको भरमा बाँच्नुपर्ने, दान कहिले देला र अनि त्यसपछि पढ्नलाई पाइन्छ भनेर भन्नुपर्ने खालको जोखिमको अवस्थामा धकेलिएको छ । अर्को विषय जीविकोपार्जनतिर अलिकति हेरिरहँदाखेरि ९२ प्रतिशतले आफ्नो कामहरूबाट हात निकाल्नु परेको छ । एकदमै ठूलो लोन पनि लिएर आफ्नो जीविका चलाइराख्नुभएको हामीले पायौँ । ७० प्रतिशतले सुकुम्बासी समुदायमै आफू सहज तरिकाले बस्नको लागि नै लोन लिएर घर बनाउनुभएको रहेछ । अब घर पनि रहेन, अब लोन पनि आफूमाथि थोपरियो र काम पनि छैन, जीविकोपार्जन पनि छैन भनेपछि अब त्यो लोनको भागिदारी को हुने त ? फ्यामिली फङ्सनको लागि २ प्रतिशतले लोन लिनुभएको छ, बिजनेस लोन भनेर ४ प्रतिशतले लिनुभएको छ । त्यो बिजनेस जजसको थियो ती पनि कतिकाको बिजनेसहरू कन्टिन्यु हुन सकेको छैन । एजुकेसन लोन ६ प्रतिशत, विदेश जानको लागि १८ प्रतिशतले लोनहरू लिनुभएको छ ।’
उहाँले होल्डिङ सेन्टरमा बसोवास गरिरहेका परिवारहरूसँग पटक पटक विवरण संकलन गर्ने नाममा अर्को दुःख दिने गरेको बताउनु भयो । विभिन्न निकायले तीनदेखि चार पटकसम्म एउटै विवरण संकलन गरेरे पीडितहरुलाई बारम्बार आफूलाई प्रमाणित गर्नुपर्ने अवस्था सिर्जना गरिएको गुनासो आएको उहाँको भनाई छ । विस्थापित परिवारहरूको पुनस्र्थापना, सम्मानजनक आवासको व्यवस्था, स्वास्थ्य तथा शिक्षा सेवाको सुनिश्चितता र दीर्घकालीन समाधानका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरिएको छ । –न्युज एजेन्सी नेपाल
२०. भृकुटीमण्डपमा दोस्रो संस्करणको ग्लोवल कन्जुमर एक्स्पो जारी
काठमाडौंको भृकुटीमण्डपमा दोस्रो संस्करणको ग्लोबल कन्जुमर एक्स्पो संचालन भईरहेको छ ।
इभेन्ट सोलुसन प्रा.लि.को आयोजनामा शुक्रवारदेखि एक्स्पो सञ्चालनमा आएको हो । असार २ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एकै स्थानबाट परिवार तथा उपभोक्ताले दैनिक आवश्यकताका विभिन्न सामग्री खरिद गर्न सक्नेछन् । लुगादेखि खाद्यान्नसम्मका सामग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यले मिनी भाटभटेनीको अवधारणामा एक्स्पो सञ्चालन गरिएको इभेन्ट सोलुसन प्रा.लि.का मार्केटिङ डिरेक्टर नवीन भट्टले जानकारी दिनुभयो । उहाँकाअनुसार एक्स्पोलाई किनमेलसँगै पारिवारिक मनोरञ्जनको केन्द्रका रूपमा विकास गर्ने प्रयास गरिएको छ । बालबालिकाका लागि खेल क्षेत्र, फुड कोर्ट, फेस पेन्टिङ तथा विभिन्न खेलकुद तथा मनोरञ्जनात्मक गतिविधिको व्यवस्था गरिएको उहाँले बताउनु भयो । उहाँका अनुसार यस वर्ष एक्स्पोमा नयाँ व्यवसायी तथा उद्यमीले पनि सहभागिता जनाएका छन् । एक्स्पोमा नेपालका उत्पादनलाई प्राथमिकता दिइएको उहाँले बताउनु भयो । उहाँकाअनुसार अधिकांश स्टल ‘मेड इन नेपाल’ उत्पादनका रहेका छन् । साथै चीन, भारत, बंगलादेश र मलेसियाका उत्पादनसमेत प्रदर्शनीमा समावेश गरिएको छ ।
उहाँले भन्नुभयो, ‘ग्लोवल कन्जुमर एक्स्पोको मुख्य उद्देश्य भनेको एउटै स्थानमा परिवारका सबै सदस्यहरूको आवश्यकता पूरा गर्ने वातावरण सिर्जना गर्नु हो । लुगाफाटादेखि खाद्य सामग्रीसम्म, दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न वस्तुहरू यहाँ उपलब्ध छन् । सरल शब्दमा भन्नुपर्दा, यो ‘मिनी भाटभटेनी’ को अवधारणामा आधारित एक्स्पो हो, जहाँ किनमेल गर्न आउने व्यक्तिले आवश्यक पर्ने अधिकांश सामान एउटै ठाउँमा पाउन सक्नेछन् । एक्स्पोको विशेषता भनेको यो केवल किनमेलका लागि मात्र होइन, परिवारसहित मनोरञ्जन गर्न मिल्ने गन्तव्य पनि हो । परिवारसँग आउने आगन्तुकहरूका लागि बालबालिकाको मनोरञ्जनका निम्ति प्ले ग्राउन्ड, फेस पेन्टिङ, विभिन्न गेमहरू, साथै स्वादिष्ट परिकारहरूको आनन्द लिन फुड कोर्ट को व्यवस्था गरिएको छ । त्यसैले यो केवल शपिङ मात्र नभई पूर्ण रूपमा मनोरञ्जनमूलक अनुभव प्रदान गर्ने कार्यक्रम हो । यस वर्षको एक्स्पोमा नयाँ व्यवसायी तथा उद्यमीहरू पनि सहभागी हुनुभएको छ । उहाँहरूले नयाँ–नयाँ उत्पादन र व्यावसायिक अवधारणाहरू प्रस्तुत गरिरहनुभएको छ । अन्तर्राष्ट्रिय सहभागिताको कुरा गर्दा, यहाँ चीन, भारत, बंगलादेश र मलेसिया लगायतका देशका उत्पादनहरू पनि प्रदर्शनीमा राखिएका छन् । तर हाम्रो मुख्य प्राथमिकता भनेको ‘मेड इन नेपाल’ उत्पादनहरूको प्रवद्र्धन हो । त्यसैले एक्स्पोमा रहेका अधिकांश स्टलहरू नेपाली उत्पादन तथा नेपाली उद्यमीहरूका छन् ।’
आयोजकले उपभोक्ताको सहभागिता बढाउन एक्स्पोमा प्रवेश निःशुल्क राखिएको आयोजकले जनाएको छ । प्रदर्शनी अवधिभर आगन्तुकले किनमेलसँगै विभिन्न मनोरञ्जनात्मक गतिविधिको समेत अनुभव लिन सक्नेछन् । –न्युज एजेन्सी नेपाल
२१. हर्कराज राई भन्छन्–‘देशलाई माया गर्दा गाली खाइरहेको छु’
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले देशलाई माया गरेकै कारण आफूले गाली खानुपरेको गुनासो गर्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा उहाँले देशको हितका लागि आवाज उठाउँदा अपमान र तिरस्कार सहनुपरेको गुनासो गर्नुभयो । उहाँले आफूले धरानको मेयर हुँदा दैनिक करिव एक हजार गाली पाउने गरेको स्मरण गर्र्दै हाल त्यो संख्या बढेर दैनिक १० हजार पुगेको बताउनु भयो । अध्यक्ष राईले दार्चुलामा पुल बनाउने क्रममा पनि आफूलाई गाली आएको बताउनु भयो । उहाँले सामाजिक सञ्जालमा आफूविरुद्ध संगठित रूपमा गाली अभियान सञ्चालन भइरहेको आशंका पनि व्यक्त गर्नुभयो । उहाँले सो पुल विवादका बीच पनि निर्माण सम्पन्न हुन लागेको र छिट्टै उद्घाटन गर्ने दाबी गर्नुभयो । नेपाली समाजमा अरूले गरेको कामको प्रशंसा गर्नुभन्दा खुट्टा तान्ने प्रवृत्ति रहेको टिप्पणी गर्दै उहाँले त्यसको अन्त्य नभएसम्म देश बन्न नसक्ने बताउनु भयो । आफू काम नगर्ने र अरुलाई पनि गर्न नदिने प्रवृत्तिको अन्त्य हुनुपर्ने उहाँको भनाई छ । अध्यक्ष राईले प्रधानमन्त्री बालेन्द्र साहको अभिव्यक्तिका कारण सुस्तामा भारतीय सेना प्रवेश गरेको पनि आरोप लगाउनु भयो । उहाँले सीमा सुरक्षाका विषयमा राज्य संवेदनशील हुनुपर्नेमा जोठ दिनुभयो । उहाँले विदेशी ऋण लिएर विकास गर्नेभन्दा स्वदेशी स्रोत र श्रममा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो देशलाई माया गर्दा दुनियाँ भरका मान्छेले गाली गर्दोरहेछ । संसारमा अहिले सबै भन्दा धेरै गाली गरिने मान्छे, अपमान गरिने मान्छे म हुँ । मैले किन गाली खाइराख्नु परिरहेछ त भन्दाखेरि यो देशलाई बिछट्टै माया गर्छु । यो देशलाई सम्झेर थुप्रो चोटी रोएको छु, थुप्रो चोटी हाँसेको पनि छु । मलाई गाली गर्नेहरुको संख्या अझै धेरै बढेको छ । पहिला धरानमा हुँदाखेरि मैले दिनको एक हजार वटा गाली पाउँथे, अहिले मैले दिनको १० हजार वटा गाली पाइराखेको छु । ती सम्पूर्ण मलाई गाली गर्ने महानुभावहरुलाई, ती विद्वान मित्रहरुलाई, ती बौद्धिक मित्रहरुलाई मेरो हार्दिक सम्मान छ, मेरो माया सम्झना छ । यसरी नै मलाई गाली गरिरहनुस्, म मेरो बाटो हिँडिरहन्छु, तपाईंहरु मेरो खुट्टा तानिरहनुस् । तर अन्ततः जित मेरै नै हुनेछ । दार्चुलामा पुल थाप्नका लागि हामी गयौं, थुप्रैले खुट्टा तानेको तानेकै, तपाईंहरुले खुट्टा तानिरहनुभएको छ, हामीले पुलको लट्ठा तानेर पुल बन्न आट्यो । अब १०–१५ दिनमा उद्घाटनमा जाँदैछु । त्यसपछि हामी फेरि अर्को प्रोजेक्ट गर्छौं त्यहाँ पनि खुट्टा बेस्सरी तान्नु है । हामी यो देशलाई जब माया गर्छौं, अपहेलित बन्छौं, तिरस्कृत हुन्छौं, बहिस्कृत हुन्छौं, सकिन्छ भने आफू काम गरौं, आफू काम गर्न सकिँदैन भने अरुले गरेकोलाई खुट्टा तान्ने काम, बाधा अवरोध गर्ने काम र त्यसलाई अपमानित र निरुत्साहित गर्ने चलनको अन्त्य गरौं । त्यो चलनको अन्त्य भएको दिन सतीले दिएको सरापदेखि मुक्त हुनेछ, हाम्रो देश । प्रधानमन्त्रीलाई संसदको रोष्ट्रममा उभिएर जनताको उत्तर दिनुपर्छ भन्नु मेरो गल्ती हो ? देशको सिमानामा सुस्तामा भारतीय सेना आएर हतियार देखाएर अतिक्रमण गर्न थाले, त्यहाँनेर हाम्रो सेना पठाउनुपर्छ, सुरक्षाकर्मी पठाउनुपर्छ भन्ने मेरो गल्ती हो ? विदेशी ऋण लिएर हैन, ठूलठूला तपाईंको संरचनाहरु बनाएर विकासको फुइँ लाउनु भन्दा आफ्नै ढुङ्गा माटोमा आफ्नै पसिना बगाएर स्वाभिमानी, स्वाधिन अर्थतन्त्रको विकास गरौं भन्नु मेरो गल्ती हो ? गल्ती कहाँ छ हर्क साम्पाङ को ? त्यत्तिकै हावामा गाली गरेको छ, गाली गरेको छ, गाली गरेको छ । तपाईंको मनलाई सोधेर हेर्नु त, तपाईंको मनले साँच्चै नै हर्क साम्पाङ गलत हो भन्छ त ? कि तपाईंलाई कसैले पैसा दिएर गाली गर्, एउटा गाली गरे बापत तपाईंलाई ५० रुपैयाँ दिन्छु, १०० रुपैयाँ दिन्छु भनेर अह्राएको हो ? यदि त्यो गाली गर्ने तपाईंको पेशा हो भने ठीक छ, एउटा कम्पनी खोलेर गाली नै गर्नु । गाली गर्ने कम्पनी खोल्नु त्यसको चेयरमेन बन्नु, तर त्यो कम्पनीको उद्घाटन चाहिँ मेरै हातबाट रिबन काटेर गराउनुस् ।’
हर्कराज राई, अध्यक्ष, श्रम संस्कृति पार्टी
उहाँले श्रम संस्कृति पार्टीका कोही पनि सांसदले भ्रष्टाचार नगर्ने दाबी गर्नुभयो । पार्टी संगठनलाई देशभर विस्तार गर्ने उल्लेख गर्दै उहाँले आगामी स्थानीय तहको निर्वाचनमा श्रम संस्कृतिलाई जिताउन आग्रह पनि गर्नुभयो ।–न्युज एजेन्सी नेपाल