काठमाडौँ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका ६३ वटा शैक्षिक संस्थामा अध्ययनरत १४ हजार ५ सयभन्दा बढी बालबालिकाको पठनपाठन प्रभावित भएको छ।
शिक्षा मन्त्रालयको नेतृत्वमा संघ तथा प्रदेश सरकारका शिक्षा अधिकारी, युनिसेफ र सेभ द चिल्ड्रेनसहितका टोलीले गरेको स्थलगत मूल्यांकनअनुसार ९ हजार ४ सय ३० विद्यार्थी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। प्रत्यक्ष प्रभावित विद्यार्थीमा अभिभावक, घर वा विद्यालय गुमाएका बालबालिकालाई समेटिएको छ।
विद्यालय भवनमै विस्थापितका लागि अस्थायी केन्द्र
बाढीपछि विस्थापित नागरिकलाई राख्न विद्यालय भवनहरू प्रयोग गरिएकाले पनि हजारौँ विद्यार्थीको नियमित पढाइ प्रभावित भएको छ। तीन जिल्लामा रहेका २९ अस्थायी होल्डिङ सेन्टरमध्ये २८ वटा विद्यालय भवनमा सञ्चालनमा छन्।
नुवाकोटमा २२ र रसुवामा ६ वटा होल्डिङ सेन्टर विद्यालय भवनमै सञ्चालन भइरहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी केन्द्रहरूमा करिब २ हजार विस्थापित नागरिक बसिरहेका छन्। विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन गर्न यो अवस्थाले थप चुनौती सिर्जना गरेको छ।
सयभन्दा बढी बालबालिकाले आमाबाबु दुवै गुमाए
बाढी तथा पहिरोबाट बालबालिकामाथि परेको असर गम्भीर देखिएको छ। शिक्षा मन्त्रालयको मूल्यांकनअनुसार कम्तीमा १ सय बालबालिकाले आमाबाबु दुवै गुमाएका छन्।
त्यस्तै, करिब ५ सय विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक विवरणमा उल्लेख छ। बाढीपछि १ हजार ३ सय ७२ विद्यार्थी विस्थापित भएका छन्। विद्यालय उमेर नपुगेका प्रभावित बालबालिकाको संख्या भने अहिलेसम्म पूर्ण रूपमा यकिन हुन सकेको छैन।
३४ शैक्षिक संस्थामा भौतिक क्षति
बाढीबाट ३४ वटा शैक्षिक संस्थामा भौतिक क्षति पुगेको छ। ४५ वटा विद्यालय भवनमा रहेका २ सय ६८ कक्षाकोठा क्षतिग्रस्त भएका छन्।
भौतिक क्षति वा सुरक्षाको कारण ११ विद्यालय पूर्ण रूपमा बन्द छन् भने थप चार विद्यालय अस्थायी रूपमा बन्द रहेका छन्। विद्यालयका ८२ वटा शौचालय, खानेपानी आपूर्ति प्रणाली तथा २० वटा अन्य पानीका स्रोतसमेत बाढीले नष्ट गरेको मन्त्रालयको मूल्यांकनमा उल्लेख छ।
बाढीले ३ हजार २ सय ३२ पाठ्यपुस्तक, २ हजार २ सय २७ सेट शैक्षिक सामग्री, ४ हजार ५ सय ६१ डेस्क–बेन्च, १९४ कम्प्युटर र १४४ ल्यापटपमा क्षति पुर्याएको छ।
विदुरमा सबैभन्दा बढी विद्यार्थी प्रभावित
तीन जिल्लामध्ये नुवाकोटको विदुर नगरपालिका क्षेत्रमा सबैभन्दा बढी शैक्षिक क्षति भएको मूल्यांकनमा उल्लेख छ। त्यहाँ ३ हजारभन्दा बढी विद्यार्थी प्रभावित भएका छन्।
विदुरमा २२७ विद्यार्थी र ११ शिक्षक सम्पर्कविहीन रहेको विवरण सार्वजनिक भएको छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, त्रिशूली कम्युनिटी बोर्डिङ स्कुल, उत्तरगया बोर्डिङ स्कुल र रामचन्द्र आधारभूत विद्यालयलाई क्षतिको अवस्थाका कारण स्थानान्तरण गर्नुपर्ने अवस्था रहेको बताइएको छ।
रसुवाको टिमुरेमा विद्यालय पूर्ण रूपमा नष्ट
रसुवाको टिमुरेस्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय बाढीबाट पूर्ण रूपमा नष्ट भएको छ। विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीमध्ये २५ जना अझै सम्पर्कविहीन रहेको तथा ११ शिक्षकमध्ये ६ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।
गोसाइँकुण्ड, उत्तरगया, कालिका र आमाछोदिङ्मो गाउँपालिकाका विद्यालय तथा विद्यार्थी पनि बाढीबाट प्रभावित भएका छन्।
धादिङमा विद्यालय पुग्ने बाटोसमेत अवरुद्ध
धादिङमा अम्लेश्वर गुरुकुल विद्यालयको भवन लेदो र भग्नावशेषले पुरिएको छ भने बुद्धिविकास आधारभूत विद्यालयको भवनमा गम्भीर क्षति पुगेको छ।
बागेश्वरी माध्यमिक विद्यालयको पहिलो तलासम्म बाढीको पानी पुगेको थियो। शंखादेवी माध्यमिक विद्यालय जाने तीनवटा झोलुंगे पुल बाढीले बगाएपछि विद्यार्थीको विद्यालय पहुँचसमेत अवरुद्ध भएको छ।
६८ अस्थायी सिकाइ केन्द्र बनाइने
शिक्षा मन्त्रालयले पूर्ण रूपमा क्षति भएका वा तत्काल सञ्चालन गर्न नसकिने विद्यालयका विद्यार्थीको पढाइ निरन्तर राख्न ६८ वटा अस्थायी सिकाइ केन्द्र (TLC) स्थापना गर्ने योजना अघि सारेको छ।
त्यसमध्ये ३० विद्यार्थी क्षमताका १३ वटा अस्थायी सिकाइ केन्द्र स्थापना भइसकेका छन्। प्रभावित विद्यार्थीलाई पाठ्यपुस्तक तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने तयारीसमेत भइरहेको छ।
प्रभावित बालबालिकाका लागि छात्रावासको तयारी
अभिभावक गुमाएका बालबालिका, सडक तथा पुल क्षतिग्रस्त हुँदा विद्यालय जान नसक्ने विद्यार्थी र विद्यालयबाट धेरै टाढा रहेका बालबालिकाका लागि छात्रावासको व्यवस्था गर्ने योजना सरकारले अघि सारेको छ।
बागमती प्रदेश सरकारले नुवाकोटको लिखुस्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा २०० विद्यार्थीका लागि आवासीय शिक्षा व्यवस्था गर्ने तयारी गरेको छ। त्यस्तै रसुवाको उत्तरगया गाउँपालिकाले नीलकण्ठ माध्यमिक विद्यालयमा २५० विद्यार्थीका लागि आवासीय सुविधा उपलब्ध गराउने योजना बनाएको छ।
‘स्कलरसिप बैंक’ स्थापना गर्ने तयारी
बाढी प्रभावित बालबालिकाको शैक्षिक निरन्तरताका लागि शिक्षा मन्त्रालयले ‘स्कलरसिप बैंक’ स्थापना गर्ने घोषणा गरेको छ। यसमार्फत प्रभावित विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति उपलब्ध गराउने तथा आवश्यक परे आवासीय सहयोगसमेत गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले तत्काल विद्यालय भवन पुनर्निर्माणमा मात्र केन्द्रित हुनुभन्दा पहिले प्रभावित विद्यार्थीको विवरण संकलन, सुरक्षित विद्यालय पहिचान, शिक्षक व्यवस्थापन, पाठ्यपुस्तक वितरण, छात्रावासको व्यवस्था र नियमित कक्षा सञ्चालनलाई प्राथमिकता दिने जनाएको छ।
बाढीबाट प्रभावित क्षेत्रमा अहिले मुख्य चुनौती बालबालिकालाई सुरक्षित वातावरणमा पुनः विद्यालय फर्काउनु र उनीहरूको पढाइमा निरन्तरता कायम गर्नु रहेको छ। क्षतिग्रस्त सडक, पुल र विद्यालय पूर्वाधार पुनःस्थापना नहुँदासम्म केही क्षेत्रका विद्यार्थीलाई वैकल्पिक सिकाइ केन्द्र तथा आवासीय सुविधामार्फत शिक्षा दिनुपर्ने अवस्था देखिएको छ।