
ललितपुर, असोज २४
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं लेखक डा. देवराज अर्यालद्वारा लिखित कृति ‘स्थानबोध’ आज (शनिबार) लोकार्पण गरिएको छ। अपडेट साप्ताहिकको आयोजनामा ललितपुरको लगनखेलस्थित साबा क्याफे रेष्टुरेन्टमा आयोजित समारोहमा पुस्तक सार्वजनिक गरिएको हो।
समारोहमा वरिष्ठ साहित्यकार प्राध्यापक डा. रामकुमार पाँडे प्रमुख अतिथि रहनुभएको थियो भने त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. कुन्दन अर्याल अतिथि हुनुहुन्थ्यो। कार्यक्रममा त्रिचन्द्र क्याम्पस नेपाली विभागका प्रमुख डा. अंगदमणि गौतमले पुस्तकको समीक्षा गर्नुभएको थियो भने महेन्द्ररत्न क्याम्पस, ताहाचलका क्याम्पस प्रमुख डा. ओम बरालले शुभकामना मन्तव्य राख्नुभएको थियो।
अतिथिहरूसहित साहित्य, पत्रकारिता र शिक्षा क्षेत्रका सहभागीहरूको उपस्थितिमा कृति लोकार्पण गरिएको थियो।
‘स्थानबोध’ (Sense of Place) लेखकको आफ्नो जन्मथलो र बाल्यकालसँग जोडिएको आत्मपरक कृति हो। पुस्तकमा गाउँ, परिवार, समाज, संस्कृति, प्रकृति, शिक्षा, सञ्चार र राजनीतिसँग गाँसिएका अनुभव र स्मृति समेटिएका छन्। मानिसको जीवन समयको मात्र नभई स्थानको पनि यात्रा हो भन्ने मूल भाव पुस्तकले अघि सारेको छ।.jpeg)
कृतिमा ४७ वटा शीर्षक छन्। ‘स्मृतिको सीमाना र जन्मथलोको कथा’, ‘आमाको श्रम र गाउँको पाठशाला’, ‘देवीथान: गाउँको आस्था, उत्सवको केन्द्र’, ‘घाँटुनाच: मगर गाउँको सांस्कृतिक आत्मा’ र ‘दशैं: सम्पूर्ण गाउँको साझा उत्सव’ जस्ता शीर्षकमा गाउँको सांस्कृतिक जीवन उतारिएको छ। ‘खेतबारी: गाउँको आर्थिक जीवनको मेरुदण्ड’, ‘अदुवा’, ‘कोदो’ र ‘लोपोन्मुख बालीहरू’ मा कृषि र खानपान, ‘सूचना प्रविधिको लेन्सबाट हेर्दा मेरो गाउँ’ र ‘गाउँको बदलिँदो यथार्थ: सडक आयो, उत्पादन हरायो’ मा गाउँमा आएको परिवर्तन चित्रित छ। ‘रेडियो, गफगाफ र गाउँको अनौपचारिक सञ्चार संस्कृति’ र ‘पँधेरा, चौतारा र गाउँको प्रारम्भिक सञ्चार प्रणाली’ जस्ता शीर्षकले लेखकको पत्रकारिता तथा सञ्चार पृष्ठभूमि झल्काउँछन्। पुस्तकको अन्त्यमा ‘स्मृतिमा जीवित गाउँ’ र उपसंहार राखिएको छ।
पुस्तकको भूमिका प्राध्यापक रामकुमार पाँडे र डा. कुन्दन अर्यालले लेखेका हुन्। लेखकले कृति आफ्नी स्वर्गीय आमा अनुराधा अर्यालमा समर्पण गरेका छन्।
आवृत्ति छापाखाना प्रालिले प्रकाशन गरेको पुस्तकको पहिलो संस्करण वि.सं. २०८३ मा १ हजार प्रति छापिएको छ। पुस्तकको मूल्य नेरू ३०० तोकिएको छ।
लेखक अर्यालले पुस्तकको ‘कृतज्ञता’ मा भनेका छन्, “यस पुस्तकले पाठकहरूलाई आफ्नै जन्मथलो, आफ्ना स्मृति र जीवनयात्रालाई पुनः सम्झने अवसर दिन सक्यो भने लेखकीय प्रयत्न सार्थक ठान्नेछु।” उनले भौगोलिक स्थान र समसामयिक प्रसंग जोडिएका अन्य अनुभव आगामी दिनमा क्रमशः प्रकाशमा ल्याउने संकेत पनि गरेका छन्।

लेखकको परिचय
मध्यविन्दु–१४ नवलपरासीमा जन्मिएका डा. अर्याल विद्यावारिधि (पत्रकारिता तथा आमसञ्चार) र स्नातकोत्तर (भूगोल तथा पत्रकारिता) त्रिभुवन विश्वविद्यालयबाट गरेका हुन्। उनले चीनको बेइजिङस्थित कम्युनिकेसन युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय सञ्चारसम्बन्धी अप्लाइड कोर्स पनि गरेका छन्। हाल उनी त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा कार्यरत छन्।
उनले महेन्द्ररत्न क्याम्पस, मदन भण्डारी मेमोरियल कलेज र पासाङल्हामू मेमोरियल कलेजमा अध्यापन गरेका छन्। पत्रकारितामा उनले युगसम्वाद, दृष्टि, नवोदित र नारायणी साप्ताहिक, दैनिक पत्र, राससका साथै माउन्टेन टेलिभिजनमा काम गरेको अनुभव छ। ‘भौतिक भूगोल’ (२०७०), ‘नेपालमा साप्ताहिक पत्रकारिता’ (२०६९) र ‘मिडिया अनुसन्धान’ (२०८१) उनका प्रकाशित पुस्तक हुन्। उनका दर्जनौँ अनुसन्धानमूलक लेख पनि प्रकाशित छन्।