जनकपुरधाम, ६ मंसिर। मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। आइतबार बिहान जनकपुरधामस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले यादवलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख कर्णले शनिबार नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्न आह्वान गरिएको थियो। तर निर्धारित समयभित्र कुनै पनि दलले सरकार गठनका लागि आवश्यक बहुमतसहितको दाबी पेस नगरेपछि प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा यादव मुख्यमन्त्री नियुक्त भएका हुन्।
मुख्यमन्त्री नियुक्त भएसँगै यादवले अब प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक चुनौती सामना गर्नुपर्नेछ। संविधानअनुसार उनले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। विश्वासको मत प्राप्त गर्न नसकेमा उनको नेतृत्वको सरकार कायम रहन सक्ने छैन।
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल चार जना प्रदेशसभा सदस्यले प्रतिनिधिसभा निर्वाचनका लागि राजीनामा दिएपछि सदस्य संख्या १०३ कायम रहेको छ। जसपा नेपालका २८ सांसदमध्ये एक जना निलम्बनमा रहेकाले हाल २७ जना सदस्यको समर्थन रहेको छ। यस्तो अवस्थामा सरकारलाई निरन्तरता दिन यादवले अन्य राजनीतिक दलको समर्थन जुटाउनुपर्ने देखिन्छ।
यादवका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनमत पार्टीसँग सहकार्य गरी प्रदेशसभामा बहुमत पुर्याउनु प्रमुख राजनीतिक चुनौती बनेको छ।
यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्री भइसकेका छन्। उनी प्रदेशसभाको दोस्रो कार्यकालमा मधेश प्रदेशका पहिलो मुख्यमन्त्री बनेका थिए। त्यसअघि उनले प्रदेशसभाको पहिलो कार्यकालमा सभामुखको जिम्मेवारीसमेत निर्वाह गरेका थिए।
दोस्रो पटक मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका यादवका लागि सरकारलाई स्थायित्व दिनु, प्रदेशसभामा विश्वासको मत जुटाउनु र मन्त्रिपरिषद् विस्तार गर्नु तत्कालका प्रमुख प्राथमिकता हुने देखिएको छ।