पर्वत। पर्वतको पैयुँ गाउँपालिका–३, बेउलीबास बागालेस्थित श्री दीपज्योति आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरिएको छ। फ्रान्सको एयरबस कम्पनीसँग आबद्ध मोटो क्लबको सहयोग तथा कम्युनिटी फ्रेन्डली सोसाइटी नेपालको समन्वयमा विद्यालयलाई खेलमैदानका सामग्री, कम्प्युटर, विद्यार्थी पोसाक, शैक्षिक तथा खेलकुद सामग्री प्रदान गरिएको हो।
युवा समाजसेवी युवराज पौडेल र विवेक काफ्लेको समन्वयमा उक्त सहयोग विद्यालयलाई हस्तान्तरण गरिएको हो।
२०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत छन्। आर्थिक तथा शैक्षिक अवसरबाट वञ्चित बालबालिकालाई गुणस्तरीय, सहज र बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सहयोग उपलब्ध गराइएको विद्यालयले जनाएको छ।
विद्यालयमा लामो समयदेखि शैक्षिक सामग्री, खेलकुद सामग्री तथा बालमैत्री पूर्वाधारको अभाव रहँदै आएको थियो। आर्थिक अवस्था कमजोर भएका कतिपय विद्यार्थीले कापी, कलमजस्ता आधारभूत शैक्षिक सामग्रीसमेत जुटाउन नसक्दा नियमित पठनपाठन र विद्यालयप्रतिको आकर्षणमा समेत असर परेको थियो।
प्राप्त सहयोगसँगै विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन स्मार्ट बोर्डको व्यवस्था गरिएको छ। यससँगै विद्यालय स्मार्ट बोर्ड प्रयोग गर्ने क्षेत्रकै पहिलो विद्यालय बनेको जनाइएको छ।
सहयोगस्वरूप प्राप्त कम्प्युटर तथा शैक्षिक सामग्रीले विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास विद्यालयले लिएको छ। त्यस्तै, खेलकुद सामग्री तथा बालउद्यानका सामग्रीले बालबालिकालाई खेल्दै सिक्ने वातावरण निर्माण गर्नुका साथै उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालयको भौतिक तथा शैक्षिक वातावरणलाई आकर्षक र बालमैत्री बनाउन, विद्यार्थीको विद्यालयप्रतिको रुचि बढाउन तथा नियमित उपस्थिति र अध्ययन निरन्तरतामा सकारात्मक प्रभाव पार्न सहयोग महत्त्वपूर्ण हुने विद्यालयको विश्वास छ। यसले अभिभावकको विद्यालयप्रतिको भरोसा अभिवृद्धि गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
विद्यालय परिवारले प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालय केवल शिक्षण सिकाइको केन्द्र मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने आधारसमेत भएको उल्लेख गरेको छ।
आगामी दिनमा पनि यस्तै सहयोग र सहकार्य निरन्तर रहने अपेक्षा गर्दै विद्यालयले सहयोगी संस्था फ्रान्सको मोटो क्लब, समन्वयकर्ता विवेक काफ्ले तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण व्यक्ति र संस्थाप्रति धन्यवाद व्यक्त गरेको छ।