काठमाडौं, मंसिर ६। प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह औपचारिक राजकीय भ्रमणका लागि आज मित्रराष्ट्र भारत प्रस्थान गर्दै छन्। दुईदिने भ्रमणका क्रममा प्रधानमन्त्री शाहको नेतृत्वमा ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल भारत जाने भएको छ।
प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार, राजनीतिक सल्लाहकारलगायत उच्चपदस्थ सरकारी अधिकारी तथा विभिन्न संस्थाका प्रतिनिधिहरू सहभागी रहनेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्तामा नेपाल–भारत द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विभिन्न विषयमा छलफल हुने जनाइएको छ। साथै, केही महत्त्वपूर्ण विषयमा समझदारी गर्ने तयारीसमेत रहेको छ।
नेपाल र भारतबीच लामो समयदेखि राजनीतिक, आर्थिक, धार्मिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ। प्रधानमन्त्री शाहको यस भ्रमणले दुई देशबीचको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउँदै आपसी विश्वास, सहकार्य र साझेदारी विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसैबीच, भ्रमणका सन्दर्भमा प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग भेट गरी भ्रमणको तयारी र कार्यसूचीबारे जानकारी गराएका थिए। उक्त अवसरमा पार्टी सभापतिले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै पारस्परिक सम्मान, समानता र साझा हितका आधारमा भारतसँगको द्विपक्षीय सम्बन्ध थप मजबुत बनाउन भ्रमण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिनकुमार आचार्यले प्रधानमन्त्री शाहको भारत भ्रमण सफल, उपलब्धिपूर्ण तथा सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
