काठमाडौं, १५ फागुन
जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस वर्षको होली पर्व प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आफ्नै घरको कम्पाउन्डभित्र सीमित रूपमा मनाउन आग्रह गरेको छ।
प्रशासनले जारी गरेको सूचनामा आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै होली खेल्दा कुनै पनि राजनीतिक दलको चुनाव चिन्ह, लोगो वा उम्मेदवारको तस्बिर अंकित टि–सर्ट तथा अन्य सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ। अरूलाई बाधा नपर्ने गरी आफन्त र साथीभाइबीच मात्रै पर्व मनाउन आग्रह गरिएको छ।
यस वर्ष फागुन १८ गते पहाडी जिल्लामा र १९ गते तराई क्षेत्रमा होली मनाइँदैछ। प्रशासनले निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ दफा १३ ९घ० उद्धृत गर्दै जुलुस, आमसभा वा प्रचारप्रसारमा सहभागी व्यक्तिले दल वा उम्मेदवारको चुनाव चिन्ह वा झण्डा अंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेष्ट, टि–सर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क, लकेट वा झोला प्रयोग गर्न नहुने स्पष्ट पारेको छ। सोहीअनुसार होलीको अवसरमा यस्ता सामग्रीको प्रयोगमा पूर्ण प्रतिबन्ध लगाइएको जनाइएको छ।
त्यसैगरी, कसैको इच्छाविपरीत रङ दल्ने, पानीको लोला वा फोहोर हान्ने, सडकमा होहल्ला तथा झैझगडा गर्ने कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ। खुला सडक र सार्वजनिक स्थानमा भेला भई भिडभाड गर्ने, मेला–महोत्सव आयोजना गर्ने, मञ्च बनाएर सांगीतिक कार्यक्रम सञ्चालन गर्ने तथा मादक पदार्थको बिक्री–वितरण र सेवन गर्न समेत रोक लगाइएको प्रशासनले जनाएको छ।