काठमाडौँ, १० पुस
राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’ले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
बिहीबार क्रिसमस डेको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस्ता पर्वहरूबाट विभिन्न सांस्कृतिक पहिचान र धार्मिक आस्था बोकेका समुदायहरूबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने बताउनुभयो।
उहाँद्वारा जारी सन्देशमा भनिएको छ, “प्रेम, क्षमा, दया र शान्तिको आध्यात्मिक सन्देश बोकेको यस पर्वले मानवता, समानता र सेवाभावलाई बलियो बनाउँदै सामाजिक एकता कायम गर्न प्रेरणा दिन्छ। साथै इतिहास र संस्कृतिको संरक्षण गर्दै असल आचरण, शान्तिपूर्ण जीवनशैली र भाइचारालाई प्रवर्द्धन गर्न यस दिनले महत्वपूर्ण प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ।”
इसाई धर्मका अनुयायीहरूले जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन ‘क्रिसमस डे’लाई धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाउँदै आएका छन्। नेपालमा पनि यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी पर्व मनाउने गरिएको छ।
अन्त्यमा, राष्ट्रपति पौडेलले इसाई धर्मावलम्बीहरूको यस पर्वले सबै नेपालीहरूबीच आपसी विश्वास, प्रेम र एकताको भावना अझ सुदृढ बनाउने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।