काठमाडौं, ३ कात्तिक
प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको साझा आकांक्षा पूरा गर्न राष्ट्रिय संकल्पका साथ एकताबद्ध भएर अघि बढ्न सबैलाई आह्वान गर्नुभएको छ। तिहार, म्हं पूजा, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा आज जारी शुभकामना सन्देशमार्फत उहाँले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले कठिन परिस्थितिमा एकताबद्ध रहने नेपाली समाजको मौलिक संस्कृतिको स्मरण गर्दै निराशा र अन्धकारलाई समाप्त पार्दै उज्यालो भविष्य निर्माणमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो।
उहाँले आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। साथै, स्थिर सरकार निर्माण, सुशासन कायम, भ्रष्टाचारविरुद्ध ठोस कदम र जेनजी आन्दोलनका क्रममा भएका दमन तथा हिंसाको निष्पक्ष छानबिनलाई सरकारको प्राथमिक जिम्मेवारीका रूपमा रहेको स्पष्ट पार्नुभयो छ।
प्रधानमन्त्रीले भदौको जेनजी आन्दोलनले जनताले दिएको भरोसा र जिम्मेवारीलाई सम्मान गर्दै समावेशी, पारदर्शी र उत्तरदायी शासनमार्ग अवलम्बन गर्ने सरकारको प्रतिबद्धता रहेको बताउनुभयो। दीपावलीका पर्वले आशा, विश्वास र समृद्धिको प्रतीक बोकेको उल्लेख गर्दै उहाँले अन्धकारमाथि उज्यालो, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजयका रूपमा पर्व मनाउन सबैलाई आग्रह गर्नुभयो।