काठमाडौं,८ असोज
साझा यातायातले यात्रुहरूको सहजतालाई मध्यनजर गर्दै काठमाडौंदेखि नारायणगढसम्म विशेष बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँमा यात्रुको चापलाई लक्षित गरी दशैँ यात्री साझा शटल सेवा नामक यो योजना कोजाग्रत पूर्णिमासम्म सञ्चालन हुनेछ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले जारी गरेको सूचनामा यात्रुलाई सुरक्षित, सस्तो र भरपर्दो सेवा दिने उद्देश्यले बस सेवा सञ्चालन गरिएको उल्लेख गरिएको छ।
सूचना अनुसार पुल्चोकस्थित साझा यातायात कार्यालयबाट निस्कने बसहरू लगनखेल, सातदोबाटो, कोटेश्वर, गौशाला, चक्रपथ, गोंगबु बसपार्क हुँदै कलंकीबाट नारायणगढतर्फ प्रस्थान गर्नेछन्।
कलंकीबाट बिहान ७ बजेदेखि हरेक १ घण्टाको अन्तरालमा क्रमशः ८, ९, १०, ११ र १२ बजे बस छुट्ने व्यवस्था गरिएको छ। नारायणगढ पुगेपछि पुनः यात्रु लिएर काठमाडौं फर्किनेछ।
यात्रुले एकतर्फी यात्रा भाडा ३०० रुपैयाँ बुझाई अनिवार्य रूपमा टिकट लिनुपर्नेछ। साथै, सिटमा बाहेक उभिएर वा मुडामा बसेर यात्रा गर्न नपाइने स्पष्ट गरिएको छ।
टिकट वितरण र प्रयोगबारे ठाँउ–ठाँउमा अनुगमन हुने जनाइएको छ। टिकट नलिई यात्रा गर्नेहरुमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
साझा यातायातले आफ्नो नियन्त्रणबाहिरका असहज परिस्थितिका कारण बस सञ्चालन हुन नसकेको खण्डमा भने संस्था जिम्मेवार नहुने स्पष्ट गरेको छ।
