काठमाडौँ, २५ भदौ
परिवर्तनका एजेण्डा अघि सारेर भदौ २३ र २४ गते देशव्यापी प्रदर्शन, तोडफोड र आगजनीमा उत्रिएको समूह ‘जेन–जी’ अहिले भने सरसफाइ अभियानमा जुटेको छ।
अघिल्ला दुई दिनको तोडफोडपछिको दृश्यविपरित, आज ‘जेन–जी’का सहभागीहरू कुचो, खरेटो, बेल्चा जस्ता सरसफाइ सामग्रीसहित सडक र सार्वजनिक संरचनाहरूको सरसफाइमा सक्रिय देखिएका छन्।
उनीहरू काठमाडौँका विभिन्न ठाउँहरू सिंहदरबार परिसर, सर्वोच्च अदालत, माइतीघर मण्डला, बबरमहल, पुतलीसडक, थापाथली लगायत स्थानहरूमा समूहगत रूपमा फोहर उठाउने, जलाइएको टायर, फलामे सामान हटाउने, कागज र प्लास्टिक संकलन गर्ने कार्यमा संलग्न छन्। केही स्वयंसेवीहरूले उनीहरूलाई पिउने पानीसमेत वितरण गरिरहेका छन्।
सरकारी वकिलको कार्यालय नजिक सरसफाइ गरिरहेका जेनजी सदस्य दानसिंह धामीका अनुसार, सिंहदरबार वरिपरि मात्र चारभन्दा बढी समूह सक्रिय छन्। उनले टोल–टोलमा समेत सरसफाइ अभियान चलाइएको बताए।
यस अभियानमा केशव सिलवाल, केपी खनाललगायतका अगुवा जेनजी सदस्यहरूले नेतृत्व गरिरहेका छन्। काठमाडौँ महानगरपालिकाको फोहर बोक्ने गाडीहरू पनि सरसफाइमा संलग्न छन्।
सर्वोच्च अदालत परिसरमा सरसफाइ गरिरहेका खगेन्द्र रोकायाले “सिंहदरबार परिसरमा आफ्नो समूहले सरसफाइ गरिरहेको बताए ।
जेनजी समूहले नयाँ बानेश्वर, मीनभवन लगायतका क्षेत्रमा समेत सरसफाइ गरेको छ।