बागलुङ, २१ साउन
बडिगाड गाउँपालिकामा रहेको हालै सञ्चालनमा आएको १५ शय्याको आधारभूत अस्पतालमा डायलाइसिस सेवा सुरु सुरु हुनेभएको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत गाउँपालिकाले १ करोड १ लाख ४४ हजार ८२० रुपैयाँ बराबरका पाँचवटा डायलाइसिस उपकरण प्राप्त गरेको हो। गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीका अनुसार, यो सेवा दिने तयारीसँगै उपकरण अस्पतालमा पठाइएको छ।
साउन १ गतेदेखि सञ्चालनमा आएको उक्त अस्पताल पश्चिम बागलुङको बडिगाड–५ ग्वालीचौरमा १८ करोड लागतमा निर्माण गरिएको हो। अध्यक्ष थापा अधिकारीका अनुसार, गाउँपालिकाको यो अस्पतालबाट डायलाइसिस सेवा दिन लागिएको सम्भवत: देशकै पहिलो उदाहरण हो।
धवलागिरी अस्पतालमा मात्रै उपलब्ध रहेको डायलाइसिस सेवा अब बडिगाड गाउँपालिकाबाट पनि दिन थालिनेछ। एक वर्षअघि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र गाउँपालिका बीच भएको सम्झौताअनुसार उपकरण प्राप्त भएको हो।
सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तयारीका लागि गाउँपालिकाले एक मेडिकल अधिकृत र तीन स्टाफ नर्सलाई तालिममा पठाउने तयारी गरिरहेको छ। केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले आवश्यक जनशक्ति उपलब्ध गराउने विषयमा अध्ययन भइरहेको जानकारी दिनुभएको छ।
अस्पताललाई स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रथम सेवा विन्दुको रूपमा सूचीकृत गरिएको छ। गण्डकी प्रदेशबाट एक मेडिकल अधिकृत र संघीय सरकारले थप दुई चिकित्सक तथा तीन स्टाफ नर्ससहितको जनशक्ति दिने ४८ अस्पतालको सूचीमा पनि बडिगाडको यो अस्पताल परेको छ।
अध्यक्ष थापा अधिकारीले बताएअनुसार, यस अस्पतालको डायलाइसिस सेवाबाट बागलुङ पश्चिमका साथै छिमेकी जिल्ला गुल्मी, रुकुम र रोल्पाका नागरिकले पनि सहज सेवा प्राप्त गर्न सक्नेछन्। गाउँपालिकाले सबै वडामा स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी प्राथमिक उपचार सेवा दिँदै आएको छ।
पुष्पलाल लोकमार्गको नजिकै रहेको यस अस्पतालले दुर्घटनाका घाइतेलाई पनि सहज उपचार सेवा दिन सक्ने अपेक्षा गरिएको छ।