काठमाडौं । काठमाडौं महानगरपालिकाले वडाहरुमा क्यान्सरको निःशुल्क परीक्षण शिविर सुरु गरेको छ ।
महानगरपालिकाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सुरु गरेको हो । महानगरपालिकाका सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अनुसार शिविर वैशाख महिना भरी सञ्चालन हुने छ ।
मङ्गलवारबाट औपचारिक रुपमा सुरु भएको शिविर अन्तर्गत महिलाहरूको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर तथा प्रजनन अस्वस्थ्यताको परीक्षण गरिएको छ। कार्यक्रमको पहिलो दिन राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूको स्वास्थ्य जाँच गरिएको थियो।
कार्यक्रम थालनी गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, सुरु भएकै समयमा क्यान्सर पहिचान गर्न सके रोकथामको सम्भावना रहने भएकोले महानगरपालिकाले आयोजना गर्ने वडास्तरीय निःशुल्क शिविरमा आएर जाँच गराउन आह्वान गरिन्।
स्वास्थ्य विभागका निमित्त प्रमुख सजिना महर्जनकाअनुसार शिविरमा स्तन क्यान्सरको जाँचका क्रममा पहिले क्लिनिकल (चिकित्सकबाट) परीक्षण हुन्छ। यसपछि भिडियो एक्सरे हुन्छ। यी दुईप्रकारका परीक्षणबाट क्यान्सरका चिन्ह देखियो भने मेमोग्राम गराइन्छ। यस्तै पाठेघरको मुखको क्यान्सर जाँचका क्रममा नमूना संकलन गरिन्छ। यसको प्रयोगशाला परीक्षणपछि आउने स्वास्थ्य प्रतिवेदन (रिपोर्ट) सम्बन्धित व्यक्तिको मोवाइल नम्बरमा पठाइन्छ।
आजदेखि वडास्तरीय परीक्षण शिविर सुरु हुनेछ ।
यस क्रममा वडा नं. ३१ भीमसेनगोलामा बुधबार र विहीबार गरी २ दिन शिविर चल्नेछ । ७ ,९र १० गते इनबहालमा वडा नं२५ र २७ को संयुक्त शिविर हुनेछ ।
११ र १२ गते वडा नं.३ महाराजगञ्जमा हुनेछ। १४ गते वडा न. २६ लैनचौरमा, १६ गते वडा नं. २० भीमसेनस्थानमा, १७ गते , वडा नं. २१ यंगालमा, १८ गते वडा नं. २३ ओमवहालमा शिविर हुनेछ ।
यसैगरी वैशाख २० गते र २१ गते वडा नं. १५ मा, २४ गते वडा नं. २ लाजिम्पाटमा, २५ गते वडा नं. २४ मखनमा, २६ गते वडा नं. २२ टेवहालमा, २७ गते वडा नं. १८ नरदेवीमा, २८ गते वडा नं। १९ कंकेश्वरीमा, ३० गते र ३१ गते वडा नं ३२ पाल्पाकोट (छाप्रे) कोटेश्वरमा शिविर हुने तालिका छ ।
शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा। सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ वर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ। प्रजनन उमेर (३० पर्षदेखि ६० वर्ष) समूहका महिलाले हरेक ५ वर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ।