काठमाण्डौ – काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ । अहिले काठमाण्डौ उपत्यका र आसपासमा पानी परिरहेको छ ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।
बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित छिटपुटदेखि हल्का वर्षा तथा कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा छिटपुटदेखि हल्का हिमपात भइरहेको महाशाखाले बताएको छ।
बुधबार दिउँसो कोशी,मधेस, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको भनाइ छ।
पूर्वी भेगमा पर्सिसम्मै वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको हो । न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण पूर्वी नेपाल र मधेशमा वर्षा सुरु भएको हो ।