काठमाडौं, भदौ १९ गते। सशस्त्र प्रहरी बल, नेपालले हालैको बाढी तथा विपद्बाट प्रभावित आफ्ना कर्मचारी र परिवारका लागि विभिन्न राहत तथा सहयोगका कार्यक्रम घोषणा गरेको छ। संगठनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो तर्फबाट १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको हो।
उक्त रकम सशस्त्र प्रहरी कर्मचारीको तलबबाट निश्चित दिन बराबरको रकम कट्टा गरी कोषमा जम्मा गरिनेछ। तर बाढीका क्रममा टिमुरे र मैलुङ क्षेत्रमा कार्यरत रही ज्यान जोगाउन सफल भएका कर्मचारीको तलबबाट भने रकम कट्टा नगरिने जनाइएको छ।
बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णयसमेत गरिएको छ। साथै मृतक कर्मचारीले कल्याण कोषबाट लिएको ऋणको बाँकी रकम मिनाहा गरिने भएको छ।
मृतक कर्मचारीका सन्ततिलाई पायक पर्ने नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म अध्ययनका लागि शैक्षिक शुल्क छुट दिने व्यवस्था पनि गरिएको छ। आश्रित परिवारका कुनै सदस्यको बाढीका कारण मृत्यु भएमा प्रतिव्यक्ति एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
त्यस्तै, मृतक सशस्त्र प्रहरी कर्मचारीको सम्झनामा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने तथा मृतकका आश्रित परिवारका एक–एक सदस्यलाई सीपमूलक तालिम दिने निर्णय गरिएको छ।
बाढीबाट ज्यान जोगाउन सफल पाँच जना सशस्त्र प्रहरी कर्मचारीलाई जनही ५० हजार रुपैयाँ तत्काल राहत दिइनेछ। अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारीसमेत राहतको दायरामा परेका छन्। बाढीका कारण मृत्यु भएमा एक लाख, पूर्ण रूपमा घरबारविहीन भएमा एक लाख तथा आंशिक भौतिक क्षति वा घाइते भएकालाई ५० हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने सशस्त्र प्रहरी बलले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार विपद्का समयमा कर्मचारी तथा उनीहरूका परिवारको संरक्षण र सहयोगलाई प्राथमिकतामा राख्दै राहतसम्बन्धी निर्णय गरिएको हो।