काठमाडौं, २२ वैशाख
जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तराईका केही जिल्लामा हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो र राति लुम्बिनी र मधेस प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।
दिउँसो बाँके, दाङ, रुपन्देही, कपिलवस्तु र आसपासका क्षेत्रमा हावाहुरीको प्रभाव पर्ने सम्भावना छ भने राति कपिलवस्तु, रुपन्देही, बारा, पर्सा, रौतहट र आसपासका क्षेत्रमा समेत तीव्र हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।
सावधानी अपनाउन आग्रह गर्दै महाशाखाले हावाहुरीका बेला अनावश्यक रूपमा घरबाहिर ननिस्कन, घरका झ्याल–ढोका राम्रोसँग बन्द गर्न, घरबाहिर आगो नबाल्न र घरभित्र आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
त्यस्तै कमजोर संरचना, अग्ला रुख, बिजुलीका खम्बा तथा तारमुनि नबस्न र लत्रिएको विद्युत् तार नछुन पनि आग्रह गरिएको छ।
महाशाखाका अनुसार यसअघि हिजो पनि केही स्थानमा हावाहुरी चलेको थियो। प्रि–मनसुनको समयमा मेघगर्जन, चट्याङ र हावाहुरीजस्ता मौसमी गतिविधि बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।