माघ २९, कालीकोट– कालिकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन्। २०७४ सालमा जिल्लामा स्वास्थ्य बीमाको सेवा विस्तार भएको थियो। २०७८ को जनगणनाअनुसार जिल्लाको कुल जनसंख्या १ लाख ४५ हजार २ सय ९२ छ। पुरुषको जनसंख्या ७२ हजार २ सय ४५ र महिलाको जनसंख्या ७३ हजार ४७ छ।
जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपनि ९२ हजार १ सय ५३ अर्थात ६३ प्रतिशत नागरिकले सो कार्यक्रमबाट अझै लाभ लिन सकेका छैनन्। स्वास्थ्य बीमाका बारेमा स्थानीयलाई पुर्ण जानकारी नहुनु, एजेन्टहरु घर–घरमा नजानु र सम्बन्धित निकायले चासोका साथ कार्यक्रम कार्यान्वयनमा ध्यान नदिँनु जस्ता समस्याले जिल्लाका सबै नागरिकहरु स्वास्थ्य बीमाको पहुँचमा पुग्न सकेका छैनन्।
ग्रामीण क्षेत्रका स्थानीयको आर्थिक अवस्था कमजोर रहेको र उपचार खर्च जुटाउन नसक्दा अकालमा ज्यान गुमाउने समस्या रहेको भन्दै सरकारले २०७२ देखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको हो।
सरकारले अपाङ्ग, अशक्त, कुष्ठरोगी, एचआइभी संक्रमित र जेष्ठ नागरिकको निशुल्क बीमा गर्ने व्यवस्था गरेको छ भने अन्यको शुल्क लिएर एक लाख रुपैयाँ बराबरको स्वास्थ्य बीमा गर्ने गरेको छ। आर्थिक अवस्था कमजोर भएका यस्ता बर्गलाई बीमाले लाभ हुने भएपनि त्यसबारे जानकारी नै नहुँदा उनीहरु बीमा सेवाबाट बञ्चित छन्।
बीमा कार्यालयका अनुसार ६ वर्षमा बीमा गराएका ५३ हजार १ सय ३९ मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेर बीमा गराएका हुन्। ३१ हजार ८४ अतिगरिव, १ हजार ७ सय ४ अपांग, १ सय ५५ एचआइभि संक्रमित, ३० कुष्ठरोगी, २ सय ४ एमडिआरटिभि, २ हजार १ सय ४७ जेष्ठनागरिक र १ सय ७३ महिला स्वास्थ्य स्वयम सेविकाले स्वास्थ्य बीमा गरेका छन्।
महिला स्वास्थ्य स्वयम सेविकाले बीमा रकममा ५० प्रतिशत छुट पाउने ब्यवस्था रहेको स्वास्थ्य बीमा कार्यालय कालिकोटका जिल्ला संयोजक सर्पराज रोकायाले बताए। जिल्ला महिला स्वास्थ्य स्वयम सेविका संख्या २ सय ९८ जना रहेको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटल महतले बताउनु भयो।