सांसद धनबहादुर बुढाले यार्सागुम्बाको उत्पादनमा आएको तिब्र गिरावटले हिमाली क्षेत्रको अर्थतन्त्र गम्भीर संकटमा परेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यार्सागुम्वा उत्पादनमा ६० प्रतिशत गिरावट आएको बताउनुभएको हो । उहाँले सरकारले तत्काल संरक्षण, राहत र दीर्घकालीन व्यवस्थापन ध्यान दिन माग गर्नुभयो ।
डोल्पासहित १२ हिमाली जिल्लाका हजारौं परिवारको वार्षिक आम्दानी यार्सागुम्बामा निर्भर रहेको उहाँको भनाई छ । जलवायु परिवर्तन, अव्यवस्थित संकलनलगायतका कारणले यार्सागुम्बाको उत्पादनमा निन्तर गिरावट आएको उहाँले जानकारी दिनुभयो । उहाँले यार्सागुम्बाको उत्पादन घट्नु एउटा जडीबुटीको मात्र समस्या नभई सम्पूर्ण हिमाली अर्थतन्त्रमा असर पर्ने विषय भएको बताउनुभयो ।
उत्पादन घटेसँगै स्थानीय बजार सुनसान बनेको, हजारौं परिवारको आम्दानी गुमेको र धेरै घरपरिवारमा खाद्य संकटको चिन्ता बढेको उहाँले उल्लेख गर्नुभयो । सांसद बुढाले वर्षौंदेखि यार्सागुम्बाबाट राज्यले करोडौं रुपैयाँ राजश्व संकलन गरे पनि संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा प्रभावकारी पहल नदेखिएको आरोप लगाउनु भयो । उहाँले सरकारसमक्ष तीनबुँदे माग प्रस्तुत गर्दै यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, ब्रान्डिङ र दिगो बजार व्यवस्थापनका लागि वैज्ञानिक तथा दीर्घकालीन नीति तत्काल ल्याउन आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कर्णालीको आर्थिक मेरुदण्ड यार्सागुम्बा आज गम्भीर संकटमा छ । डोल्पा सहित १२ हिमाली जिल्लाका हजारौँ परिवारको वार्षिक आम्दानी यार्सागुम्बा माथि निर्भर छ । तर जलवायु परिवर्तन, अव्यवस्थित संकलन र अन्य कारणले यस वर्ष पनि उत्पादनमा ६० प्रतिशत भन्दा बढीले घटेको अनुमान छ । यार्सा घट्नु भनेको एउटा जडीबुटी घट्नु मात्र होइन, हिमाली अर्थतन्त्र घट्नु हो । यो राष्ट्रलाई ठूलो नोक्शान हुनु हो । बजार सुनसान छन्, हजारौँ परिवारको आम्दानी गुमेको छ र धेरै घरमा भोकमरीको चिन्ता बढेको छ ।
वर्षौंदेखि सरकारले यार्साबाट करोडौँ राजस्व उठायो तर आज संकटमा परेका संकलक र हिमाली समुदायका पक्षमा सरकार कहाँ छ ? तसर्थ म सरकारसँग तीनवटा माग राख्न चाहन्छु । पहिलो, यार्सागुम्बा संरक्षण, संकलकको सुरक्षा तथा उद्धार बीमा, यार्सा ब्रान्डिङका साथै दिगो बजारका लागि वैज्ञानिक र दीर्घकालीन नीति तत्काल ल्याइयोस् । दोस्रो, प्रभावित संकलक परिवारको अवस्था मूल्याङ्कन गरी आवश्यक राहतको व्यवस्था गरियोस् ।
तेस्रो, डोल्पामै यार्सा सहित अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी दिगो पर्यटन र स्थानीय रोजगारीसँग जोडिएको विशेष जीविकोपार्जन कार्यक्रम संचालन गरियोस् । हिमाली जनताको यो आवाज सरकारले कहिले सुन्छ ?
म सरकारसँग स्पष्ट जवाफ माग्न चाहन्छु ।’
उहाँले प्रभावित परिवारको अवस्था मूल्याङ्कन गरी आवश्यक राहत उपलब्ध गराउन र डोल्पामै यार्सागुम्बासहित अन्य जडीबुटी प्रशोधन केन्द्र स्थापना गरी दिगो पर्यटन तथा स्थानीय रोजगारीसँग जोडिएको विशेष जीविकोपार्जन कार्यक्रम सञ्चालन गर्न माग गर्नुभयो । सांसद बुढाले हिमाली जनताको आवाजप्रति संवेदनशील बन्न सरकारसंग आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल