काठमाडौं, ८ जेठ
संघीय संसद्अन्तर्गत आज शुक्रबार एकैदिन १० वटा संसदीय समितिको बैठक बस्दैछन्। विभिन्न समितिहरूले बजेट, मानव अधिकार, पूर्वाधार, सुशासन, सञ्चार तथा सामाजिक सुरक्षालगायत समसामयिक विषयमा छलफल गर्ने कार्यसूची तय गरेका छन्।
प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने नीतिगत विषयबारे उपसमितिहरूले सुझाव प्रस्तुत गर्नेछन्।
कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक दिउँसो १ बजे बस्दैछ। बैठकमा नेपालका कारागार तथा प्रहरी हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकार अवस्थाबारे गृह मन्त्रालयसँग छलफल गरिनेछ।
पूर्वाधार विकास समितिको बैठक बिहान ९ बजेका लागि तय गरिएको छ। बैठकमा मध्यपूर्वमा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माणमा परेको प्रभावबारे छलफल हुनेछ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ११ बजेका लागि तय गरिए पनि दिउँसो २ बजे बस्नेछ। समितिको कार्यसूची भने सार्वजनिक गरिएको छैन।
महिला तथा सामाजिक मामिला समितिले सरकारको नीति तथा कार्यक्रम र आगामी बजेटका विषयमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रीसँग छलफल गर्नेछ।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा बनेपास्थित विस्थापित सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमनबाट देखिएका विषय तथा विपद् व्यवस्थापनसम्बन्धी सरकारी तयारीबारे छलफल गरिने कार्यसूची छ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सूचना तथा सञ्चार मन्त्रालयको विद्यमान अवस्था र भावी कार्ययोजनाबारे छलफल गर्नेछ।
सार्वजनिक लेखा समितिको बैठकमा महालेखापरीक्षकसँग बेरुजु फर्स्योटसम्बन्धी विषयमा छलफल हुनेछ। यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिले आगामी आर्थिक वर्षको बजेट तर्जुमाबारे अर्थमन्त्रीसँग छलफल गर्नेछ।
त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा समितिको कार्यविधि पारित गर्ने, लैङ्गिक असमानता अध्ययन उपसमितिको प्रगति विवरणमाथि छलफल गर्ने तथा अन्य उपसमिति गठनसम्बन्धी निर्णय गरिने जनाइएको छ।
