काठमाडौँ, ७ जेठ
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै सदनमा अवरोध गरेपछि बैठक स्थगित गरिएको हो।
सभामुख डोलप्रसाद अर्यालका अनुसार बैठक आजै १५ मिनेटपछि पुनः बस्नेगरी स्थगित गरिएको छ।
आजको बैठकमा विशेष समय सकिएपछि प्रतिपक्षी सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुखले नेकपा ९एमाले० का सांसद ऐन महरलाई समय दिनुभएको थियो।
सांसद महरले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै संसद्मा प्रधानमन्त्रीले प्रश्नहरूको सामना गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो। उहाँले नियमावलीअनुसार प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन सभामुखसँग आग्रह गर्नुभएको थियो।
त्यस्तै, श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नियमावलीभन्दा बाहिर गएर संसद सञ्चालन गर्न नहुने भन्दै प्रधानमन्त्रीलाई सदनमा बोलाउन रुलिङ गर्न माग गर्नुभयो।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले प्रधानमन्त्री संसद्प्रति जवाफदेही हुनुपर्ने व्यवस्था उल्लङ्घन भएको भन्दै उहाँलाई सदनमा उपस्थित गराउनुपर्ने माग गर्नुभयो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले सांसदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने व्यवस्था भए पनि कार्यान्वयन नभएको भन्दै प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्नुभयो।
सभामुख अर्यालले पटक–पटक सांसदहरूलाई बस्न आग्रह गर्दा पनि अवरोध कायम रहेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो।