काठमाडौँ, ३० वैशाख
सांसदहरुले मूल्यवृद्धि नियन्त्रण, रोजगारी सिर्जना, सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँहरुले जातीय विभेदका घटना न्यूनीकरण र रुग्ण उद्योग सञ्चालनमा ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभएको छ।
सांसद कमला पन्तले मुलुकको गौरवका रुपमा रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको तयारी सम्बन्धमा सरकारको जवाफ माग गर्नुभयो। सांसद जयन्ती राईले अतिक्रमण हटाउने क्रममा विस्थापित भएका सुकुमवासीको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद दुर्गा गुरुङले दीर्घकालीन रुपमा सुकुमवासी समस्या समाधान गर्न सरकारसँग आग्रह गर्नुभयो। सांसद नरबहादुर विष्टले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य गरी स्वदेशमै रोजगारीको अवसर सिर्जना हुने योजना ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद नारायणदत्त मिश्रले नागरिक अधिकार र लोकतन्त्रको रक्षामा सरकारको प्रतिबद्धता माग गर्नुभयो। सांसद भुवनबहादुर सुनारले जातीय विभेदका घटना नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गर्नुभयो।
सांसद मदनकुमारी शाह (गरिमा) ले कसैले पनि संसद्को अवमूल्यन गर्न नहुने बताउनुभयो। सांसद युवराज शर्माले सुशासन, मूल्यवृद्धि नियन्त्रण, विकास निर्माणलगायत विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउनुभयो।
सांसद राजेन्द्रलक्ष्मी गैरेले स्वास्थ्य क्षेत्रमा संवेदनशील हुन् सरकारलाई सुझाव दिनुभयो। सांसद सोनाम गेल्जेन शेर्पाले सिंहदरबारभित्र ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई कारबाही गर्न माग गर्नुभयो। रासस