काठमाडौँ, १९ चैत
नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमति, सहकार्य र सुशासनमार्फत नागरिकमा आशा र विश्वास जगाउनुपर्नेमा जोड दिनुभएको छ।
प्रतिनिधिसभाको आजको पहिलो बैठकमा उहाँले राजनीतिक अस्थिरता र कमजोर शासनशैलीका कारण निराशा बढेको उल्लेख गर्दै भविष्यमा यस्तो अवस्था आउन नदिन दूरदर्शी नीति र स्थिर सरकार आवश्यक रहेको बताउनुभयो।
विगत ३५ वर्षमा द्वन्द्व, भूकम्प तथा कोभिड–१९ महामारीजस्ता चुनौतीका बाबजुद देशमा पूर्वाधार, विद्युत्, सञ्चार, स्वास्थ्य र वित्तीय क्षेत्रमा प्रगति भएको उल्लेख गर्दै नेता आङ्देम्बेले ‘केही पनि भएन’ भन्ने निराशावादी धारणा यथार्थमा आधारित नभएको तर्क गर्नुभयो।
उहाँले विभिन्न लोकतान्त्रिक आन्दोलनदेखि पछिल्लो जेनजी विद्रोहसम्म ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै अब देशमा पुनः हिंसा दोहोरिन नदिन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्ने बताउनुभयो। नेता आङ्देम्बेले २०४६ सालको जनआन्दोलन, सशस्त्र द्वन्द्व, २०६२/६३ को जनआन्दोलन, मधेस आन्दोलनलगायतका सङ्घर्ष स्मरण गर्दै फरक विचार भए पनि सबै एउटै राष्ट्रिय लक्ष्यमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले संसदीय लोकतान्त्रिक प्रणालीलाई नेपालको साझा मार्गका रूपमा व्याख्या गर्दै बिपी कोइरालाले प्रस्ताव गरेको यो प्रणालीप्रति सबै राजनीतिक शक्ति पुनः प्रतिबद्ध भएको उल्लेख गर्नुभयो। नेता आङ्देम्बेले कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने स्पष्ट पार्दै पहिलो दलका रूपमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी तथा प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
उहाँले गत भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्दै संसद् भवन र सिंहदरबारमा भएको क्षतिको यथार्थ सार्वजनिक गर्नुपर्ने बताउनुभयो। दोषीलाई कारबाही र निर्दोषलाई संरक्षण गर्नुपर्ने नेता आङ्देम्बेको भनाइ थियो।
उहाँले नयाँ सरकारलाई संविधान र जनअपेक्षाविपरीत काम भए प्रतिपक्षले सशक्त रूपमा खबरदारी गर्ने उल्लेख गर्नुभयो। यसैबीच, उहाँले राष्ट्रपति रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री सुशीला कार्की, निर्वाचन आयोग, सुरक्षा निकाय तथा सञ्चारकर्मीप्रति निर्वाचन सम्पन्न गर्न योगदान पु¥याएकामा आभार व्यक्त गर्नुभयो।