काठमाडौँ, १५ फागुन
सैनिक कमाण्ड तथा स्टाफ कलेजमा २०८२ वैशाख ४ गतेबाट सुरु भएको ३२ औँ कमाण्ड तथा स्टाफ तालिमको दीक्षान्त समारोह प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ।
समारोहमा प्रधान सेनापतिले तालिममा प्रथम हुने सेनानी दिपेन्द्र विक्रम के।सी।लाई सर्वोत्कृष्ट शिक्षार्थी पुरस्कार र भारतीय सेनाका मेजर अनमोल चौधरीलाई सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय शिक्षार्थी अधिकृत पुरस्कार प्रदान गर्नुका साथै कलेजको वार्षिक प्रकाशन शिवपुरी जर्नल (The Shivapuri Journal) को २७ औँ संस्करण विमोचन गर्नुभयो।

सोही कार्यक्रममा Masters in Strategic Studies (MSS) Programme तर्फ प्रथम भएका भारतीय सेनाका मेजर अनमोल चौधरीलाई त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. दिपक आचार्यले र कमाण्डान्ट पेपरतर्फ प्रथम भएका सेनानी सञ्जय सिलवाल र सह सेनानी विनोद कुमार गुरागाईलाई शिक्षाधिकृत उपरथी भुवन खत्रीले पुरस्कार प्रदान गर्नुभयो ।

आजको समारोहमा नेपाली सेनाका ८१ जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राष्ट्रिय अनुसन्धान विभागका १/१ जना तथा मित्रराष्ट्र बंगलादेश, चीन, भारत, केन्या, माल्दिभ्स, नाइजेरिया र पाकिस्तानका गरी ८ विदेशी सहित जम्मा ९२ जना अधिकृतहरू दीक्षित भएका हुन्। यससँगै, हालसम्म नेपाली सेनाका १३०८, नेपाल प्रहरीका १७, सशस्त्र प्रहरी बल, नेपालका २९, राष्ट्रिय अनुसन्धान विभागका २०, रक्षा मन्त्रालयका १ र विभिन्न राष्ट्रहरूका १३२ गरी जम्मा १५०७ जना शिक्षार्थी अधिकृतहरू प्रशिक्षित भएका छन्।

उक्त कार्यक्रममा रथीवृन्द, पूर्व शिक्षाधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल र राष्ट्रिय अनुसन्धान विभागका ज्येष्ठ अधिकृत, रक्षा मन्त्रालयका सहसचिव, नेपालस्थित विभिन्न देशका सैनिक सहचारीहरू, कलेजको शैक्षिक गतिविधिसँग सम्बन्धित विभिन्न संस्थामा आबद्ध महानुभावहरू तथा अधिकृत र शिक्षार्थी अधिकृतहरूका परिवारजनको उपस्थिति रहेको थियो।
.jpeg)