काठमाडौं,२१ पुस
३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ। नेपाल एकीकरणका क्रममा प्रयोग भएको ऐतिहासिक गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा कार्यक्रम गोरखा दरबारबाट शुभारम्भ भएको छ।

नेपाली सेना अन्तर्गत जंगी अड्डा, जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोमबार (पौष २७ गते) गोरखा दरबारबाट सुरु भएको उक्त पदयात्रा कार्यक्रममा गोरखा जिल्ला न्यायाधीश, जिल्ला समन्वय समितिका प्रमुख, गोरखा नगरपालिकाका प्रमुख, पश्चिम पृतनाका पृतनापति, स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सरकारी कार्यालय तथा सुरक्षा निकायका प्रमुख–प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

पदयात्रामा नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबैभन्दा पहिले खडा भएका पाँच कम्पनी—श्रीनाथ, कालिबक्स, बर्दबहादुर, पुरानो गोरख र सबुज—का झण्डा तथा ऐतिहासिक गोरखा जिल्लामा तैनाथ श्री रुद्रध्वज गणबाट पारम्परिक सैन्य पोशाक र बाजागाजासहितको टोली सहभागी रहेको छ।
नेपाली सेनाका अनुसार उक्त पदयात्रा धादिङ, नुवाकोट हुँदै हनुमानढोका दरबार पुगेर पौष २७ गते जंगी अड्डामा आयोजना हुने विशेष समारोहका बीच समापन हुनेछ।
.jpeg)
यसै अवसरमा पौष २७ गते जंगी अड्डास्थित सभामण्डपमा राष्ट्र निर्माता श्री ५बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देन सम्बन्धी प्रवचन, लघु नाटक तथा वृत्तचित्र प्रदर्शनी, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरू आयोजना हुनेछ।
त्यस्तै, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर र विदेशमा तैनाथ नेपाली सेनाका विभिन्न इकाईहरूमा विविध कार्यक्रमहरू सञ्चालन भई रहेका छन्।
