काठमाडौं, २० भदौ
ग्लोबल आइएमई बैंक लिमिटेडले प्रतिष्ठित ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ अन्तर्गत ‘बेस्ट बैंक अवार्ड’ प्राप्त गरेको छ।
मंगलबार सिंगापुरमा आयोजित विशेष समारोहमा युरोमनी म्यागजिनका प्रतिनिधिले अवार्ड बैंकका सञ्चालक समिति सदस्य रामबहादुर भण्डारी र ट्रेजरी तथा करेस्पोन्डेन्ट बैंकिङ विभागका म्यानेजर शिशिर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो।
सन् १९९२ मा स्थापना गरिएको यो अवार्डलाई बैंकिङ क्षेत्रको प्रतिष्ठित अवार्ड मानिन्छ। यस पटकको अवार्ड बैंकले प्रदान गर्दै आएको गुणस्तरीय सेवा, वित्तीय स्थायित्व, सामाजिक उत्तरदायित्व, नयाँ प्रविधिको उपयोग, वातावरणीय तथा सुशासनमा गरेको लगानी र उच्च कार्यसम्पादनको आधारमा प्रदान गरिएको हो।
योसँगै ग्लोबल आइएमई बैंक तेस्रो पटक युरो मनी अवार्ड फर एक्सलेन्सको ‘बेस्ट बैंक अवार्ड’बाट सम्मानित भएको हो। यसअघि पनि बैंकले २०२२ र २०२४ मा सोही अवार्ड जितिसकेको थियो। साथै, हालै बैंकले ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड २०२४’ र ‘२०२५’ समेत प्राप्त गरिसकेको छ।
देशकै पहिलो निजी वाणिज्य बैंकका रूपमा ग्लोबल आइएमईले हाल ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन काउन्टर र ३ विदेशी प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले नेपालभित्र मात्रै होइन, अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेशिया, कोरिया, जापान, खाडी मुलुकसहित विश्वका विभिन्न स्थानबाट रेमिट्यान्स सेवा उपलब्ध गराउँदै आएको छ।