काठमाडौं । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि कृषि विकास बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको तर्फबाट ३ करोड रुपैयाँको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। चेक हस्तान्तरणका क्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष टंकप्रसाद पाण्डेको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा कृषि विकास बैंकका उपमहाप्रबन्धक सुशील हुमागाईं, विभागीय प्रमुख बीना शर्मा र वरिष्ठ शाखा प्रमुख ध्रुव पौडेल लगायतको उपस्थिति थियो।.jpeg)
बाढीका कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा हजारौँ नागरिक प्रभावित बनेको अवस्थामा पीडित परिवारको राहत, उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम प्रदान गरेको जनाएको छ। बैंकले यस सहयोगलाई आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गतको महत्वपूर्ण पहलका रूपमा लिएको छ।
विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै कृषि विकास बैंकले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, मृतकका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
बैंकले विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई थप सहयोग आवश्यक रहेको भन्दै देश तथा विदेशमा रहेका इच्छुक संघसंस्था र व्यक्तिहरूलाई समेत सक्दो सहयोग गर्न अपिल गरेको छ।
यसका लागि नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा सहयोग गर्न सकिने बैंकले जनाएको छ। बैंकले उक्त कोषको खाता विवरण तथा क्यूआर कोडसमेत सार्वजनिक गर्दै विपद् प्रभावितको राहत, उद्धार र पुनःस्थापनामा हातेमालो गर्न सबैलाई आग्रह गरेको छ।
बैंकका अनुसार प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको जीवन सहज बनाउन सरकारी प्रयाससँगै निजी क्षेत्र, वित्तीय संस्था, संघसंस्था तथा नागरिक समाजको सहयोग पनि आवश्यक रहेको छ। कृषि विकास बैंकको ३ करोड रुपैयाँ सहयोगले बाढी प्रभावितको तत्कालीन राहत तथा पुनःस्थापना कार्यमा केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको छ।
#कृषिविकासबैंक #३करोडसहयोग #प्रधानमन्त्रीदैवीप्रकोपउद्धारकोष #बाढीपीडित #राहत #उद्धार #पुनःस्थापना #स्वर्णिमवाग्ले #गोविन्दगुरुङ #नेपालसमाचार