काठमाडौँ,१६ भदौ
नबिल बैंक लिमिटेड र निम्बजबीच डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवाका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ। अब नबिल बैंकका ग्राहकले एन बैंक मोबाइल एपमार्फत विभिन्न मुलुकका लागि डाटा ई–सिम र अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट सेवा सहजै प्राप्त गर्न सक्ने भएका छन्।
समझदारी पत्रमा बैंकतर्फ नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र निम्बजतर्फ निर्देशक ऋषभ तिमिल्सिनाले हस्ताक्षर गर्नुभएको थियो।
समझौता अनुसार, बैंक एपमार्फत ग्राहकहरूले चीन, भारत, अमेरिका, अस्ट्रेलिया, दुबई, थाइल्यान्ड, कतार, जापान, कोरिया, इटाली, फ्रान्स, क्यानाडा लगायत २०० भन्दा बढी देश र क्षेत्रका लागि डाटा ई–सिम खरिद गर्न सक्नेछन्। यसले विदेश भ्रमण, अध्ययन वा वैदेशिक रोजगारीका लागि जानेहरूलाई सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नेछ।
नायब प्रमुख कार्यकारी अधिकृत बजगाईंका अनुसार, विदेश जानेबित्तिकै इन्टरनेट समस्या, सिम खरिदका लागि केवाइसी प्रक्रिया र विदेशी मुद्रा बुझाउने झन्झटलाई ध्यानमा राखेर यो सेवा सुरु गरिएको हो। एपमार्फत ग्राहकहरूले आफू अनुकूल डाटा प्याकेज छान्न र खरिद गर्न सक्नेछन्।
यसका साथै, एन बैंक एपमार्फत अन्तर्राष्ट्रिय ड्राइभिङ परमिट पनि लिन सकिने व्यवस्था गरिएको छ। संयुक्त राष्ट्रसंघको मापदण्डअनुसार तयार हुने यस अनुमति पत्र १९० भन्दा बढी देशमा मान्य हुनेछ। ग्राहकले एपमार्फत १० मिनेटभित्रै आवेदन दिन सक्नेछन्। अनुमति पत्रका लागि आफ्नो सवारी चालक अनुमति पत्र अपलोड गर्नुपर्दछ र परीक्षा दिन आवश्यक छैन। आवेदनपछि २४ घण्टाभित्र विद्युतीय अनुमति पत्र उपलब्ध हुन्छ, जुन डिजिटल वा फिजिकल कार्ड स्वरूपमा प्राप्त गर्न सकिनेछ।
निम्बज निर्देशक तिमिल्सिनाले यस सेवाले विद्यार्थी, वैदेशिक रोजगारीमा जाने तथा अन्तर्राष्ट्रिय यात्रुहरूलाई सीमा पार आवागमनमा सहजता र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो।
निम्बज एक अग्रणी सुपरएप हो, जसमा च्याट, भिडियो कल, सामाजिक सञ्जाल, लाइभ स्ट्रिमिङ, किनमेल, ओटिटि मूभी, डिजिटल वालेट, क्विज, गेम लगायतका सुविधाहरू एकै प्लेटफर्ममा उपलब्ध छन्।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो, जसले २५ लाखभन्दा बढी ग्राहकलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ। विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाको सुरुवात गर्दै देशको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।