काठमाडौं,८ भदौ
नेपालले ११० भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गर्दै आए पनि अधिकांश मुलुकसँग घाटा बेहोर्नुपरेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा भारत, चीनसहितका प्रमुख व्यापारिक साझेदारहरूसँग अब्जौँ रुपियाँको घाटा भएको देखिएको छ।
भारतसँग सबैभन्दा ठूलो घाटा
गत साउन महिनामा भारतसँग ८३ अर्ब ५३ करोड ९९ लाख बराबरको वस्तु आयात हुँदा निर्यात भने १९ अर्ब ४५ करोड २० लाख मात्र भएको छ। यसरी नेपालले भारतसँग ६४ अर्ब ८ करोड ७८ लाख बराबरको घाटा बेहोरेको छ।
चीन र युएईसँग ठूलो असन्तुलन
त्यसैगरी, चीनबाट २७ अर्ब ९९ करोड ६० लाख बराबरको आयात भएकोमा निर्यात पाँच करोड ४८ लाख मात्र भएको छ। यसरी चीनसँग व्यापार घाटा २७ अर्ब ९४ करोड १२ लाख पुगेको छ।
युएईसँगको व्यापारमा पनि ठूलो असन्तुलन देखिएको छ। नेपालले २० अर्ब ४० करोडको वस्तु आयात गर्दा निर्यात २० करोड २६ लाख मात्र हुँदा १८ अर्ब ३८ करोड घाटा भएको विभागले जनाएको छ।
थाइल्यान्ड, अर्जेन्टिना र अन्य मुलुकसँग पनि घाटा
भन्सार तथ्यांक अनुसार, थाइल्यान्डबाट ११ अर्ब २२ करोडको आयात भएकोमा निर्यात १५ करोड मात्र भएको छ, जसका कारण ११ अर्ब २० करोडभन्दा बढी घाटा भएको छ।
अर्जेन्टिनासँग ९ अर्ब १२ करोड ९७ लाख बराबरको आयात भए पनि निर्यात २४ लाख मात्र हुँदा करिब ९ अर्ब १२ करोड घाटा भएको छ।
अष्ट्रेलियासँग ६७ करोड २८ लाखको आयात र १६ करोड ३७ लाखको निर्यात हुँदा ५० करोडभन्दा बढी घाटा भएको छ भने, बंगलादेशसँग पनि ४६ करोड ७ लाख बराबर घाटा देखिएको छ।
बहराइनबाट १७ करोड ७७ लाखको वस्तु आयात भए पनि निर्यात शून्य रहेकाले सो मुलुकसँगको व्यापार पूर्णत: घाटामा गएको छ।
समग्र व्यापार घाटा बढ्दो
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख बराबरको वैदेशिक व्यापार भएको छ। यस अवधिमा १ खर्ब ४३ अर्ब ४ करोड बराबरको आयात र २३ अर्ब ९३ करोड २४ लाख बराबरको निर्यात भएको छ।
यसरी मुलुकले जम्मा १ खर्ब १९ अर्ब १० करोड बराबरको व्यापार घाटा बेहोरेको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा चालु वर्षको पहिलो महिनामा आयात ११.४२ प्रतिशतले र निर्यात ९५.७५ प्रतिशतले बढेको देखिन्छ।
यद्यपि, जर्मनी, अफगानिस्तान, संयुक्त राज्य अमेरिका, रुस, बेल्जियम, नर्वे लगायतका केही मुलुकसँग भने नेपालले नाफाको व्यापार गरेको विभागले जनाएको छ।