काठमाडौं, ५ भदौ
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले बैंकले कृषि क्षेत्रमा प्राथमिकता दिए पनि अर्थतन्त्रका अन्य क्षेत्रमा समेत लगानी विस्तार गरेको बताउनुभएको छ।
भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवसरमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले संयुक्त रूपमा आयोजना गरेको ‘कर्जा नीतिमा स्थिरता, अटोमोबाइल बजारको दीर्घकालीन विकासको आधार’ विषयक अन्तरक्रियामा बोल्दै सीईओ गुरुङले ऋण विविधीकरणलाई बैंकले महत्त्व दिएको उल्लेख गर्नुभयो।
अटोमोबाइल्स क्षेत्रमा पनि बैंकले कर्जा प्रवाह गर्दै आएको बताउँदै उहाँले अटो क्षेत्रमा प्रवाह भएको कर्जामा समस्या कम भएको बताउनुभयो ।
उहाँका अनुसार, अटोमोबाइल क्षेत्रमा प्रवाह भएको कर्जामा अन्य क्षेत्रको तुलनामा समस्या कम देखिएको छ। ‘‘अन्य क्षेत्रमा प्रवाह भएको कर्जामा खराब ऋण बढ्ने गरेको छ, तर अटोमोबाइल्स क्षेत्रमा त्यस्तो अवस्था न्यून छ,’’ उहाँले भन्नुभयो।
गुरुङले बैंकहरुले सवारी साधनका ब्रान्ड अनुसार मात्र नभई ग्राहकको गाडीप्रतिको सोचसमेत विचार गरी कर्जा प्रवाह गर्ने गरेको बताउनुभयो। ‘‘व्यावसायिक गाडीमा लगानी गर्दा बढी चुनौती हुन्छ, तर निजी गाडीमा कर्जा दिँदा प्रायः व्यक्तिको सम्पत्ति धितो राखिन्छ,’’ उहाँको भनाइ थियो।
यस्तै, उहाँले ‘लोन टु भ्यालु रेसियो’ (LTV) देशअनुसार फरक हुने र व्यावसायिक तथा निजी गाडीमा पनि सोको अनुपात भिन्न हुने जानकारी दिनुभयो।