काठमाडौं,३० साउन
सरकारी स्वामित्वमा रहेका तीन वाणिज्य बैंकले गत आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन्। वित्तीय विवरण संशोधनपछि प्रकाशित नतिजा अनुसार, कृषि विकास बैंक, नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंक—तीनै बैंकको नाफामा उल्लेखनीय वृद्धि भएको छ।
कृषि विकास बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४३.३८ प्रतिशतले बढेर २ अर्ब ८९ करोड रुपैयाँबाट ४ अर्ब १५ करोड रुपैयाँ नाघेको छ।
नेपाल बैंकको खुद नाफा ३२.६५ प्रतिशतले बढेर २ अर्ब ८४ करोड रुपैयाँबाट ३ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
राष्ट्रिय वाणिज्य बैंकले पनि अघिल्लो वर्षको २ अर्ब ५५ करोड रुपैयाँ नाफाबाट बढेर ३ अर्ब ८१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।
खुद ब्याज आम्दानीतर्फ राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंक दुवैले समान १० अर्ब ८ करोड रुपैयाँ आम्दानी गरेका छन्। यता, कृषि विकास बैंकको खुद ब्याज आम्दानी अघिल्लो वर्षको १० अर्ब ५५ करोडबाट घटेर ९ अर्ब ८२ करोड रुपैयाँमा पुगेको छ।
लाभांश क्षमतामा कृषि विकास बैंक अग्रणी
गत आर्थिक वर्षमा वितरणयोग्य मुनाफा २ अर्ब ५५ करोड २० लाख रुपैयाँ पुगेको कृषि विकास बैंकको लाभांश क्षमता १८.४२ प्रतिशत रहेको छ।
राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ३० करोड रुपैयाँ रहेको छ, जसको आधारमा करिब १.९४ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिन्छ।
तर, नेपाल बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक भएकाले लाभांश वितरण गर्न असमर्थ हुने भएको छ।