काठमाडौँ,२९ साउन
ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला बैंकका ग्राहकलाई आवश्यक पर्ने गैर(कोषमा आधारित बैंकिङ सुविधा उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता अनुसार सांग्रिला बैंकका ग्राहकलाई आवश्यक पर्ने लेटर अफ क्रेडिट, बैंक ग्यारेन्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ लगायतका गैर(कोषीय सुविधा ग्लोबल आइएमई बैंकमार्फत प्रदान गरिनेछ।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ २०२४ र २०२५ तथा युरोमनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधामा नेपालको उत्कृष्ट बैंकको उपाधि पाएको छ। बैंक मुलुकको सबै ७७ जिल्लामा शाखा विस्तार गर्न सफल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।
हाल बैंकको ३५२ शाखा, ३८४ एटिएम, १५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्र छन्। बैंकले देशभित्र मात्र नभई संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका देशहरूबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकले भने देशभर रहेका १०९ शाखा र ३० एटिएम मार्फत बैंकिङ सेवा दिँदै आएको छ।