अर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले अहिलेसम्मकै उत्कृष्ट वित्तीय प्रदर्शन गरेको छ। बैंकको वित्तीय विवरणअनुसार, यस अवधिमा बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा झन्डै ५० प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको यस अवधिको तुलनामा बैंकको खुद मुनाफा ४२ प्रतिशतले वृद्धि भएर ४ अर्ब १५ करोड ४४ लाख पुगेको छ। अघिल्लो वर्षको यस अवधिमा बैंकले २ अर्ब ८९ करोड ७४ लाख खुद मुनाफा आर्जन गरेको थियो। यसले बैंकको इतिहासमै अहिलेसम्मकै उच्चतम नाफा भएको संकेत गर्दछ।
त्यस्तै, बैंकको संचालन मुनाफा पनि अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्षको यस अवधिमा ९ अर्ब ७६ करोड संचालन मुनाफा रहेकोमा, यस वर्ष ११ अर्ब ८९ करोड पुगेको छ। बैंकको मुख्य आम्दानीको स्रोत मानिने खुद ब्याज आम्दानी पनि ९ अर्ब ८२ करोड पुगेको छ।
यस अवधिमा बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब २ करोड कर्जा परिचालन गरेको छ। यस अवधिमा बैंकको कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड पुगेको छ।
बैंकले स्ट्यानडर्ड चार्टर्ड बैंकलाई बेचेको ८ अर्बको कृषि कर्जा घटाएपछि पनि बैंकको लाभांश क्षमता अहिलेसम्मकै उच्चतम देखिएको छ। यस अवधिमा बैंकसँग लाभांश क्षमता १८.५३ प्रतिशत रहेको छ। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड रहेको छ।
बैंकले जोखिम न्यूनतम राख्ने रणनीतिअनुसार प्राथमिकता प्राप्त कर्जामा ध्यान केन्द्रित गर्दै लगानी पोर्टफोलियो विस्तार गरेको छ। यसले गर्दा गैर–सञ्चल कर्जा अनुपात (NPL) ३ दशमलब २६ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष बैंकको एनपीएल ३ दशमलब ९१ प्रतिशत थियो।
प्रमुख वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। प्रतिशेयर आम्दानी (EPS) १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा पुगेको छ। बैंकको ब्याजदर स्प्रेड ३.९६ प्रतिशतमा छ।
झन्डै ५० प्रतिशतले नाफा वृद्धि, घट्दो खराब कर्जा र घट्दो कर्जा दायित्व, सुदृढ पूँजी संरचना र सन्तुलित कर्जा रणनीतिले कृषि विकास बैंकलाई आगामी वर्षमा अझ मजबुत बनाउने संकेत देखिएको छ।