६ साउन,काठमाडौं
जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न जिल्लामा बहने साना तथा ठूला नदी–खोलाहरूमा आकस्मिक बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले आज जारी गरेको बुलेटिनमार्फत ५० जिल्लाभित्र पर्ने नदी–खोला तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्क रहन सुझाव दिएको छ। अत्यधिक वर्षाका कारण नदीहरूको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने जनाइएको छ।
कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने अन्य प्रदेशमा मौसम आंशिकदेखि मुख्यतः सफा रहेको छ। बागमती प्रदेशका केही स्थानमा र कोशी, गण्डकी तथा लुम्बिनी प्रदेशका केही भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल छ।
तर, आज दिनभरको मौसम विश्लेषणअनुसार ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटा, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, भोजपुर, खोटाङ, ओखलढुङ्गा, रसुवा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, दोलखा, कास्की, पर्वत, म्याग्दी, बागलुङ, लमजुङ, गुल्मी र वरपरका जिल्लामा बहने साना नदीहरूमा बाढीको मध्यमदेखि उच्च जोखिम रहेको अनुमान गरिएको छ।
त्यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, नुवाकोट, धादिङ, सिन्धुली, मकवानपुर, स्याङ्जा, गोरखा, रोल्पा, दाङ, प्युठान, पाल्पा, अर्घाखाँची, जाजरकोट, जुम्ला, कालिकोट, सुर्खेत, दैलेख, डोटी, अछाम, बैतडी, दार्चुला, डडेल्धुरा लगायतका जिल्लाहरूमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना रहँदै आएको छ, जहाँ आकस्मिक बाढीको मध्यम जोखिम रहेको पूर्वानुमान गरिएको छ।
सम्बन्धित निकायहरूले तटीय क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।