काठमाडौं : देशका विभिन्न क्षेत्रमा पछिल्लो १२ घण्टामा भारीदेखि अति भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा १५१ मिलीमिटर वर्षा भएको छ।
विभागका अनुसार लुम्लेसँगै सुनसरीमा १३० मिलीमिटर, धनकुटा र इलामको माइपोखरीमा समान १२१ मिलीमिटर वर्षा भएको छ। यी चार स्थानमा "अतिभारी वर्षा" को श्रेणीमा राखिएको छ भने अन्य धेरै जिल्लामा पनि भारी वर्षा मापन गरिएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले पूर्वी नेपालमा अत्यधिक वर्षा भइसकेको र अहिले वर्षा गराउने प्रणाली क्रमशः मध्य र पश्चिमतिर सर्दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार यो अवस्था भोलिसम्म रहनसक्ने र त्यसपछि क्रमशः सुधार हुँदै जाने अनुमान गरिएको छ।
मौसमविद् अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। यसका कारण नेपालमा वर्षा गराउने प्रणाली विकसित भएको हो।
विभागले सिन्धुपाल्चोक, पर्वत, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर, तनहुँ, खोटाङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, म्याग्दी, झापा लगायतका जिल्लाहरूमा पछिल्लो २४ घण्टामा भारी वर्षा भएको जनाएको छ। केही अन्य पहाडी जिल्लाहरूमा पनि उल्लेखनीय वर्षा मापन गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र पर्ने सेउती, बूढी र खेसलिया खोलाका आसपास तथा तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आइतबार बिहान सूचना जारी गर्दै वर्षामापन केन्द्रहरूबाट प्राप्त तथ्याङ्कमा तीव्र वर्षा र निरन्तर मौसम प्रणाली सक्रिय रहेकाले बाढीको सम्भावना बढेकाले सतर्कता अपनाउन आग्रह गरेको हो।