काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले बोनस खोज्ने आधार नभएको बताएकी छन् ।
बोनस वितरणको माग गर्दै आएका कर्मचारी युनियनहरुलाई जवाफ दिँदै मन्त्री भुसालले सरकारले यसैवर्ष १५ प्रतिशत तलब बढाएको स्मरण गराउँदै अझै बोनस माग्न नहुने बताएकी हुन् ।
आज बुधबार भएको प्राधिकरणको वार्षिकउत्सव कार्यक्रममा प्राधिकरण सञ्चालक समिति अध्यक्ष समेत रहेकी उनले कोरोना महामारिपछिको अवस्थामा अर्थतन्त्र तङ्ग्रिन लाग्दा पनि बोनसको कुरा उठ्नु सही नभएको बताइन् ।
उनले भनिन्, ‘मलाई अच्चम लागछ, अहिले बोनसको कुरा उठ्दैछ, यो देशमा ३ करोड जनाता छैनन्? अरबका खाडीमा जाने ४० लाख युवा बारे एक पटक सोच्नुस्,’ उनले प्राधिरकणका कर्मचारीलाई प्रश्न गरिन्, ‘सोचनीय कुरा हैन? यहाँ अवसर नपाएर ५० डिग्री तापक्रममा काम गर्ने शव बनेर देशमा फर्किरहेका नागरिकलाई सम्झिनुस् ।’
उनले बोनस माग्न छाडेर सेवा सुधार्न लाग्न र सबै घर परिवारसम्म बिजुली पुर्याउने कार्यमा लाग्न निर्देशन दिइन् । ‘कर्मचारी मात्रै नबनौं, दशेभक्त नागरिक बनौं’ उनले भनिन् ।
उनले यो वर्ष प्राधिकरणका सबै कर्मचारीलाई १५ हजार वार्षिक उत्सव भत्ता दिने निर्णय भएको बताइन् । गत वर्ष यस्तो भत्ता १० हजार रुपैयाँ दिइएको थियो ।