काठमाडौं । मनाङको नारफु क्षेत्रमा रहेको ७,१२६ मिटर अग्लो हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने १२ जना अझै बेपत्ता छन्। हिमपहिरोमा परेका थप १० जनालाई उद्धार गरिएको छ।
आइतबार बिहान हिमलुङ हिमालको आधार शिविरमा हिमपहिरो खस्दा शरद ऋतुको आरोहण सिजनका लागि तयारी गरिरहेका नेपाली गाइड तथा आरोहण सहयोगीहरू प्रभावित भएका थिए। हिमपहिरोले आधार शिविरमा रहेका टेन्ट तथा संरचनाहरू पुरेको थियो।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (NNMGA) का अनुसार आइतबार दुई जनाको शव फेला परेको थियो भने सोमबार थप दुई जनाको शव उद्धार गरिएको हो। मृत्यु हुनेमा छेबी भोटे, पासाङ भोटे, वीरेन्द्र गुरुङ र घनश्याम राई रहेका छन्।
हिमपहिरोपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीका लागि अनुभवी पर्वतारोही तथा उद्धार टोली हेलिकोप्टरमार्फत घटनास्थल पुगेको थियो। मौसममा केही सुधार आएपछि उद्धार टोलीले बाक्लो हिउँ हटाउँदै खोजी कार्य अघि बढाएको थियो।
तर आधार शिविरमा अत्यधिक हिउँ जमेको, चिसो तथा भू–भाग अस्थिर रहेकाले उद्धार कार्य निकै कठिन बनेको छ। केही स्थानमा हिउँको तह निकै गहिरो भएकाले खोजी तथा शव निकाल्ने काममा समेत चुनौती देखिएको उद्धार टोलीले जनाएको छ।
हिमलुङ हिमालमा भएको घटनासँगै मनाङ क्षेत्रमा पछिल्लो समय देखिएको भारी वर्षा, हिमपात, बाढी र पहिरोको जोखिमले पर्वतीय क्षेत्रमा उद्धार तथा आवतजावत थप चुनौतीपूर्ण बनेको छ।
उद्धार टोलीले मौसम र भौगोलिक अवस्था अनुकूल भएसम्म बेपत्ता व्यक्तिहरूको खोजी जारी राख्ने जनाएको छ। घटनापछि मृतकका परिवार तथा आफन्तहरू शोकमा छन्।