काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र युएसएआइडीको सहयोगमा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमद्वारा आयोजित पत्रकारहरुका लागि जोखिम सञ्चार तथा स्वास्थ्य रिपोर्टिङसम्बन्धी तालिमको अन्तिम श्रृंखला आज धुलिखेलमा सम्पन्न भएको छ ।

तालिम कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनीलराज शर्मा र वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा.भक्तबहादुर केसी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. समीरकुमार अधिकारी, परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लाल, पोषण शाखा प्रमुख लिलाबिक्रम थापा, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा.खगेश्वर गेलाल लगायतले स्वास्थ्य क्षेत्रका विभिन्न मुद्दाहरुबारे प्रस्तुती दिएका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल र सुआहारा कार्यक्रमका उपप्रमुख क्रिश्टिन गार्नले पनि पत्रकारहरुलाई सम्बोधन गर्दै जोखिम सञ्चार र स्वास्थ्य क्षेत्रका मुद्दाहरु उठाउन र समाजमा सकारात्मक परिवर्तन ल्याउन पत्रकारहरुको अहम् भूमिका हुने कुरामा जोड दिए ।
तालिममा संघीय राजधानीमा रही स्वास्थ्य बिट र स्वास्थ्यसम्बन्धी मिडियामा काम गर्ने २३ जना सञ्चारकर्मीहरु सहभागी रहेका थिए । योसँगै युनिसेफ, एशियाली बिकास बैंक र नेपाल पत्रकार महासँघसितको साझेदारीमा आयोजित जोखिम सञ्चार तथा स्वास्थ्य रिपोर्टिङसम्बन्धी आठवटा श्रृंखलाको अन्तिम तालिम सम्पन्न भएको हो ।

जिल्लामा रहेर स्वास्थ्यसम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुका लागि यसअघि नै ७ वटा प्रदेशस्तरीय तालिम सम्पन्न भइसकेका छन् । यी तालिमहरुबाट कुल २४० जना सञ्चारकर्मी लाभान्वित भएका छन् ।
यी सबै तालिममा वरिष्ठ पत्रकार मोहन मैनालीले प्रमुख प्रशिक्षक तथा सुआहारा कार्यक्रमका वरिष्ठ सञ्चार व्यवस्थापक इन्द्रध्वज क्षेत्रीले सहायक प्रशिक्षकको रुपमा सभागीहरुलाई प्रशिक्षण दिएका थिए ।